सुदूरपश्चिम : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देशभर ‘तपाईको मास्क खोइ ?’ अभियान सञ्चालन भइरहेको छ । नेपाल प्रहरीको नेतृत्वमा सञ्चालित उक्त अभियान मास्क नलगाई हिँड्ने नागरिकका लागि हो ।
उनीहरुलाई अनिवार्यरुपमा मास्क प्रयोगको बानी पार्न भने प्रहरीलाई मुस्किल भइरहेको छ । कोरोना रोकथामबारे जनचेतना जगाउन गत साउन २४ गतेदेखि नेपाल मास्क अभियान सुरु गरिएको हो । सो क्रममा कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ कार्यक्रमअन्तर्गत तपाईँको मास्क खोई ? अभियान सञ्चालन भइरहेको छ । त्रिनगर सीमा नाकाका प्रहरी सहायक निरीक्षक रमेश शाही मास्क प्रयोग नगरी हिँड्ने नागरिकलाई मास्क प्रयोग गराउनै मुस्किल भइरहेको बताए । “नाकमुख छोपिने गरी लगाउनुपर्ने मास्क धेरैले चिउँडोमा लगाउने गर्छन्, धेरैजसोले गोजीमा राखेर हिँड्ने गरेका छन्।
पटक पटक सम्झाइबुझाई गर्दा पनि बहाना बनाउने गरेका पाइयो, मास्क प्रयोग गराउनै मुस्किल भइरहेको छ ।” अभियान प्रभावकारी बनाउन सर्वसाधारणलाई प्रहरीले निःशुल्क मास्क उपलब्ध गराउँदै आएको छ । मास्क प्रयोग नगर्दा कोरोना सङ्क्रमण फैलिने खतरा कायमै छ । सहरी क्षेत्रमा मास्क प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएपनि ग्रामीण भेगमा भने अधिकांशले यसको प्रयोग गर्दैनन् । मास्क खोई ? अभियान सुरु गरिएपछि पहिलेको तुलनामा मास्क प्रयोग गर्ने बढेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार विस्तारै मास्क प्रयोग गर्नेको सङ्ख्या बढिरहेको छ । “मास्क लगाउनु पर्छ भन्ने चेतना बढ्दै गएको छ । प्रहरीले सार्वजनिक सवारीसाधन, सार्वजनिकस्थल, सीमालगायत क्षेत्रमा अभियानलाई प्राथमिकता दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्वराज अधिकारी सबैले खोप लगाउन नपाएको अवस्थामा मास्क र स्यानिटाइजर प्रयोग, हात धुने र भौतिक दूरी कायम गर्नु आवश्यक भएको बताउनुहुन्छ । श्वास फेर्न गाह्रो हुने भन्दै अधिकांशले मास्क प्रयोग गर्न रुचाउने गरेका छैनन् ।
धनगढी बजारमा भेटिनुभएका रमेश थापा भने भीडभाड हुने ठाउँमा मात्र मास्क लगाउँछु, अरुबेला खासै लगाउने गरेको छैन ।” तपाईको मास्क खोई ? अभियानअन्तर्गत प्रहरीले मङ्गलबारसम्म कैलालीमा २५ हजारभन्दा बढीले निःशुल्क मास्क वितरण गरिसकेको छ ।
मास्क प्रयोग नगरी हिँड्ने र सम्झाइबुझाई गर्दा पनि अटेरी गर्नेलाई प्रहरीले जरिवाना गर्दैआएको छ । मङ्गलबारसम्म एक हजार चार सयभन्दा बढीलाई रु १०० का दरले जरिवाना तिर्न लगाएको छ । सुदूरपश्चिम प्रदेशमा गत वैशाख–जेठको तुलनामा हाल सङ्क्रमण दर घट्दै गएको छ । रासस