सिमकोट । विश्वको चर्चित रोलेक्स अवार्ड विजेता रिन्जीन फुन्जोक लामालाई हुम्लामा सम्मान गरिएको छ । अवार्ड विजेता भएपछि पहिलो पटक जिल्लामा आई पुगेका उनलाई लामा साँस्कृति मंञ्चले सार्वजनिक रुपमा सम्मान गरेको हो ।
लामा साँस्कृति मञ्चका सचिव छवाङ लामाले हुम्लामा हुर्के बढेर विद्यालय तहको पढाई पनि जिल्लामै गरेर वन्यजन्ुत तथा वातावरणका क्षेत्रमा देशकै लागि नाम कमाउने काम गरे वापत उनलाई सम्मान गरिएको बताए ।
उनले आगामी यात्राका अझै अघि बढ्न थप प्रेरणा मिलोस् भन्नका लागि पनि यो कार्यक्रम मंञ्चले आयोजना गरेको बताए । कर्णाली प्रदेश सरकारका पुर्वमन्त्री दल बहादुर रावलले सम्मान गरेका थिए । उनले देशकै नाम राख्न सफल बौद्धिक गहनाको संरक्षण आबश्यक रहेको जानकारी दिए । मञ्चद्धारा सम्मानीत भएपछि लामाले काम गर्न थप हौसला प्रदान भएका बताए ।
उनले हुम्ला लगाएत नेपालका हिमाली जिल्लाहरुमा दुःखका साथ काम गरे बापत आफुले रोलेक्स अवार्ड बिजेता भएको र जन्मभुमि आउदा पाएको सम्मानले अगाडी बढ्न झनै हौसला बढाएको बताए ।
गत असार ९ गते दुर्गमको समुदायमा आधारित वातावरण तथा वन्यजन्तु संरक्षण अभियानमा लागेका हुम्लाका लामाले ‘रोलेक्स कन्जर्वेशन अवार्ड २०२१’ प्राप्त गरेका हुन । हुम्लाको लिमी, चुवाखोला र मनाङ, मुस्ताङ क्षेत्रमा पाईने जंङ्गली जनावरको बारेमा अध्ययन तथा संरक्षणमा योगदान पुर्याए बापत उनले सो अन्तराष्ट्रिय अवार्ड जितेका थिए ।
उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जंगली चौँरी, घोडा लगायत जनावर र वातावरण संरक्षणमा समुदायमा आधारित भएर योगदान गरेकाले उहाँलाई अवार्ड प्रदान गरिएको थियो ।
अवार्डको पुरस्कार दुई लाख स्वीसफ्याङ्क रहेकोमा त्यसको नेपाली दर दुई करोड ५५ लाख नेपाली रुपियाँ उनले जितेका थिए । रिन्जिन विगत सात वर्ष (सन् २०१४) देखि उच्च हिमाली क्षेत्रका वन्यजन्तुको अध्ययन र संरक्षणमा संलग्न हुँदै आएका हुन । २९ वर्षका लामा अवार्ड विजेतामा सबै भन्दा कान्छा हुन् । उनले उक्त अवार्ड एशियामा दोस्रो व्यक्तिका रुपमा यो अवार्ड प्राप्त गरेका हुन ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण’ मा स्नातकोत्तर गरेका लामाले गतवर्ष विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को ‘नेपाल कन्जर्वेशन अवार्ड’ पनि प्राप्त गर्नु भएको थियो । संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्व भरका व्यक्तिबाट छनौट गरि रोलेक्सले विगत चार दशकदेखि अवार्ड प्रदान गर्दै आएको थियो । रोलेक्स अवार्ड बिजेता लामा सहित मंञ्चबाट चिकीत्सक बनेका जिल्ला अस्पतालका टासी आङ्जु लामा र खानेपानी, उर्जा तथा जलश्रोत विकास कार्यालयका प्रमुख नवाङ लाईलाई पनि मञ्चले सम्मान गरेको थियो ।