जुम्ला : जुम्लाको एयरपोर्ट हुँदै उर्थुचौतारा जाने सडकखण्डको माथिल्लो रानारावत गाउँका १२ घर जोखिममा परेका छन् । प्राविधिक अध्ययन विनै जथाभावी खनिएको सडकले उक्त गाउँ जोखिममा परेको हो ।
यो उदाहरण मात्रै हो । जुम्लाका विभिन्न ठाउँमा वर्षा सुरु भएसँगै सडक भत्केर ठुल्ठुला क्षति हुने गरेका छन । गाउँ–गाउँमा प्राविधिक विनै खनिएका सडकले यतिबेला कयौं परिवारलाई विस्थापित बनाएको छ ।
जुम्लामा पछिल्लो समय अध्ययन विनै जथाभावी डोजर र स्काभेटरबाट सडक खन्दा बस्ती पहिरोको जोखिममा पर्ने गरेको चन्दननाथ नगरपालिका एक वडाका स्थानीय अमृतकृष्ण आचार्यले बताए । उनले भने, ‘सडक खन्दा अध्ययन गर्दैनन् । ठेकेदारहरुले जथाभावी डोजर चलाउने गरेका छन् । यस विषय कसैले कुरा सुन्दैन । माथि रानारावत गाउँ भन्दा माथि बस्ती छैन । जुम्ला केही मन्त्री र नेता कार्यकर्ताहरुले डोजर चलाउँदा स्याउको बगैंचामा भत्काइदिएका छन् ।’
राणारावत गाउँबाट जंगल लगिएको सडक निर्माणमा न भूगोलको अध्ययन भयो न त प्राविधिक रुपमै नापजाँच नै भयो । जथाभावी सडक खनिरहेको स्थानीय बताउँछन् ।
यता राणारावत गाउँ माथिबाटै भासिएको छ । जसका कारण ठिन्के जलविद्युत आयोजनाको कुलो भत्किएको छ । कुलो भत्किदा चन्दननाथ नगरपालिएकाको १ देखि ५ वडासम्मको विद्यतु सेवा एक महिनादेखि अवरुद्ध भएको ठिन्केजल विद्युत आयोजनाका अध्यक्ष बिष्णुबहादुर बुढ्थापाले बताए । उनले भने, ‘यस वर्ष वर्षात धेरै भयो । भिरालो र पानीका मुहान भएको जमिनमा सडक खन्दा ठाउँ ठाउँमा भत्किएको छ । सडक भत्किदा वडा नम्बर पाँचका स्थानीयले विद्युत बाल्न पाएका छैनन । उर्थुचौतारा जाने सडक खण्डको माथिल्लो रानारावत गाउँका १२ घर परिवारको खानेपानी ट्याङ्कीमा बाढी आउँदा पानी खान समेत पाएका छैनन’ बुढथापाले थपे, ‘ जथाभावी डोजर र स्काभेटरचलाउँदा बत्तीको कुलो ३५ मिटरसम्म भत्किएको छ । यसलाई बनाउन समय लाग्न सक्छ’ ।
अब राणारावत गाउँमा पहिरो आउन वित्तिकै पावरहाउस भत्किने सम्भावना निकै भएको बुढथापाले बताए । उनले भने, ‘निर्माण गर्ने सडक ठेक्का प्रक्रियाबाट निर्माण व्यवसायीमार्फत निर्माण हुने गर्छन् । तर, स्थानीय तहमा बन्ने सडक उपभोक्ता समितिमार्फत बनाइरहेको छ । इन्जिनियर हुदैनन, गाउँका टाठाबाठा र डोजर चालकले मनमर्जीमा अनिरहेका छन् । ’
स्थानीय नेता तथा कार्यकर्ताले इसारा गरेकै भरमा डोजर चलाइरहेका छन् । यसले गर्दा राणारावत गाउँ लगायतका अन्य ठाउँहरुमा बाढी पहिरो र भूक्षयको जोखिम बढाउने कारण बनेको विज्ञहरु बताउछन् ।
भौतिक पूर्वाधार विकासका कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावत भन्छन, ‘यहाँ सबै नेता कार्यकर्ताको चल्छ, हामी काम गर्न आएका हामी काम गर्न बसेको कारिन्दा हौं । यसमा हाम्रो कुनै हात छैन । यो सडक आबश्यकता हो होइन भन्ने पनी हाम्रो अधिकार हुदैनन । त्यो काम उपभोक्तामार्फत भएको हो । काम सम्पन्नपछि भुक्तानी दिने गरेका छौं । यो रकम क्षेत्र नम्वर एकको संसद विकास कोषको हो । उर्थु चौतारा सडकखण्डको काम कार्यालयको जिम्मामा छ । केही दिनदेखि मनसुन सक्रिय भएकाले रोकिएको हो । नयाँ कटान गर्दा पहिरो गएको हो । वर्षा रोकिने बितिकै नियमित रुपमा सडक विस्तारको काम छ ।