काठमाडौं । सत्ता र पार्टी सञ्चालनका विषयमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । बालुवाटारमा मंगलबार दिउँसो भएको भेटवार्तामा ओली र प्रचण्डबीच चर्काचर्की भएको हो ।
बैशाख २० गतेको सचिवालय बैठकमा गोप्य सहमति गरेका भनिएका ओलीलाई प्रचण्डले फेरि सम्झौता कार्यान्वयनमा चाँसो नदेखाएको आरोप लगाएका छन । बैशाख २० गतेको सचिवालय बैठकमा तत्कालिन ओलीको सत्ता संकट हल गरेका प्रचण्डले पार्टीको स्थायी कमीटि बैठकका लागि प्रतिवेदन आफुले लेख्न पाउनुपर्ने माग गरेका थिए । यसका साथै उनले पार्टीका कुनै पनि काममा हस्तक्षेप गर्न नपाइने बताएका थिए ।
तर प्रतिवेदन लेखन नथाल्दै ओलीले आफूले बैशाख २० गते भएको सहमति कार्यान्वयन गर्न नसक्ने बताएका छन । जुन प्रचण्डका लागि ओलीबाट अर्को घात भएको बुझाई छ । यद्यपी सचिवालय बैठकअघि बालुवाटारमा भएको गोप्य वार्तामा के के सहमति भएको थियो ? भन्ने खुलेको छैन ।
त्यो गोप्य वार्तामा प्रचण्डले माधव नेपालको एक व्यक्ति एक पदको एजेन्डालाई पनि स्पष्टसँग कार्यान्वयन गर्न माग गरेका थिए । बैशाख २० गतेको सचिवालय बैठकअघि ओलीले सो एजेन्डा आफूले अबका दिनमा कार्यान्वयन गरेर देखाउने समेत बताएका थिए ।
तर पछिल्लो समय ओली र माधव नेपाल दुबैका कुनै पनि कुरा सुन्न छाडेपछि ओलीसँग फेरि दुरी बढेको प्रचण्डनिकट नेताहरुले बताएका छन । पछिल्लो समय प्रचण्ड र ओलीबीच देखिएको चर्काचर्कीले नेकपाको स्थायी कमीटि बैठक अलपत्र पर्ने सम्भावना बढेको छ ।
बैशाख २५ गते बैठक बोलाएपनि अहिलेसम्म प्रतिवेदन तयार भएको छैन । ओलीले प्रतिवेदन लेखनको जिम्मा प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएका थिए । तर मूलभुत कुरा आफ्ना हुनुपर्ने र केही विषय प्रतिवेदनमा खुलाउनै नहुने अडान राखेपछि प्रचण्ड ओलीबाट रुष्ट भएका छन । साथै उनले ओलीसँग फेरि खटपट भएपछि प्रतिवेदन लेखनको कामलाई पनि अघि बढाउन सकेका छैनन् ।
स्थायी कमीटिको बैठकको तयारीका लागि बुधबार दिउँसो नेकपाको सचिवालय बैठक बस्दैछ । सचिवालय बैठकले स्थायी कमीटि बैठकका एजेन्डा तयार पार्नेछ । सचिवालय बैठकमा ओलीले स्पष्टसँग एजेन्डा तयार गर्न नसकेमा स्थायी कमीटि बैठक प्रभावित हुन सक्ने नेताहरुले बताएका छन ।
प्रधानमन्त्रीको कार्यशैलीबाट रुष्ट भएका स्थायी कमीटि सदस्यले बैठकमा ओलीको चर्को आलोचना गर्ने योजना बनाएका छन ।