राष्ट्रिय आविष्कार केन्द्रमा आउनु हुने स्वदेशी तथा विदेशी आगन्तुकहरुसँग कट्टु र चप्पल लगाएको फोटोहरु फेसबुकमा राख्दा कतिपय नेपालीहरुलाई असजिलो जस्तो महसुस भएको छ । कतिपयले सादा जीवन भनेर भन्नु भएको छ । मैले सादा जीवन देखाउनलाई कट्टु लगाएको पनि होइन । कट्टु र चप्पल लगाएर हिडडुल गर्दा मलाई असजिलो पनि लाग्दैन ।
नेपालमा मात्र होइन अमेरिकामा युनिभर्सिटीमा पढ्दा पनि गर्मी महिनामा मैले प्राय जसो कट्टु नै लगाउँथे । अमेरिकामा पढ्दा कट्टु लगाएको फोटो पनि फेसबुकमा राखेको छु, हेर्न सक्नुहुन्छ । एउटा फोटो हिजो ईजरायालको डेपुटी राजदुत आउँदाको हो । यो कथा पढे पछि साथीहरुले कट्टु र चप्पल लगायो भनेर कचकच नगर्नु होला ।
कट्टु लगाउने मेरो बाल्यकाल देखिकै बानी हो । उति बेला रहरले होइन कि बाध्यताले कट्टु लगाएको हो । मैले २१ बर्षको उमेरमा मात्र पहिलो चोटी पाइन्ट लगाएको हो । बाल्यकाल देखि एसएलसी पढ्दा पनि कट्टु लगाएर पढेको हो । हाई स्कुलमा प्राय जसो विद्यार्थीहरुले कट्टु लगाउने हुनाले पाइन्ट लगाउने भन्ने आवश्यकता नै महसुस भएन ।
२०२८ सालमा एसएलसी पास गरेर अमृत साईन्स कलेज काठमान्डूमा भर्ना हुँदा पनि कट्टु लगाएरै भर्ना भएको हो । अनि कलेज भर्ना भए पछि पाइन्ट लगाउने कि भनेर सोचेको पनि हो । तर पाइन्ट किन्न पनि निकै धेरै पैसा लाग्ने रहेछ । पाइन्ट किन्ने पर्याप्त पैसा पनि कहिल्यै भएन । अनि कट्टु लगाएर दुई बर्षसम्म काठमान्डूमा कलेज पढियो । त्यसो गर्दा मलाई कुनै अप्ठ्यारो महसुस भएन । त्यति बेलाका अमृत साइन्स कलेजमा पढ्ने क्लासका साथीहरुले कट्टु लगाउने केटा भनेर चिन्दथे ।
अमृत साइन्स कलेज बाट आईएस्सी अथवा १२ क्लास पास गरे पछि ईन्जिनियर बन्ने सपना पुरा भएन । अनि आर्थिक अवस्था कम्जोर भएकोले मैले बिएस्सी पढ्न आँट गरिन । किनभने काठमान्डूमा पढ्ने पैसा मेरो बाबासंग छैन भन्ने मलाई थाहा थियो । त्यति बेला १५० रुपैंया भयो भने एक महिनामा काठमान्डूमा डेरामा बसेर कलेज पढ्न जसो तसो पुग्थ्यो ।
त्यसपछि म चितवन गएर २०३० साल भाद्र महिनादेखि दिब्यनगर हाई स्कूल चितवनमा कट्टु लगाएरै पढाउने शिक्षक भएँ । दिव्यनगरमा करिब एक बर्ष जति पढाएपछि मलाई चितवनकै रत्ननगरको नेपाल हाई स्कूलमा सरुवा गरियो । त्यहाँ पनि दुई बर्ष जति कट्टु लगाएरै पढाएको हो । सबैले कट्टु मास्टर भन्दथे । त्यसपछि सो हाई स्कूलको त्यति बेलाको हेडमास्टर दिनेश्वर प्रसाद श्रीवास्तव सरले म नमान्दा नमान्दै पनि आफैले कपडा किनेर टेलर मास्टरलाई बोलाई पाइन्ट सिलाएर मलाई लगाउन लगाए ।
श्रीबास्ताब सरसँगै म हाई स्कूल नजिकै एउटै डेरामा संगै बस्ने हुनाले मैले नकार्न पनि सकिन । सुरुका केहि समय त पाइन्ट लगाएर हिंड्दा मलाई एकदमै अप्ठ्यारो लाग्दथ्यो । तर विस्तारै पाइन्ट लगाउने बानी बसेको हो । महिना बिर्सें । तर मैले पहिलो चोटी पाइन्ट लगाएको साल चाहि २०३३ साल हो ।
यसरी कट्टु र चप्पल लगाएरै हुर्केको हुनाले मलाई कट्टु लगाउन सजिलो लाग्छ । खास गरि गर्मी महिनामा त मलाई पाइन्ट र जुत्ता लगाउन मनै पर्दैन । त्यसैले आजभोली पनि कट्टु र चप्पल नै लगाएको हो ।
क्रमश...
(राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुन आफ्नो जीवनी लेखिरहेका छन् । सोही अनुसार आफ्ना सुरुआतदेखिका भोगाई उनी सामाजिक सञ्जालमा लेखेर सार्वजनिक गरिरहेका छन् । कम्तीमा तीन वर्षमा जीवनी लेखेर सकिने उनी बताउँछन् । उनका केही भोगाई साच्चिकै प्रेरित भएर हामीले प्रकाशित गरेका हौँ - सम्पादक)