काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय अन्यौलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय विपरित अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्यिसभामा निरन्तरता दिन चाहेपछि सचिवालयको निर्णय अन्योलमा परेको हो ।
नेकपाका अर्का अध्यक्ष प्रचण्डको जोडबलमा बुधबार बसेको नेकपाको सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । तर वामदेवलाई राष्ट्रियसभा सदस्य बनाएर संसदमा प्रवेश गराउँदा आफ्नो गुट कमजोर बन्ने भएपछि ओली निर्णयबाट पछि हट्ने संकेत देखिएको नेकपाका नेताहरु बताउँछन ।
केही सचिवालयका नेताहरुलाई फोन गरेर प्रधानमन्त्री ओलीेले निर्णयबाट पछि हट्ने संकेत गर्नु भएको छ, नेकपाका एक बरिष्ठ नेताले भने, अब प्रधानमन्त्री नै आफुले गरेको काममा अडिग नभएपछि सचिवालयको निर्णय अन्योलमा पर्ने देखिएको छ । ती नेताका अनुसार ओलीको चाहना युवराज खतिवडालाई निरन्तरता दिने छ । त्यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वीकार गरिसकेकी छन ।
तर प्रचण्ड पक्ष बरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाललाई समेत विश्वासमा लिएर सचिवालयबाट वामदेवको नाम सिफारिस गर्न सफल भएपछि ओली कर्नरमा परेको महसुस गर्दैछन । जसको नतिजा फरक हुन सक्ने ओली पक्षकै नेताहरुको बुझाई छ ।
संकटमा ओलीको गुट !
सचिवालय बैठकमा अहिले ओलीको गुटमा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल मात्रै छन । बाँकी रहेका सात जना नेताहरु प्रचण्ड गुटमा छन । सचिवालयमा निर्णायक ठानिएका झलनाथ खनाल, माधव नेपाल, गृहमन्त्री रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ प्रकाश र बामदेव गौतम प्रचण्ड पक्षतिर छन ।
त्यसमाथि वामदेवलाई प्रचण्डकै प्रस्ताव र जोडबलमा राष्ट्रियसभामा लैजाने भएपछि ओलीको गुट झन संकटमा परेको छ । यसअघि प्रचण्डले नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा सदस्य बनाइसकेका छन । हारेका नेताहरुलाई समेत संसद प्रवेश गराएपछि प्रचण्ड नेकपामा बलियो हुदै गएका छन भने ओली झन झन कमजोर बन्दै गएका छन ।
सचिवालय बाहिर अहिले ओलीतिर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का मुख्यमन्त्री इश्वर पोखरेल मात्रै बढी निकट छन । घुस प्रकरणमा मुछिएर सञ्चारमन्त्री गोकुल बाँस्कोटा झन सरकारबाटै बाहिरिएपछि ओली सरकारको प्रतिरक्षामा पनि कमजोर बनेका छन ।
यही बेला थप केही महत्वपूर्ण निर्णय गराएर ओलीलाई झनै कमजोर बनाउने दाउमा प्रचण्ड देखिन्छन । जसको असर प्रधानमन्त्री ओलीको मन्त्रीपरिषदमै परेको छ ।
बैठकमै ओलीका कमजोरी छताछुल्ल !
बुधबारको सचिवालय बैठकमा प्रचण्ड र बामदेवसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल पनि पार्टीको निर्णय कार्यान्वयनमा जानुपर्नेमा दृढ देखिए । संविधान संशोधनको प्रस्ताव असफल भएपछि केही आक्रोशित देखिएका प्रचण्डलाई लक्षित गर्दै ओलीले आफूमाथि आक्रमण भइरहेको स्पष्टोक्ति दिए ।
सञ्चारमन्त्री बाँस्कोटाको घुस प्रकरणमा ओलीको नाम मुछिनु, संसदमा विपक्षी पार्टीले राजीनामा माग्नु र हालै जन्मघर तेह्रथुममा नेपालको झण्डा अंकित बर्थडे केक काट्दा चरम विवाद र आलोचनामा परेका ओलीले आफूमाथि निरन्तर आक्रमण भइरहेको बताए । आक्रमण बाहिरबाट नभई पार्टीभित्रैबाट भएको पनि ओलीको दाबी थियो ।
जबकी ओली यसअघि बैठकमा त्यसरी प्रस्तुत हुदैन्थे । तर यसपटक ओली कमजोर बनेर बैठकमा प्रस्तुत भएका प्रचण्ड पक्षका एक सचिवालय सदस्यले बताए । यसअघि निरन्तर चेपुवामा परेका प्रचण्ड कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै सक्रिय र शक्तिशाली बन्दै गएपछि ओली संकटमा फसेका छन ।
प्रधानमन्त्रीको राजीनामा माग चुलिएका बेला दुई तिहाई सरकार बनाउने सत्तारुढ पार्टीमा कमजोर बनेपछि ओली पनि त्यसको जवाफ फर्काउने रणनीतिमा लाग्ने तयारीमा छन । तर शारीरिक कारण पनि कमजोर बनेका ओलीलाई यसमा गतिलो साथ दिने नेताहरुको कमी छ ।
यद्यपी प्रधानमन्त्री ओली केही समय संयमित भएर अघि बढ्ने र अहिले भइरहेको प्रचण्ड पक्षको आक्रमणको सामना गर्ने निष्कर्षमा पुगेका छन ।