फाइल फोटो
खलंगा : जुम्ला मालपोत कार्यालयमा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । दैनिक ४० देखि ५० जना सेवाग्राहीको भीड लाग्ने गरेको छ । तर, दिनमा मुस्किलले ५ जनाले मात्र सेवा पाउने गरेका छन् । मालपोत सम्बन्धीका कामहरु गर्न निकै सास्ती खेप्नु परेको सेवाग्राही बताउँछन् ।
सरकारले २०७६ कार्तिक १७ गते मालपोत कार्यालय जुम्लालाई अनलाइन सेवामा ल्याएपछि यस्तो समस्या हुने गरेको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्र रोकायाले बताए ।
नेपाल सरकार मालपोत विभागको लक्ष्य अनुसार अनलाइन प्रणालीबाट गएको वर्षबाट काम गर्न थालेपछि सेवा दिन ढिलासुस्ती हुने गरेको छ । उनले भने, ‘विभागले मालपोतका सबै कामकाज अनलाइन प्रणालीबाट सुचारु गरे पनि दक्ष जनशिक्तको अभाव छ। अहिले कम्प्यूटर अपरटेरको अभाव भएका कारण काममा ढिलाइ भइरहेको छ । ’
अर्कातिर कम्प्यूटर अपरटेरले गर्ने सबै काम अन्य कर्मचारीले गरिरहेका छन् । यसले गर्दा काममा ढिला भइरहेको रोकायाले बताए । जमिन सम्बन्धीको सबै काम हुने मालपोत कार्यालय भएकाले कम्तिमा ६ वटा कम्प्यूटर अपरटेरले र आवश्यक व्यवस्था गर्नुपर्ने प्रमुख रोकाया जानकारी दिए ।
उनले भने, ‘दैनिक जग्गा सम्बन्धी कारोबार गर्नेको कार्यालयमा भीड लाग्ने गरेको छ । कार्यसम्पादन गर्ने कम्प्यूटर अपरटेर करारमा एक जना मात्रै हुनुहुन्छ’ ।
भीड धेरै हुने काम कम हुने गुनासो आएपछि बुधबार मात्रै कर्णाली सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कार्यलय प्रमुखलाई सेवाग्राहीका कामहरु छिटोछरितो गर्न सुझाव दिएका छन् । अन्य व्यवस्था सरकारले गर्ने समेत बताएका छन् ।