‘कामीलाई पनि बोल्न आउँदो रहिछ’ आज फेरि यही वाक्यको सम्झना आयो । हुन त अरुबेला पनि नआउने भन्ने हैन । तर मैले त्यति वास्ता नगरी आफ्नो कार्यमा निरन्तर लागि रहे । र, अहिले पनि लागिरहेकै छु । यहि कुरालाई सम्झेर विचलित भने बिल्कुल भएकी छैन । अझ आफुलाई मजबुत बनाउनतर्फ लागि परिरहेकी छु ।
तीन वर्ष अगाडि रेडियो सिम्रिकले आर जे हन्ट २०१८ कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा मैले पनि सहभागिता जनाएको थिए । फाईनल कार्यक्रम गोर्खा डिपार्टमेन्ट स्टोरको सभा हलमा भएको थियो । फाइनलको दिन सबै जना कार्यक्रममा नै व्यस्त रहयौं ।
कार्यक्रममा विभिन्न ६ विधामा टाईटल अवार्ड भएकोले प्र्रतिष्पर्धी भावना तीव्र थियो हामी सबैमा । फाइनलको दिन भएर प्रतिष्पर्धीसँगै अन्य महानुभावहरुको उपस्थिति पनि बाक्लै थियो । प्रशिक्षक शिरोमणि दवाडी एक्सन फाउन्डेसन काठमाडौंबाट आउनु भएको थियो । उहाँले नै हामीलाई १५ दिनसम्म प्रशिक्षण दिनु भएको थियो ।
फाइनलको दिनपनी उहाँले भने अनुसार कार्यक्रम भइरहेको थियो । कार्यक्रमको पहिलो चरण अन्तरगत परिचयात्मक कार्यक्रम भयो । मैले पनि आफ्नो परिचय राखे । ‘नाम एलिना दियाली । घर ताप्लेजुङ । हाल पथरीमै बसेर एक सहकारीमा लेखापालको रुपमा कार्यरत छु । पथरी बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययन गर्छु । मेरो बुबा गाउँकै एक सरकारी विद्यालयमा अध्यापन गराउनु हुन्छ । हाम्रो मुख्य पेशा कृषि हो । धन्यवाद ।’
समयसीमालाई मध्यनजर गर्दै यतिमै आफ्नो परिचय सकाँए । क्रमशः सबैको परिचय सकिएसँगै कार्यक्रम अघि बढ्यो । दोस्रो चरणमा हामीले रेडियोसँग सम्बन्धित तयार गरेको सामाग्री प्रस्तुत गर्नु पर्ने थियो । आफूलाई समाचारमा रुचि भएकोले मैले सोही विषय प्रस्तुत गरे । सबैले आ–आफ्नो प्रस्तुति दिए । १५ दिनको प्रशिक्षण साथै सहभागीमध्ये पनि टप टेनको प्रस्तुति लगभग उस्तै उस्तै थियो ।
कार्यक्रममा सहभागीले घरमा बसेर रेडियो सुने जस्तै भयो भन्ने सुन्दा क्या खुशीले मन नै फुरुङ्ग भएको थियो । कार्यक्रम आखिरी चरणमा पुग्यो । अब सबैको चासो नतिजातर्फ रह्यो । प्रतिस्पर्धामा रहनेको मन त यसै पनि ढुकढुक हुने नै भयो । यति हुँदाहुँदै पनि नतिजा आयो । मैले ‘बेस्ट न्युज रिडर’ पुरस्कार पाए । अन्य पाँच जना साथीले अरु विधामा अवार्ड पाउनु भयो । कार्यक्रमको प्रमुख अतिथि एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की हुनुहुन्थ्यो । उहाँकै हात बाट अवार्ड ग्रहण गरे । कार्यक्रम सकिएपछि साँझ परेकोले आफ्नो डेरा तर्फ लाग्ने निर्णय गरे ।
