काठमाडौँ : मध्यरात साढे १ बजे । सोमबार राती दैलेख छोटेपोखराका शिक्षक नगेन्द्र बिसीको विभत्स रुपमा हत्या गरियो । मध्यरातमा उनको हत्या अरु ठाउँमा होइन, उनी पढाउने मालिका विद्यालयकै बरण्डामा गरिएको छ ।
हत्यापछि विभत्स रुपमा भेटिएको शवको प्रकृति हेर्दा पहिले भित्तामा अडेस लगाएर घाँटी रेटिएको छ । घाटी रेट्ने बेलामा सायद उनी चिच्याउन नखोजेका होइनन्, तर पनि मुख च्यापेर घाटी रेटेपछि उनलाई भुईमा लडाएको देखिन्छ ।
भुईमा लडेका उनको रगत बगेको छ । घाटी रेटेपछि रगतको भेल बगेर शिक्षक बिसीको प्राणपखेरु उडेको वास्तविकता शवको प्रकृतिबाट देखिन्छ । १३ वर्षसम्म पढाएको विद्यालयमा यसरी आफ्नै ज्यान गुमाउनुपर्ला भनेर सायद उनले सोचेका पनि थिएनन् ।
जब उनको हत्या भएको अवस्थामा शव भेटियो । चौतर्फी प्रश्न उठ्यो । आखिर हत्या किन भयो ? कसले गरेको हो ? मध्यराती विद्यालयमै लिएर हत्या गर्नुको खास कारण के हो ? त्यो खुलेको छैन । प्रहरीले अभियुक्त पक्राउ गरेर सार्वजनिक गर्दा व्यक्तिगत रिसइबी कारण देखाइएको छ । यो मात्रै शिक्षक बिसीको हत्याको मूल कारण भने होइन ।
विभत्स हत्यापछाडिको तथ्य
दैलेख प्रहरीले हत्याका विषयमा अनुसन्धान गरिरहेको बताएको छ । अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । तर विभत्स हत्यापछि सोझिएको प्रहरीको अनुसन्धानको सतही विवरणले हत्याको कारण व्यक्तिगत रिसइबी मात्रै देखाउँदैन ।
हामीले यसबारेमा विभत्स हत्याका धेरै घटनामा प्रत्यक्ष अनुसन्धान गरेका एक पूर्व डीआइजीलाई सोध्यौँ, ‘शिक्षकको हत्या व्यक्तिगत रिसइबीमा त्यति विभत्स रुपमा हुन सक्छ ?’
जवाफमा उनले भने, ‘यो व्यक्तिगत रिसइबी मात्रै होइन । यस्ता घटना कि योजनाबद्ध रुपमा हुन्छन् कि सेक्सको मामिलामा असमझ्दारी भएर हुन्छ । यो घटनामा दुईवटै कारण प्रधान देखिन्छ ।’
प्रहरीको मनोबल र अनुसन्धान प्रभावित नहोस भनेर उनले नाम खुलाउन चाहेनन् । उनको भनाई सुन्दा यो हत्याका पछाडि व्यक्तिगत रिसइबीभन्दा अनैतिक यौन सम्बन्ध र त्यसबाट उत्पन्न तनावपूर्ण अवस्थाको भयावह घटना परिणाम हो ।
उनले थप कारण खुलाउँदै भने, ‘पक्राउ परेकी महिला विवाहित भनिएको छ । विवाहित महिलाले सायदै यसरी विभत्स रुपमा अरु पुरुषको हत्या गरेको घटना विगतमा छन् । त्यसमाथि विद्यालयकै प्रांगणमा हत्या भएको छ । यसमा व्यक्तिगत रिसइबीभन्दा महिलासँग जोडिएको रिसमा हत्या गरिएको देखिन्छ ।’
ती पूर्व डीआइजीले महिला र हत्या भएका शिक्षकका बीच कुनै न कुनै दृष्टिकोणबाट सम्बन्ध रहेको बताए । त्यसलाई शंका, उपशंका, रंगेहात देखेको झोकमा पुरुषबाटै शिक्षकको हत्या हुन पुगेको देखिन्छ । यो विगतमा गरिएको अनुसन्धानबाट भन्न सकिने कुरा हो । बाँकी प्रहरीकै अनुसन्धानबाट वास्तविकता खुल्ने उनले बताए ।
हत्याको खास कारण के हो ?
प्रहरीले सार्वजनिक गरेको विवरणमा सामान्य कारण पनि नखुलेको देखिएपछि हामीले घटनाको अनुसन्धानबारे प्रत्यक्ष रिर्पोटिङ लिइरहेका एक प्रहरी अधिकिारीसँग सोध्यौ, ‘घटनाको खास कारण के हो ?’
उनले यसबारेमा अहिल्यै केही पनि भन्न नसकिने बताए । तर अनुसन्धानको प्रारम्भिक विवरणमा सबै खुलाउन नमिल्ने भएकाले प्रहरीले औपचारिक विवरण राखेर मात्रै सार्वजनिक गरेको उनले बताए ।
हत्याको कारण व्यक्तिगत रिसइबी मात्रै नभई अरु विविध पक्ष जोडिएको हुन सक्ने उनको भनाइ छ । तत्काल पूरा अनुसन्धान नगरी सबै भन्न नमिल्ने भएकाले पुरै वास्तविकता खुल्न बाँकी रहेको उनको भनाइ छ ।
हत्यामा महिला मात्रै नभई पुरुषको सलंग्नता देखिएको आशंका गरिएपनि यसबारेमा घटनाको अनुसन्धानमा खटिएको प्रहरीले वास्तविकता बुझेर थप कदम चाल्ने उनले बताए । केही स्थानीयले पनि शिक्षकको हत्यामा महिलालाई फसाइएको आशंका गरेका छन् ।
हत्याको कारणसम्म महिला पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएपनि त्यसरी ज्यानै लिने उद्धेश्यले भएको घटनामा वास्तविक दोषीलाई प्रहरीले सार्वजनिक गर्नुपर्ने पीडित पक्षको भनाइ छ ।