काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमीटिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बहुमत देखिएको छ । ४५ सदस्यीय नेकपाको स्थायी कमीटि बैठकमा प्रचण्डको पक्षमा १७ जना सदस्य छन भने प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका पक्षमा १४ जना मात्रै नेता छन । यस्तै बरिष्ठ नेता माधव नेपालका १३ जना सदस्य स्थायी कमीटिमा रहेका नेताहरुले बताएका छन ।
बैशाख २५ गते बस्ने स्थायी कमीटि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना हुने निश्चित छ । दल फुटाउन अध्यादेश ल्याएपछि पार्टी र सरकारबाट हटाइन लागेका ओलीले प्रचण्डसँगै मिलेर सत्ता जोगाएपनि पार्टीभित्रको खस्किदो छवि उकास्न भने हम्मे हम्मे परेको छ ।
यसअघि सचिवालयमा अल्पमतमा रहेका ओली स्थायी कमीटिमा पनि अल्पमतमै छन । माधव नेपाल र प्रचण्ड पक्षका ३० जना स्थायी कमीटि सदस्यले स्थायी कमीटि बैठकमा प्रधानमन्त्री ओलीको झाँको झार्ने पनि सम्भावना छ । सचिवालय बैठकमा आत्मालोचना गरेका प्रधानमन्त्री ओलीका पक्षमा १४ जना स्थायी कमीटि सदस्यबाट मात्रै प्रधानमन्त्रीको बचाउ अपर्याप्त छ ।
यसअघि संसद, सचिवालय र स्थायी कमीटि बैठकमा अल्पमतमा रहेकाले नै ओलीले बैठक बोलाउन आनाकानी गर्दै आएका थिए । तर प्रचण्डकै अध्यक्षतामा बैठक बोलाएर राजीनामा माग गर्ने चेतावनी दिएपछि ओलीले सचिवालय र स्थायी कमीटि बैठक बोलाएका हुन । त्यो पनि बामदेव गौतमलाई आफ्नो गुटमा ल्याएपछि ओलीले सचिवालय बैठक बोलाएका थिए ।
बैशाख २० गते शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आत्मालोचना गरेका थिए भने २५ गते सचिवालय बैठक बोलाउने निर्णय भएको थियो । प्रचण्डसँगको उधारो तर अघोषित सहकार्यले ओलीको प्रधानमन्त्री पद जोगिएको छ भने आत्मालोचनाले पार्टीभित्रको कमजोरी ढाकछोप हुदै गएको छ ।
यद्यपी स्थायी कमीटि बैठकमा भने नेकपाका प्रभावशाली नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग्न सक्ने जोखिम कायमै छ ।
को कसको गुटमा ?
नेकपाभित्रको विवाद चर्किनुका पछाडी अहिले प्रचण्ड र माधव नेपालको गुट मिलेको छ । दुई शीर्ष नेतासँगै झलनाथ खनाल र नारायणकाजीको पनि साथ सहयोग छ । यसले नेकपाभित्र अहिले प्रचण्ड शक्तिमा छन ।
प्रचण्डको पक्षमा १७ जना नेता स्थायी कमीटिमा छन । अध्यक्ष प्रचण्डसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ, बर्षमान पुन, टोपबहादुर रायमाझी, शक्ति बस्नेत, जनार्दन शर्मा, लिलामणि पोखरेल, हरिबोल गजुरेल, चक्रपाणी खनाल, मणि थापा, पम्फा भुषाल, मातृका यादव, गणेश शाह, देव गुरुंग, लेखराज भट्ट, देवेन्द्र पौडेल र गिरिराजमणि पोखरेल छन ।
यस्तै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा १४ जना सदस्य छन । ओलीसँगै बामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वांग, प्रदीप ज्ञवाली, रघुवीर महासेठ, सत्यनारायण मण्डल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुंग, छविलाल विश्वकर्मा, विष्णु रिमाल र किरण गुरुंग छन ।
यस्तै बरिष्ठ नेता माधव नेपालको पक्षमा १३ जना सदस्य छन । नेपालसँगै झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, बेदुराम भुषाल, घनश्याम भुषाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने छन ।
ओलीलाई अर्को संकट : राजीनामा माग चर्काउने !