कार्यक्रममा आफ्ना बुबा आमा ल्याउनु भनिएको थियो। तर मेरो बुबा आमा पहाड भएकोले म डेरा बसेकै घरको भाउजु र बहिनी लिएर गएको थिए । उहाँहरुसँगै कार्यक्रमस्थलबाट बाहिर लाग्दै गर्दा तीन चार जना अधबैंसे महिलाहरूको समुहले बोलायो । मैले अघि बढदै गरेका पाइला रोके । तीमध्ये एक जना महिलाले भन्नुभयो ‘नानी कति राम्रो बोल्नु भएको है ? हामीलाई त रेडियो सुने जस्तै भयो ।’
मेरो मिठो बोलीको प्रशंसामा उहाँ अझै शब्द खर्चिदै हुनुहुन्थ्यो । अर्को एक जना महिलाले थप्नु भयो, ‘नानी यो दियाली भन्या चाही के थरी हो ?’ दियाली भनेको चाँही विश्वकर्मा हो मैले जवाफ दिए । फेरि थरी सोध्ने महिलाले भन्नुभयो, ‘अहो ! कामीलाई पनि बोल्न आउँदो रैछ ।’
अन्यले पनि यस्तै विभेदकारी शब्द थप्दै ममाथि जातीय विभेदका शब्द वर्षाए । ‘यो बहिनी कामी त होइन होला । कामी पनि त्यो पनि पहाडे यतिको राम्रो बोल्या सुन्या थिएन । यो बहिनीले झुठो बोल्या होला ।’
मलाई लाग्यो सायद विश्वकर्माले बोल्न सक्छ्न । बोलेका छन भन्ने कुराको ज्ञान उहाँहरुमा थिएन । यति हुँदासम्म अतिथिसहित उपस्थित धेरै आफ्नो बाटो लागि सक्नु भएको थियो भने कोहि कार्यक्रमस्थलबाट बाहिरीदै हुनुहुन्थ्यो । म पनि आफ्ना रोकिएका पाइला अघि सार्न तर्फ लागे । भाउजुले भन्दै हुनुहुन्थ्यो, ‘मान्छेलाई कामीको चाँही बोली नै हुन्न, बोल्न नै जान्दैन भन्ने भ्रम अझै रहेछ है एलिना ?’
मेरो मुटुमा विभेदको ढुंगा प्रहार भएका बेला भाउजुले थप अगाडि सुनाउनुभयो, ‘मान्छेको बाहिरी पहिरन जति सुन्दर र ब्रान्डेड लुगा लगाएको भए पनि सोचाईको स्तर चाँही फाटो लुगा जत्तिकै पनि रहेनछ हैँ ।’
उहाँले केही सान्तवना दिने शब्द सुनाउनुभयो । मेरो मुटुमा विभेदको छुरा चलिसकेको थियो । त्यसपछि मुटुबाट रगत होइन, आँखाबाट आँशु आउन थाल्यो । भलै ती आँशुले भुई छुन पाएनन् । अरुलाई देखाउन पनि सकिन । छुरा चलेको मुटुमा आक्रोशको आगो दन्कियो । रगतको भेल खेल्ने मुटुमा आगोको गोल बन्यो । तर मैले विष्फोट हुन दिइन् । चुपचाप मुटुमै विभेदको ढुंगा राखेर आगोको गोलमा सेकाए । एकदिन त्यही आगोको शक्ति लिएर उनीहरुको सामू मेरो क्षमता ‘गोल्ड क्यारेट’ बनाउनु थियो ।
यति कुरा सम्झिएर म कोठातिर लागे । भाउजुले सान्तवनाका शब्द थप्दै जानुभयो । मैले सुनहोला । सम्झिन चाहिन । मुटुमा दन्केको आगोले पानी होइन, राप दिएको थियो । मैले सुनेका शब्द भाउजुले भोगिसक्नु भएको थियो ।
