काठमाडौँ : भदौ ५ गते सुर्खेतको नेवारेमा चौरमै १२ वर्षीयामाथि सामूहिक बलात्कार घटना सार्वजनिक भयो । घटना अघिल्लो दिन साँझ घटेको थियो । प्रहरी तत्कालै घटनास्थल पुगेर बालिकाको उद्धार गरेर बलात्कार सलंग्नलाई पक्राउ गरेर मुद्दा चलायो । यसले सुर्खेतमा बालिका असुरक्षित रहेको तथ्य देखाउँछ ।
भदौ ८ गते कालिकोटको दाहमा १६ वर्षीया युवती निरु विश्वकर्माको विभत्स हत्या गरेको अवस्थामा शव भेटियो । उनी चार दिनदेखि बेपत्ता थिइन् । तर शव भेटिएपछि घटनाको सनसनी फैलियो । तर पनि उनको हत्या कसरी भयो ? को सलंग्न थियो ? त्यसरी त्यति दिनसम्म उनको खोजी र सत्यतथ्य बाहिर ल्याउन प्रहरी किन अग्रसर भएन ? प्रश्न कायमै छ ।
गएको बैशाख २ गते कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमै एक पुरुषको शव भेटियो । त्यो घटनाको पनि वास्तविकता बाहिर आएन । प्रहरीले ल्याउन चाहेन र अपराधी भेट्न सकेन । अहिलेसम्म पनि रहस्यमै छ ।
भदौ ११ गते दिनदहाडै तरुण दल सुर्खेतका सदस्य तथा तरुण दल सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ का उपाध्यक्ष सन्तोष गिरीमाथि खुडा प्रहार भयो । धमाला चोकमा सामान्य विवादमा उनीमाथि खुडा प्रहार भएको थियो । उनले प्रहरीमा उजुरी दर्ता गराएपनि दोषीलाई कारबाही हुन नसकेको गुनासो गरिरहेका छन् ।
भदौ २३ गते सुर्खेतको पञ्चपुरीस्थित बाबियाचौरमा १६ वर्षीया किशोरीमाथि ९ जनाले बलात्कार गरेको तथ्य सार्वजनिक भयो । किशोरी बलात्कारपछि गर्भवती भएपछि घटना बाहिर आएको थियो । प्रहरीले आरोपित ९ जनालाई पक्राउ गरेर मुद्दा चलाएको जनाएको छ । उनीमाथि एक दिन तीन जनाले सामूहिक बलात्कार गरेपछि घटना बाहिर आएको थियो ।
भदौ २५ गते सुर्खेतको वीरेन्द्रनगरमै एक युवतीमाथि सडकबाटै लखेटी लखेटी बलात्कार भयो । यसबारे प्रहरीले अहिलेसम्म पनि थप विवरण सार्वजनिक गरेको छैन ।
भदौ २९ गते बाल दिवसकै दिन दैलेखको गुराँस गाउँपालिका ८ को मालिका माध्यामिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको विभत्स हत्या भयो । उनको घाँटी रेटेर विद्यालयकै प्रांगणमा हत्या भएपछि धेरै जना शिक्षक असुरक्षित रहेको तथ्य देखाउँछ ।
भदौ ६ गते कर्णालीका कृषिमन्त्री कुर्मराज शाहीले एक युवतीलाई बलात्कार गरेको समाचार बाहिरियो । भलै भिडियोमा आपसी समझदारीमै यौन सम्पर्क भएको देखिन्छ । यसपछि भने कर्णालीमा श्रृंखलावद्ध रुपमा घटना सार्वजनिक भए ।
माथि उल्लेखित घटना केही प्रतिनिधि र समाचारमा आएका तथ्य मात्रै हुन् । भदौ महिनामा मात्रै राजधानी सुर्खेतमा घटेका घटनाले कर्णाली अपराधको क्रीडास्थल बनेको देखिन्छ । त्यसमाथि कालिकोटमा युवतीको बेपत्तापछि शव भेटिनु र दैलेखमा शिक्षककै विभत्स हत्या हुनुले पनि कर्णाली विस्तारै गुण्डागर्दी, बलात्कार, हत्या, हिंसा र अपराधको क्रीडास्थल बनेको तथ्यले पुष्टि गर्छ ।
कर्णाली प्रदेश सरकार अस्तव्यस्त रहेका बेला प्रहरी प्रशासन पनि आफ्नै गतिमा काम गरिरहेका बेला माथि उल्लेखित घटनाले कर्णाली प्रदेश असुरक्षित रहेको देखाउँछ । यसै पनि कर्णालीमा अपराध भइरहने हुन्छन् । त्यसमाथि पछिल्ला घटनाक्रमले प्रहरीको शान्ति सुरक्षा धेरै कमजोर रहेको देखाउँछ । कतिपय घटनाले भने कर्णालीको प्रहरी प्रशासन, सरकार, र नियम कानुनलाई नै चुनौति दिने गरी पनि क्रुर हत्या भएको देखिन्छ ।
