लोकेन्द्र विश्वकर्मा
जाजरकोट । बारेकोट गाउँपालिका ६ मा रहेको श्री सीता माध्यामिक विद्यालयका विद्यार्थीले छात्रबृत्ति नपाएको पाइएको छ । शैक्षिक सत्र २०७५ र २०७६ को पठनपाठन सकिएपनि विद्यार्थीले छात्रबृत्ति नपाएको पाइएको हो ।
सरकारले गरीब, दलित र विपन्नका विद्यार्थीलाई भनेर बर्षेनी छात्रबृत्ति वितरण गर्दै आएको छ । तर बारेकोटको सीता माविका विद्यार्थीले दुई बर्ष यता छात्रबृत्ति नपाएको स्थानीय र स्वयंम विद्यार्थीको गुनासो छ ।
गएको बर्ष वितरण नगरिएको छात्रबृत्ति यस बर्ष पनि वितरण गरिएन । यसबारेमा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले वास्तविकता बताएका छैनन् भने खासै चाँसो पनि दिएका छैनन् ।
प्रधानाध्यापक र व्यवस्थापन समितिबीच मिलेमतो !
अहिलेसम्म छात्रबृत्ति वितरण नहुनुमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतो हुन सक्ने आशंका गरिएको छ । यद्यपी यसबारेमा उनीहरुले पनि आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।
सीता माविका प्रधानाध्यापक तिलकबहादुर खत्री विगतमा छात्रबृत्ति वितरण नभएकोबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन । उनी प्रअ भएको केही महिना मात्रै बितेको छ । यस बर्षको छात्रबृत्ति वितरण नहुँदै लकडाउन भएपछि यसबारेमा चाँसो पनि कम छ ।
यद्यपी विगतका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबीच मिलेमतो रहेको हुन सक्ने स्थानीयको आशंका छ । यसबारेमा जिज्ञासा राख्दा सीता माविका वर्तमान प्रअ खत्री भन्छन, ‘विगतमा के भयो ? त्यो मलाई एकिन थाहा छैन । तर विद्यालयका हरेक निर्णय प्रअ र अध्यक्षले गर्छन । उहाँहरुबीचमा सल्लाह भएरै वितरण नभएको हो कि ?’
सीताका माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष देबबहादुर कार्की र पूर्वप्रअ भुमिलाल शाही हुन । उनीहरुले विद्यालय सञ्चालनमा पनि मनोमानी गरेको स्थानीयको भनाई छ । यसबारेमा कार्की र शाहीले आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।
विद्यार्थीले छात्रबृत्ति नपाएको गुनासो बढेपछि वास्तविक छानबिनका लागि जनप्रतिनिधिमाथि पनि दबाब बढेको छ । तर अहिले लकडाउन भएकाले लकडाउन खुलेपछि मात्रै छलफल गर्न सकिने वडाध्यक्ष तिले महतारा बताउँछन ।