उहाँलाई यी कुरा अचेल पनि अनौठो लाग्दैनन् । उहाँ स्वयंम अन्तरजातीय विवाह गरेको नारी हुनुहुन्थ्यो । त्यतिबेला विश्वकर्मा दाईसँग विवाह गरेर उहाँले जातीय प्रथाबाट विद्रोह गरिसक्नु भएको थियो । परिणामतः हामीसामू छर्लंगै छ ।
अहिलेसम्म राम्रोसँग बोलचाल पनि माइतीपक्षसँग छैन । सायद यो कुराले अझ उहाँलाई घोच्यो । यति अनुमान लगाउन बाहेक केही प्रतिक्रिया दिने शब्द मसँग थिएन ।
त्यतिबेला मलाई प्रश्न गर्ने महिलाहरुसँग धेरै बोल्न उचित लागेन । उहाँहरु कता लाग्नु भयो सम्म याद गरिन । तर उहाँहरुका कुराले भने आज ४ वर्ष बित्दा सम्म मलाई झस्काउन छाडेको छैन । विश्वकर्माले चाँही बोल्न नै जान्दैन भन्ने उहाँहरुको सोचाईको स्तरदेखि घृणा भन्दा धेरै दया लागेर आउँछ । जुन मेरा लागि यो घटना पहिलो भने थिएन ।
वाल्यकालमा सङ्गै हुर्किएका अझ भनौं एकै उमेरका साथीसँग खेल्न नपाएको कुरा पनि फेरि ताजा हुन्छ । गाउँ भन्ने बित्तिकै त्यति घरहरु बाक्लै हुन्न । खेल्ने साथी भेला गर्न अर्को अर्को गाउँ जानू पर्ने हुन्छ । घरमा जिविकोपार्जनका लागि कुखुरा हाँस पाल्ने गथ्र्यौ ।
अहिले पनि आफ्नो निजि प्रयोजनका लागि पाल्छौ । ती हाँस कुखुरा वनढाडे अर्थात जंगली बिरालोले लग्यो भने राति घरमा हङगामा हुन्थ्यो । त्यही भएर खेल्न जान अर्को गाउँ साथी भेला पार्न पाईन्न थियो । वनढाडे रुङ्दै बस्यो । नजिककै एक ब्राह्मणको घर थियो । उहाँहरुको छोरी र म एकै साल । महिना मात्रै फरकमा जन्मिएका आमाबुवाले भन्थे ।
हामी खुब मिल्ने गथ्र्यौ । दुईजना खेल्न पाउँदा खुब खुशी लाग्थ्यो । तर उनको हजुरबुबा पण्डित । हजुरआमालाई सबैले तिनी आमा भनेर बोलाउने गर्थे । धर्म कर्ममा खुब विश्वास गर्थे हजुरबुबा आमा दुवै । बिहान बिहान नै दर्जी, विशकर्माको अनुहार देखे अगती परिन्छ भन्ने सोचाई उहाँहरुको थियो।
कथित तल्लो जातका मानिस घर आए भने उनीहरु उठ्ने बित्तिकै गोबर ल्याएर लोटाउने गर्थिन हजुरआमाले । तर यी सब किन गर्नु भएको हो भन्ने कुरा मैले बुझैकै थिइन । हामी एक दिन हाम्रोमा अर्को दिन उनकोमा खेल्ने सल्लाह गथ्र्यौ । तर हजुर आमा भएको दिन उनको घरमा खेल्न मुश्किल हुन्थ्यो ।
बारीमा खेल्दा पनि ‘कामीको सङ्गत छ, कहाँ गतिलो हुन्छ र ? स्तर र जात मिल्नेसँग संगत गर्नू’ भन्दै उनकी हजुरआमा कड्किन्थिन । म चाँही आज पिटाई खाइएन भनेर खुशी हुँदै घर फर्किन्थे । यति गाली खाएर पनि हामी खेल्न छोडेनौ । उनी उनको घरमा कोहि नभएको मौका छोपेर हाम्रो घरमा आउँथिन । म पनि उनको घरमा कोहि नभएको चाल बुझेर खेल्न जान्थे ।
