आँखाको उपचार गराउँदै बिरामी र जिल्ला अस्पताल मुगुको फाइल फोटो ।
मुगु : छायानाथ रारा नगरपालिका वडा नं १ सदरमुकाम गमगढी बजारमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा औषधि र चश्माको अभाव भएको छ । विगत दुई महिनादेखि उपचार केन्द्रमा औषधि र चश्माको अभाव भएको हो । औषधि अभाव हुदा बिरामी बजारका निजि मेडिकलहरुमा चर्को मुल्य हालेर औषधि उपभोग गर्न बाध्य भएका छन् ।
विगत दुई महिनादेखि औषधि, चस्मा लगायत अन्य सामग्रीहरु जिल्लामा अभाव हुदा आँखा उपचार लगायत अन्य नाक कानको उपचारमा पनि प्रभावित भएको छ । यस्तो समस्यालाई पुर्ति गर्न जिल्ला आँखा उपचार केन्द्र मुगुले हिमालय आँखा अस्पताल घारी पाटन पोखरा लाई आबश्यक औषधि र चस्मा माग गरिएको छ । दुई महिना बिति सक्दा पनि हाल सम्म अस्पतालले औषधि अभावको माग लाई सम्बोधन नगरेको जिल्ला आँखा उपचार केन्द्र मुगुका ईन्चार्ज धुव्र बुढ्थापाले बताए ।
उनका अनुसार आँखा उपचार केन्द्रमा औषधि अभाव भएको छ । बिरामीहरु दिन प्रतिदिन बढ्दो क्रममा रहेका छन । औषधि छैन । चस्मा पनि छैन बिरामीहरु रित्तो हात लिएर घर फर्कने गरेको उनको भनाई छ ।
पछिल्लो समय बिरामिहरुको चाप पनि उत्तिकै लाग्ने गरेको छ । ‘थाम्नै सकिन्न । औषधि माग्छन छैन, आँखा बिरामीको प्रकार हेरेर चश्मा माग्छन् त्यो पनि छैन । आज भोलि बिरामीले धेरै सास्ती खेप्नु परेको छ’ बुढ्थापाले भने ।
विगतका दिनहरुमा सेवाग्राही सहजै रुपमा सेवा पाउन्थे । उपचार पनि भने जतिकै हुन्थ्यो । तर दुई महिनादेखि उपचार केन्द्रमा औषधि, चस्मा अभाव हुँदा उपचारमा प्रयोग हुने उपकरणहरु पनि प्रयोग विहीन बनेका छन् । जिल्लामा औषधि अभाव सुरु भए पछि छिटो उपलब्ध गराउन कार्यालयले आग्रह गरेको छ ।
पछिल्लो समय आँखा उपचार केन्द्रमा मुगुका मात्र नभई छिमेकि जिल्ला जुम्ला, हुम्लाका नागरिक पनि सेवा लिन आउने गरेका छन् । उनीहरु दुई तिन दिनको पैदल यात्रा गरेर मुगुमा सेवा लिन आउँछन । तर पाउनु पर्ने सेवा पाउदैनन् । समस्या र बिरामी भएर आएका उनीहरु उपचार नपाई फर्किदा निराश हुने गरेको पनि कार्यालयले जानकारी दिएको छ ।
संसार हेर्ने आशा कुर्दै गुरु
मंगलवार आँखा उपचार केन्द्रमा उपचार गर्न आएका छायानाथ रारा नगरपालिका वडा नं ४ भामवाडाका स्थानीय गुरु प्रसाद रावलका दुवै आँखामा समस्या आएपछि उपचारको लागि उपचार केन्द्रमा आएका थिए । तर औषधि नहुदा उनको उपचार हुन सकेन । दुई वर्षकै उमेरमा आँखाको समस्यासँग लडिरहेका उनी हाल सम्म पनि संसार देख्न सकिरहेका छैनन ।
‘पहिला बालबालिका अवस्थामै एउटा सानो किरा पसेको थियो । त्यो किरा गईहाल्छ भन्ने सोच भयो । केही हेक्का पनि राखिन, उनले भने, ‘एक्कासी त्यसले गर्दा आँखा पाक्यो । त्यसको केही दिनमा मेरा लागि संसार अन्धकारमय भयो । अहिलेसम्म पनि आँखा देख्न पाएको छैन ।’
उनी हाल ५९ वर्ष वर्ष पुग्दा समेत आँखाको उपचार हुन सकेको छैन । आँखाको उपचारको लागि जिल्ला मात्र नभई उनी बाहिरी जिल्ला पनि धाए । लाखौ रकम खर्च भयो । तर उनको आँखाले यो संसार देख्न पाएको छैन । त्यसमाथि उपचारका लागि अस्पताल पुग्दा औषधि अभावका कारण सेवा नपाएपछि उनी निराश भएर फर्किए ।
पछिल्लो समय आँखा उपचार केन्द्रमा बिरामीको संख्या पनि बढेको छ । प्रत्येक दिनमा २० देखि ३० जना सम्म सेवा लिन आउने गरेका डाक्टरको भनाइ छ । मुगुमा २०६८ सालमा स्थापना भएको उपचार केन्द्रमा हालसम्म २१ हजार १ सय ४७ जनाले सेवा लिएको कार्यालयले जनाएको छ ।