प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको आठराई गाउँपालिकामा आफ्नो ६९ औँ जन्मदिन मनाए । काठमाडौँबाट हेलिकोप्टरमा लिइएको नेपालको नक्साअंकित केक काटेर प्रधानमन्त्री ओलीले ६९ औँ जन्मदिन भव्यसँग मनाए ।
तर केक काटेर जन्मदिन मनाएका ओली केहीबेरमै भाइरल भए । सामाजिक सञ्जालमा चर्कोसँग उडाइए । आफ्नो देशको सीमा मिचिएका बेला देशको नक्साअंकित केक काटेर खाएको भन्दै चर्काे आलोचना खेपे । आलोचना र विवादले झण्डै तीन चार महिनादेखि तयारी थालेर जन्मघरमा केक काटेका प्रधानमन्त्रीको गाउँ नै ओझेलमा प¥यो ।
ओलीको जन्मदिनमा आठराई गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो । गाउँभरीबाट विद्यार्थीलाई ट्याक्टरमा हालेर ओलीको घर पु¥याइयो । जुन झन विवादमा तानियो । यो घटनाक्रमले देखाउँछ, प्रधानमन्त्री जन्माउने गाउँ भएपनि चेतनाको स्तर अझै माथि उठ्न सकेको छैन । आठराई गाउँबाट उदायका प्रधानमन्त्री ओली धेरै समय सत्ता र शक्तिमा पुगे । तर त्यो गाउँले अझै उचित विकास र समृद्धि पाएन ।
प्रधानमन्त्री जन्माउने आठराई जस्ता नेपालमा धेरै गाउँ छन । जो अहिले पनि ओझेलमा परेका छन । गाउँका धेरै मानिस शहर पसेर ठूल्ठूला मान्छे बनेका छन । शहरबाट विदेश पुगेका छन । संसारभर नाम कमाएका छन । तर पनि गाउँ ओझेलमा छन । गरीबी, विभेद, भेदभाव र अशिक्षाको चपेटामा छन ।
आँखाका डाक्टर सन्दुक रुइत, सामाजिक अभियान्ता अनुराधा कोइराला, वैज्ञानिक महावीर पुन, क्रिकेटर सन्दीप लामिछानेलाई आज संसारले चिन्छ । तर उनीहरु पनि गाउँमा जन्मिएका हुन । उनीहरुकै नामले आज गाउँ चिनिन्छ । तर त्यो गाउँको श्रीबृद्धि हुन सकेको छैन ।
आखिर किन ? कारण एउटै छ । गाउँका बारेमा सोचिएन । गाउँको मानसिकता फेरिएन । गाउँका मान्छेहरुको प्रवृत्ति फेरिएन । जति फेरियो । त्यो पर्याप्त भएन । सबै कुरा फेरिनलाई पर्याप्त प्रयास नै भएन । प्रयासका लागि निरन्तर प्रश्न गर्ने र झक्झकाउने निकाय भएन ।
आज पनि गाउँमा प्रतिभा छन । तर ती उजागर हुन सकेका छैनन् । त्यसैले देश र संसारका लागि प्रतिभा जन्माउने गाउँघरका बारेमा धेरै लेख्न बाँकी छ । धेरै बोल्न बाँकी छ । त्यसबारेमा अझै धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ ।
भनिन्छ, सिंगो नेपाल एउटा गाउँ हो । यति मात्रै होइन, आजको इन्टरनेट दुनियाले सिंगो संसार एउटा गाउँ बनिसकेको छ । क्षणभरमै यो दूनियाका हर खबर सबैमाझमा पुग्न सक्छन । तर अझै पनि गाँउका वास्तविक कथा आउन सकेका छैनन ।
अभाव, समस्या र गरीबीमाथि ध्यान र गहिरो चिन्तन हुन छैन । अब कम्तीमा यी विषयमाथि घोत्लिनुपर्छ । संघीयताको प्रवेशसँगै गाउँघरमा विकासको लहर चलेको छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार लगायतका पूर्वाधारमाथि स्थानीय जनप्रतिनिधिको पहल बढेको छ । यो सकारात्मक पक्ष हो ।
तर यही सकारात्मक पक्षभित्र भ्रष्टाचार, अनियमितता, नाफाखोर र आफन्तबाद पनि मौलाउदै गएको छ । राम्रा पक्षलाई प्रोत्साहन र नराम्रा पक्षलाई निरुत्साहन गर्न साझा पहलकदमी र निरन्तर बहस तथा पैरवीको खाँचो छ ।
पत्रकारिताको माध्यमबाट गाउँ, घर र नागरिक समाजको अधिकार, स्वतन्त्रता र सुचना पाउने हकका लागि हामी निरन्तर बहस तथा पैरवी गर्नेछौ । समाजका पेशा व्यवसाय र विविध पहिचानलाई सम्मान गरेर वास्तविकता उजागर गर्नेछौ । नयाँ सम्भावनाको खोजी र अहिले भइरहेका गतिविधिको निगरानी गर्नेछौ ।
आशा छ, हाम्रो अभियानमा तपाईको साथ, सहयोग र सत्प्रयास पनि रहनेछ ।