गुटगत हिसाबले शक्तिमा रहेका प्रचण्डसँग उधारै सहमति गरेर सत्ता संकट टारेका प्रधानमन्त्री ओलीसँग पूर्व एमालेका सबै जसो नेता रिसाएका छन ।
पूर्वमाओवादीसँग एकता गरेपनि गुट नै चलाएर बसेको, कसैलाई नसोधेरै पार्टीमा निर्णय गर्ने गरेको, स्वार्थका लागि जे पनि गर्ने र आफुसँगै पार्टीको बदनाम गरेको आरोप ओलीमाथी बरिष्ठ नेता नेपाल र खनालले लगाउदै आएका छन । प्रचण्डसँग आपतमा सहमति गरेका ओलीले कुर्सी जोगाएपनि माधव नेपाल र झलनाथ खनालसँग भने अझै कुरा मिलाउन सकेका छैनन् ।
यसअघि प्रधानमन्त्री पद छाड्न तयार भइसकेका ओलीलाई प्रचण्डले साथ दिएपछि माधव नेपालको 'एक व्यक्ति, एक पद' एजेन्डा ओझेलमा परेको छ । तर प्रचण्डसँगै मिलेर माधव नेपाल र झलनाथ खनालले स्थायी कमीटि बैठकमा यो एजेन्डा फेरि उठाउने तयारी गरेका छन ।
सोमबार मात्रै हात्तिवनमा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल तथा प्रवक्ता नारायणकाजीको गोप्य भेला भएको थियो । भेलामा कूनै ठोस सम्झौता नभएकाले अध्यादेश राजनीति, पार्टीमा एकलौटी र मनोमानी निर्णय गरेको आरोपमा ओलीमाथि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा माग चर्काउने सहमति बनेको छ ।
जुन २५ गते बस्ने स्थायी कमीटि बैठकमा अधिकाशं नेताले अबका दिनमा कान समातेर सुध्रिन आग्रह गर्ने र नसुध्रिए प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पक्का पक्की छ ।
माधव नेपाल निर्णायक !
ओली र प्रचण्डको अघोषित सहकार्यमा माधव नेपाल मिसिएका छैनन् । प्रचण्डसँगै तालमेल मिलाएका ओलीले नेपाललाई भाउ पनि दिएका छैनन् । तर नपत्याउने खोलाले बगाउँछ भनेझै यसपटक ओलीलाई संकट पर्दा माधव नेपालले सत्ताबाटै हुत्याउने चेतावनी दिए ।
त्यतिले पनि नमानेका ओलीलाई प्रचण्डको साथ सहयोगबाट प्रधानमन्त्री र पार्टीको अध्यक्ष बनेर देखाई दिने धम्की दिए । यतिले पनि नमानेका ओलीलाई प्रचण्ड स्वंयमले पनि सचिवालय बैठकमा राजीनामा माग गरेपछि ओली साच्चिकै डराएका हुन ।
अहिले आफ्नो गुटमा ओली र प्रचण्ड दुबै शक्तिशाली छन । दुबैको संख्यामा पनि खासै घटबढ छैन । तर माधव नेपाल जसको गुटमा मिसिए उसको बहुमत स्पष्ट हुन्छ । फेरि माधव नेपालसँग बौद्धिक, तार्किक बहस र छलफल गर्न सक्ने युवा नेताहरुको जमात छ ।
यसकारण पनि नेकपामा प्रमुख खेलाडीका रुपमा अहिले माधव नेपाल छन । ओलीसँग बढ्दो असन्तुष्टि र पदीय भागबण्डा नमिल्दा माधव नेपाल अहिले प्रचण्ड गुटतिर छन । माधव नेपालकै सहयोगमा प्रचण्ड पनि ओलीलाई बहुमतको झट्का दिने दाउ पर्खेर बसेका छन ।