हामीले एकैछिन पनि तनावरहित तवरले खेल्न पाएनौ । भरे उनको घरकाले देखि हाले भने के भन्लान भनेर मनमा खेलिरहन्थ्यो । लुकेर भागेर छ्लेर भएपनी हामी पनि खेल्न कहाँ कम थियौं र ? एकछिन एकछिन भएपनि खेली रहन्थ्यौ । कति पटक उनले हाम्रो घरमा आएकाले पिटाई खाइन । कति पटक मैले सुन्दै गालि खाइन् ।
एक दिन घरमा कोहि नभएको मौका पारेर उनी हाम्रो घरमा आएकी थिइन् । खेल्दै गर्दा उनको बुबा बजारबाट हाम्रै घरको बाटो आउनुभयो। भाग्न खोज्दा खोज्दै देखि जानू भयो ।
‘त कहाँ हिडेकी ?’ उहाँले भन्नुभयो ।
उनी केही बोल्न सकिनन् । बोलून् पनि कसरी मुख मुखै लाग्छेस भनेर पिटाई खाने डर मनभरी । केही नबोली बस्दा पनि पिट्न त किन छोडथे र ?
‘कपटी गर्छेस कामीका घरमा आएर के खाइस त ? अब घर बाहिरै कामीका घर जानू हुन्न । उनिहरुले छोएको खान हुन्न भनेर कतिपटक भनौं तंलाई ? तेरो दिमागमा गोबर छ....?' आदी आदी ।
बरबराउँदै उनको कपालमा समाएर जगल्टाउन थाल्नु भयो । उनी रुन थालिन । मैले केही गर्न सकिन । रुञ्चे अनुहार लाउँदै डराउँदै भने अङ्कल भर्खर आएकी नपिट्नुस न है । मेरा कुरालाई वेवास्ता गर्दै आफ्नी छोरीलाई पशुले झै घसार्दै घरतिर लानुभयो । म पनि रुँदै बसे ।
त्यसपछि उनको घरमा के के भयो थाहा छैन । तर फेरि हाम्रो घरमा आएमा घर भित्र प्रवेश निषेधको आदेश जारी भएछ । त्यो पनि पछि थाहा भयो । त्यति बेलै त थाहा होस पनि कसरी, उनको मेरो आउजाउ बन्द भयो ।
भेटघाट बन्द भयो। देखादेख बन्द भयो । खेल्न बन्द भयो । आज तिम्रोमा भोलि मेरोमा आउ ल भन्ने सबै सल्लाह पनि बन्द भए । तर उ प्रतिको माया । फेरि उसै गरि खेल्ने इच्छा भने बन्द भएनन् ।
भेट्न् नपाएर रोयौँ । करायौं । तर कसैले सुनेन । कसैले देखेन । कसैले सुनेन सायद समाज आँखा नदेख्ने थियो । जुन आजसम्म विकसित भनिएको तराई अझ भनौ प्रदेश एकको राजधानी भएको जिल्लामा सम्म त्यही अन्धोपनमा समाज ढुनमुनिरहेको छ । यदि यहि दृष्टिविहीनपन नहुदो हो त मेरा यी कानहरुले कामीले पनि बोल्न जान्दोरहेछ भन्ने तितो वाक्य सुन्न पर्ने थिएन होला।
एउटा बाल्यकालको साथीसँग निस्फिक्री खेल्न पाउँथे होला । मैले पनि अरुले जसरी नै । अनेक गाली र पिटाईले मेरि साथी र म खेल्न पाउन छोडे पनि । भेट्न् पाउँन छोडे पनि । मेरो मनमा यस्ता प्रश्न उब्जिरहे ।
