डोल्पाको प्रमुख तथा पर्यटकीय स्थानीय तह हो, ठूलीभेरी नगरपालिका । डोल्पा सदरमुकाम, जुफाल एयरपोर्ट, यार्चाले परिचित माझफाल र फोक्सुण्डो तालको गेट वे गरी साविकका चार गाविस मिलेर ठूलीभेरी नगरपालिका बन्न पुगेको हो ।
दुनै र जुफाल बजार र अन्य दुई दर्गनभन्दा बढी गाउँहरुको एकिकृत रुप नै ठूलीभेरी हो । नगरको नाम यही क्षेत्र हुँदै बग्ने ठुलीभेरी नदीको नाममा राखिएको छ । तर यो नगरपालिका नदीजस्तै सलल बग्न सकेको छैन । बरु मानव निर्मित तालझैं जमेको छ । यस्तो ताल जहाँ हिलो कालो लेदोले भरिएको तालमा हुँदै नभएको माछा मार्न तछाड्मछाड् गरिरहेका छन् । यस नगरपालिकाका जनप्रतिनिधिहरु र पार्टी प्रतिनिधिहरु यो फोहोरी खेलमा अभ्यस्त छन् ।
त यो डोल्पाकै नमुना नगरपालिका बन्नुपर्ने हो । मापदण्ड नै नपुर्याइ बनाइएको यो नगरपालिका पाँच वर्ष बित्नै लाग्दा समेत नगरपालिका बन्नका लागि हुनैपर्ने सामान्य मापदण्ड समेत पुरा गर्न सकेको छैन । जुफाल र दुनैमा पहिल्यै जोडिएको सडक नगरका अधिकांश वडामा पुग्न सकेको छैन ।
सदरमुकाम दुनै र नगरकेन्द्र जुफालमा समेत विद्युत, खानेपानी, ढल निकासको उचित व्यवस्था छैन । नगरमा समावेश हुनु पहिले नै स्थानिय बासीको पहलका कारणले माझफालमा भने लघु जलविद्युतको व्यवस्था भने छ । कुन वडामा वा गाउँमा नगरपालिका बन्नका लागि चाहिने आधारभुत मापदण्ड के पुग्यो ? के पुगेन ? मापदण्डको बुद्धाहरु हेरेर आफैले मुल्याङ्कन गर्न सक्नुहुनेछ ।
हिमाली नगरपालिकाका लागि मापदण्डहरुः
१. जनसंख्या दश हजारभन्दा बढी हुनुपर्ने ।
२. पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तकि आय कम्तिमा एक करोड हुनुपर्ने ।
३. सडक, सडक पेटी, विद्युत, खानेपानी, सञ्चार र त्यस्तै अन्य न्युनतम शहरी सुविधा भएको ।
४. फोहरमैलाको व्यवस्थापन तथा ल्याण्डफिल्ड साइटको उचित प्रबन्ध भएको ।
५. प्रत्येक वडामा तोकिए बमोजिमको खुल्ला क्षेत्र तथा पार्क उद्यान भएको ।
६. कम्तिमा पच्चिस शैयाको अस्पताल सुविधा भएको ।
७, यात्रु विश्रामस्थल तथा सार्वजनिक शौचालय सहितको बसपार्क भएको ।
८. खानेपानी तथा सरसफाईको व्यवस्था भएको ।
९. बैंक तथा वित्तिय संस्थाको सेवा भएको ।
१०. सामुदायिक भवन तथा सभाहल भएको ।
११. बजार क्षेत्र भएको ।
१२. पशुबधशाला भएको ।
१३. शवदाहस्थल भएको ।
१४. खेलमैदान भएको ।
१५. नगर गुरु योजना तयार भएको ।
१६. तोकिए बमोजिको अन्य मापदण्ड भएको ।
माथि उल्लेखित मापदण्डहरु जे जति छन् प्रायः पहिले नै तय थिए । यसपटक निर्वाचित जनप्रतिनिधिको नेतृत्वका के कति थप विकास निर्माण, सुशासन तथा संस्थागत विकासका काम भए र कति नगरबासीले नगरपालिकाको सदस्य भएको महसुस गरे, त्यो मुल्यांकनको विषय हो ।
नयाँ संरचनाको सुरुवाती समय भएकाले, कस्तो नगरपालिका बन्ने भन्ने जग हाल्ने जिम्म यसपाली जो जस्लाई जनताले जिम्मा दिएका थिए, उनैको थियो । नगरपालिका बन्नका लागि साधनस्रोत, बजेट, अधिकार सबै दिइएकै थियो । यति त गर्न सकेनन् भने बाकीँ आशा गर्नु व्यर्थ हुन्छ । यिनैबाट थप पाँच वर्ष अगाडि कति तल पुग्ला त्यो हेर्न बाध्य जरुरी छैन । किनकि जनताले सही नेतृत्व चुन्ने मौका नजिकै छ ।
(बोहरा ठुलिभेरी नगरपालिका ५ माझफालका युवा नेता हुन् । कोग्ले पुस्तकका लेखक उनी युवा पुस्ताको राजनीतिक नेतृत्व गर्छन् ।)