खलंगा - जुम्लाको पातारासी गाउँपालिकाको पटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जुम्लाको दुर्गम भेग रहेको पटमारा स्वास्थ्य चौकीलाई कारितास जर्मनी, कारितास नेपाल र पीस नेपाल जुम्लाको सहयोगमा पटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
कोभिड प्रतिकार्यका लागी आवश्यक पर्ने सामग्री जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा र पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहरामार्फत हस्तान्तरण गरिएको हो । वितरण गरिएका सामग्रीमा फोल्डिङ वेड २ वटा, फेससिट २५० वटा, सर्जिकल मास्क ६ हजार, एननाइटीफाइप मास्क १ सय पिस, गोलोप्स १ सय पिस, फुलपिपिई ५० पिस, स्यानिटाइजर ५ सय मिलिमिटरको ७५ वटा, एन्टीजेन किट १५०, ह्रयावी डिउटी गोलोप्स १ सय पिस स्वास्थ्य सामग्री उपलव्ध गरिएको हो ।
यस्तै भिटिएम किट १ सय, अक्सिमिटर १० वटालगायत २ लाख ६६ हजार ११५ रुपियाँ बराबरको १३ प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए । उनले भने, ‘प्रदान गरिएको सामग्री सहि सदुपयोग होस भन्ने अपेक्षा गरिएको छ । विपद्मा सबैले हालेमालो गरेर अगाडी बढेको खण्डमा सहज हुन्छ । पेस नेपालले यसअघि हिमा, सिजा गाउपालिका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत विभिन्न ठाउमा सहयोग गर्दै आएको छ ।
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख बुढाले पछिल्लो समय कोरोना संक्रमण नभए जस्तो नागरिक विना मास्क खुल्लम खुल्ला हिडिरहेको बताए । तर दिनप्रतिदिन संक्रमणका कारण मान्छेले ज्यान गुमाउँदै गएकाले सचेत हुन आवश्यक रहेको उनले बताए ।
पीस नेपालका परियोजना प्रमुख हेमराज भट्टले हरेक स्थानीयतहमा स्थापना भएका कोेभिड अस्पताललाई लक्षित गर्दै स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए । ‘कोभिड नियमित प्रतिकार्यका लागि सामान दिइएको हो । स्वास्थ्य सामाग्रीको अभावले बिरामीले भोग्नु पर्ने समस्याबाट बच्नको लागि यो सामाग्रीले निकै राहत प्रदान गर्ने विश्वास गरिएको छ,’ उनले भने, ‘पीस नेपालले धमाधम स्वास्थ्य सामाग्री उपलब्ध हुन थालेपछि गाउँपालिकामा स्थापना भएका कोभिड अस्पतालमा स्वास्थ्य सेवा प्रवाह गर्न सहज बनेको छ ।’