म उसको घरमा पस्दा के हुने ? उनीहरुले हामिले छोएको खादा के हुने हो र ? के ब्राह्मण र विश्वकर्माको छोराछोरी सँगै खेल्न हुन्न र ? आदी आदी ।
यस्ता प्रश्न वर्षौदेखि उब्जिरहे । वर्षादको विदा सकिएसँगै स्कुल लाग्न सुरु भयो । उसको र मेरो भेट स्कुलमा हुन थाल्यो अब । घरबाट एकै बेन्चमा नबस्न भनिएपनी उनी मसँग नै बस्थिन । उनको मेरो सल्लाह भयो । तिम्रो घरमा कोहि नभएको बेला मलाई बोलाउ म आउँछु । तिमी मेरो घरमा पस्दा केही भएन । अब म तिम्रो घरमा पस्दा के हुदोरहेछ हेरौं ल भन्ने कुरा भयो ।
सोही अनुसार डराउदै गए भित्र हेरे । हाम्रो जस्तै चुलो । खाना खान बिछ्याइएको गुन्द्री बाहेक खास केही देखिन हतारमा । उनकी हजुरआमा आईपुगिहाल्नु होला भन्ने त्रास थियो मनमा । तर धन्न आइपुग्नु भएन ।
अब के हुन्छ होला ? साथी र म दुवैमा कौतुलहता थियो मनभरी । हाम्रो बाल मनोविज्ञानले जे अह्रायो । त्यही गर्यौ । तर भरे घरका सबै मर्लान कि भन्ने तनाव मनमा थियो । भोलि पल्ट भयो । तर कसैलाई केही भएन । आखिर केही नहुदो रहेछ भन्नेमा ढुक्क भयौं । बाटोमा उनीहरुको घर थियो । घर छेउमा धारो थियो । मेरो साथिलाई हाम्रो घरमा नखान नजान भनिएको थियो । कामीले छोएको खान हुन्न भनिएको थियो उनको घरमा ।
एकदिन स्कुल जाँदै गर्दा मनमा विचार उब्जियो । हामीले छोएको खाँदा चाँही के हुदोरहेछ उहाँहरुलाई ? सबैतिर हेरेर कोहि नभाको मौका छोपेर पानी थापेको गाग्री छोएर स्लुकतर्फ लागे । भोलिपल्ट उसैगरी उनका घरका कोहि मरेनन् ।
अब हामी दुवै जनालाई थाहा भयो कि विश्वकर्मा घरभित्र पस्दा उसले छोएको खाँदा केही हुन्न रहेछ । तर भन्यो भने गाउँबाट नै लखेट्न सक्थे। हामी चुपचाप रह्यौ । तर समय बित्दै गयो । हामी बोल्नुपर्छ । हाम्रो मित्रता तोडिन्न हुन्न हाम्रो जातियताका कारणले । यही सोचको विकास भयो । र, हाम्रो मित्रता आजसम्म पनि जीवन्त छ । फेरि आज उनलाई सम्झिन पुगे । जोसँग मेरो एउटा जिन्दगीको अविस्मरणीय पलहरु थिए । अझै छन् । र भोलिका दिनमा पनि रहिरनेछन् ।
न कि उनको परिवारले भने झैँ कामीको संगतले केही कोही बिग्रदैन । न छोएको खाना खाँदैमा कोही मर्दैन । यही सम्झेर उसलाई बेला बेला फोन गर्छु । फोनमा कुरा गर्दा पाखण्डी समाजको तितो विगततिर फर्किन्छु । तर अलिकति पनि वर्तमानसँग अपसोच छैन । बरु सम्झिन्छु, वर्तमान सोच बदल्नुपर्ने जिम्मेवारी बोकिरहेकी छु ।
(दियाली मोरङको रेडियो सिम्रिकमा कार्यरत छिन ।)