मेरो सफलताको प्रेरणा विरोधी हुन् । मेरै कक्षाका बस्नेत थरका मित्रले म ‘साहुको छोराले त काठमाडौ गएर पढ्न सकेको छैन, तँ काठमाडौ ताक्ने ?’ भनेपछि समुद्रमा आत्महत्या गरेजस्तो काठमाडौ आँएर पढ्न बाध्य भएँ । शहर कहिल्यै आफ्नो जस्तो नहुँदो रहेछ ।
एसएलसी सकेर यता आइयो । दिउँसो काम, राति रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा पढियो । राति कोठा फर्कँदा साथीहरूको भाडा नहुँदा एक अर्काले सहायता गरिन्थ्यो । यहाँबाट आमसञ्चारमा स्नातक तह सकाएँ । सन् २००६ मा त्रिविबाट स्नातकोत्तर सकेँ ।
केही समय सक्रिय पत्रकारिता पनि गर्दै रहेँ । त्यसपछि मलाई एकाएक कुन भूतले समात्यो खै ? न दाम पाइने, न कसैको ध्यान जाने कलासँस्कृति क्षेत्रको स्वअध्ययनतिर लागेछु । अब ढल्किँदो उमेरले अरूतिर लाग्ने ठाउँ पनि छैन ।
एक जना गैरदलित मित्र छन् उनले संग्रहालय खोलेर हाम्रोसँग कारोबार गरिरहेका छन् । एकदिन कुराकानीमा सँस्कृति र बाजा सम्बन्धि केही पृष्ठ लेख्ने कुरा चलाए । यसबारेमा जानकारी भएकोले मलाई लेख्न दिनुस भनेँ । तर उनले सिँधै तपाईं प्राज्ञिक मान्छे होइन भनेर अपमान गरे । मन साह्रै दुख्यो ।
त्यही दिनबाट मलाई अर्को पुस्तक लेख्ने भूतले पनि सतायो । केही वर्ष निरन्तर विभिन्न पुस्तक, सन्दर्भ सामग्री संकलनमै समय खर्चिए । यति संकलन गरेछु कि अहिले दुई दराज सामग्री त्यसैबेला संकलन गरेको हुँ ।
मलाई पत्रकारिता, लेखनमा जोड्ने मित्रद्वय चितवनका कमल विश्वकर्मा र नवलपरासीका कृष्ण बिक हुन् । निबृत सचिब डा. मानबहादुर बिकेको जनउत्थान मासिकमा २ हजारमा भोलुन्टरको रूपमा कमलले जोडिदिनु भएको थियोे । काम गर्दै जाँदा मासिक पत्रीकाको प्रबन्ध सम्पादकको जिम्मेवारी पनि सम्हालेँ । केही वर्ष रातको १÷२ बजेसम्म पनि अध्ययन गरियो ।
आजको मेरो लेखन जग यही थियो । संग्रहालयको मित्रको शब्द वाणले घोचेर पुस्तक लेखन पनि कोशिस गरियो । दुई वटा पुस्तक सिकाइ चरणमै पूरा गरियो । विस्तृत परिमार्जन र अनसन्धानमा आधारित दुईवटा पुस्तक दुई चरणको कोरोना महामारी समयमा सम्पन्न गरियो । संभवत यही असोज महिनाभित्र प्रकाशित भइ आउँदैछन ।
लेखन लगायत विविध विषयमा नजिकबाट सहयोग गर्नुहुने हिरा विश्वकर्मा, पदम सुन्दास, कमला हेमचुरी, चक्रमान विश्वकर्मा , दानबहादुर विश्वकर्मा, डा. गोबिन्द नेपाली लगायत थुप्रै अग्रजहरू सदा स्मरणीय ।
पीडा, अपमान र कमजोरीलाई शक्ति र साधनामा बदल्दा सफलता पाइने रहेछ । मेरो जीवन भोगाइ र सिकाइ हुन् । तसर्थ बदला होइन, आफैँलाई समयानुकूल बदलौ । सफलता हाम्रै हातमा छ । अरू जिवन भोगाइका पोका बिस्तारै खोल्दै जाउँला सबैको जय होस ।