यस्तो बेला प्रहरी कसरी परिचालित भइरहेको छ ? कसरी काम गरिरहेको छ ? प्रहरीको मनोबल किन खस्किरहेको छ ? किन कर्णाली र राजधानी सुर्खेतमा दैनिक अपराधका घटना सार्वजनिक भइरहेका छन् ? यो चाँसो र चिन्ताको विषय हो ।
अहिलेका कर्णाली प्रदेशका डीआइजी गणेशबहादुर ऐर र सुर्खेतका एसपी पदमबहादुर बिष्टलाई आम नागरिकले प्रश्न पनि गरिरहेका छन् ।
सुर्खेतमा फेरि गुण्डागर्दी सल्बलाउने संकेत
२०६८ सालसम्म सुर्खेतमा गुण्डागर्दीको राज थियो । दैनिक खुकुरी चल्थ्यो । युवाहरुको हात काटिन्थे । कतिको हत्या हुन्थ्यो । दिनदहाडै बजारमा हिड्ने मानिसहरु पनि डराउँथे । सुर्खेतमा गुण्डागर्दी यति धेरै बढेको थियो कि जसलाई शब्दमा चित्रण गर्न गाहो छ ।
तर २०६७ सालमा सुर्खेतमा तत्कालिन एसपी गोविन्द परियारले प्रवेश गरेपछि गुण्डागर्दी धेरै हदसम्म घट्यो । कर्णालीमा तत्कालिन डिआइजी राजेन्द्र भण्डारी पुगेपछि त झन् अपराध स्वात्तै घट्यो नै । सम्भवतः प्रहरी सर्कुलर र सुरक्षा बलियो पारेर पनि होला । सायद प्रहरीको मनोबल पनि बलियो भएका कारण अहिलेको जस्तो ठूलो घटना त्यसपछि घटेका थिएनन् ।
झण्डै १० वर्षपछि सुर्खेतमा फेरि गुण्डागर्दी मौलाएका छ । गुण्डाकै स्टाइलमा खुडा तथा खुकुरी प्रहार भइरहेको छ । बालिका तथा युवतीमाथि बलात्कार भइरहेको छ । तर प्रहरी प्रशासनले खासै नयाँ र कडा कदम चाल्न सकेको छैन ।
सम्भवतः कर्णाली प्रदेश सरकारको कमजोर कार्यसम्पादका कारण पनि यी घटनाहरु बढेका अनुमान गर्न सकिन्छ ।
कर्णालीमा अस्थिर राजनीतिले अपराध बढ्दैछ ?
यतिबेला कर्णाली प्रदेश सरकार परिवर्तनको हल्ला छ । माओवादी नेतृत्वको कर्णाली प्रदेश कांग्रेसमा काँधमा पुग्ने सहमति छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही तीन वर्षे लामो सत्ताको नेतृत्वबाट बाहिरिदैछन् । उनी बाहिरिदै गर्दा कर्णालीमा अपराध बढ्दो छ ।
उनको सरकारमा अहिले आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपाली छन् । गृह प्रशासन उनले चलाउने गर्छिन् । तर उनको कमजोर निर्देशनको कारणले हो वा प्रहरी प्रशासनलाई चलाउन नसकेर अपराधको ग्राफ बढिरहेको छ ।
महिला नै मन्त्रीको कुर्सीमा भएका बेला बालिका खुल्लाचौरमा बलात्कृत हुनु, लखेटी लखेटी युवती बलात्कृत हुनु, बसपार्कमा युवती सामूहिक बलात्कार पर्नु लगायतका घटनाले मन्त्री नेपालीमाथि प्रश्न उठ्छ । त्यति मात्रै होइन, घटनामा पनि प्रहरी प्रशासन अग्रसर भएर पीडितलाई न्याय दिलाउने र पीडकलाई कारबाही गर्न तम्सिएको देखिदैन ।
सुर्खेत प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी अधिकारीलाई पनि यसले चुनौति दिइरहेको छ । राजधानी नै असुरक्षित रहेका बेला कर्णालीका अरु ठाउँको सुरक्षा र अपराध नियन्त्रण गर्नु प्रहरीकै लागि चुनौतिको विषय हो ।
कर्णाली प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआइजी गणेशबहादुर ऐरसँग यसबारे पटक पटक सम्पर्क प्रयास गरेपनि सफल हुन सकेन । तर पछिल्ला घटनाले उनको जिम्मेवारी र उत्तरदात्यिवमा धेरै प्रश्न जन्माएको छ ।