काठमाडौ । नेपालमा प्रयोगशाला धेरै रहेपनि सरकारले परीक्षण सुस्त गरेको पाइएको छ । लकडाउनको झण्डै दुई महिना पुग्नै लाग्दा कोरोना परीक्षण निकै सुस्त गतिमा भइरहेको तथ्यांकले देखाउँछ । कोरोना भाइरसको पिसिआर परीक्षण गर्ने मात्रै १६ वटा प्रयोगशाला छन्। यी प्रयोगशालाबाट दैनिक ३ हजार व्यक्तिको परीक्षण गर्न सकिन्छ।
टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र दैनिक ८ सय नमूनाको परीक्षण गर्न सक्छ। जनकपुरबाहेक १४ वटै प्रयोगशालाको पनि दैनिक सय वटा परीक्षण गर्नसक्ने क्षमता छ। तर अहिले देशभरबाट दैनिक ३ सय जनाको मात्र परीक्षण भइरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चार दिनमा दैनिक ३ देखि ४ सय जनाको परीक्षण भएको छ।
किट अभावले कम परीक्षण !
प्रयोगशालाहरूले नमूना संकलन नै कम भएकाले परीक्षण पनि कम भएको जनाएका छन्। परीक्षण कम हुनुको अर्को कारण किट अभाव हो। सबै प्रयोगशालामा पर्याप्त किट उपलब्ध छैन।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिटिएम नहुँदा सोमबार चारजनाको नमूना लिन नसकिएको अस्पतालले जनाएको छ । सरकारले अहिले स्वाब झिक्ने स्टिक अभाव भएको भन्दै प्रयोगशालाहरूलाई घाँटी वा नाक कुनै एउटाको मात्र स्वाब लिन दबाब दिइरहेको छ।
बाहिर रहेका प्रयोगशालाले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई किट माग गरेपनि प्रयोगशालाले केन्द्रमै किट अभाव रहेको बताउँदै आएको छ। सरकारले पछिल्लो समय तिब्बत सरकारले दिएको किट नै प्रयोगशालाहरूलाई वितरण गरिरहेको छ। थप सामाग्री ल्याउनलाई सरकारले नेपाली सेनालाई जिम्मा दिएपनि उक्त सामग्री अहिलेसम्म आउन सकेको छैन।
किट अभावकै कारण जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको आरटी पिसिआर मेसिन झन्डै एक हप्तापछि मात्र सञ्चालनमा आयो। हिजोबाट सञ्चालनमा आएको प्रयोगशालामा २ सय वटा नमूनाको परीक्षण गर्ने किट छ। सरकारसँग थप किट माग गरिएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक देशभर रहेका सबै प्रयोगशालामा २ सय वटाको मात्र परीक्षण गर्न सकिने किट छ। त्यसलाई नै जुगाड गरेर प्रयोगशालाहरूले प्रयोग गर्दै आएका छन्।
लकडाउन लम्ब्याउने तर परीक्षण सुस्त !
विज्ञहरूले समेत सरकारले परीक्षणको दायरालाई व्यापक बनाउनुपर्ने जोड दिँदै आएका छन्। लकडाउन लम्ब्याउने तर परीक्षण सुस्त हुने हो भने लकडाउनको कुनै अर्थ नहुने उनीहरुको तर्क छ।
अहिलेसम्म झण्डै ६० हजारमा परीक्षण गरिएपनि ८२ जनामा मात्रै कोरोना परीक्षण भएको पाइएको छ । त्यसमध्ये १६ जना उपचारपछि घर फर्किएका छन । आइतबार नेपालगञ्जमा एकैदिन १५ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार थप ७ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि उदयपुरमा एकैदिन १३ जनासम्मलाई कोरोना पुष्टि भएको थियो । यसले परीक्षणको दायरा बढाएमा संक्रमितको संख्या धेरै रहेको देखाउँछ । विपक्षी दल नेपाली कांग्रेस, राप्रपा लगायतले पनि परीक्षणको दायरा बढाउन माग गरेका छन । तर सरकारले भने परीक्षणलाई अझै तिब्रता दिन सकेको छैन ।
सेतोपाटीको सहयोगमा