काठमाडौँः विश्वविद्यालय तहमा ‘विशिष्टाद्वैत दर्शन’को अध्ययन अध्यापन गरिनुपर्नेमा जोड दिइएको छ । श्रीवैष्णव युवा परिषद् नेपालले आज यहाँ आयोजना गरेको ‘श्री रामानुजाचार्य विशिष्टाद्वैत दर्शन’ पुस्तक विमोचन कार्यक्रमका वक्ताले रामानुजाचार्यले प्रतिपादन गरेको विशिष्टाद्वैत दर्शनको अध्ययन अध्यापन गर्न माग गरिएको हो ।
कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले वैष्णव सम्प्रदायको जीवित इतिहासका रूपमा बूढानीलकण्ठको विश्वकै ठूलो प्रस्तर मूर्ति रहेको बताए । लाजिम्पाटमा रहेको वामनको मूर्ति चोरी भएर विदेश पुगी फिर्ता गरेर छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको जानकारी दिदैँ उनले यसबाट मूर्तिका माध्यमबाट वैष्णव धर्मलाई जोगाइराखेका अनेकौँ उदाहरण रहेको बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले दीर्घकालसम्म चलाउन सकिने भए छलफलपछि विशिष्टाद्वैत दर्शनको पठनपाठन शुरु गर्न सकिने बताए । संस्कृत विश्विद्यालय विशिष्ट महत्व बोकेको विषय पढाउनकै लागि विसं २०४३ मा २८६ जना विद्यार्थीबाट शुरुआत गरिएकाले प्राचीन महत्वका विषय पढाउन सकिने उनको प्रतिबद्धता छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संस्कृत विश्वविद्यालयले विशिष्टद्वैत दर्शनको अध्यापन गराउनुपर्ने उल्लेख गर्दै यस विषयमा प्रतिष्ठान र परिषद् मिलेर दुई महिनापछि गोष्ठी आयोजना गरिने बताए । संस्कृत विश्वविद्यालयका पूर्वउपकुपति प्रा. माधवराज गौतमले २० वर्षअघि नै विशिष्टाद्वैत दर्शन अध्यापनका लागि सम्झौता भएकामा के कारण पठनपाठन गर्न नसकिएको त्यसका खोजी गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्य, परिषद्का महासचिव सुदर्शन नेपाल, प्राडा काशीनाथ न्यौपाने, प्राडा भागवत ढकाल, सहप्राडा नारायणप्रसाद गर्तौला, पुस्तकका प्रधानसम्पादक डा. रघुनाथ नेपाल, परिषद्का अध्यक्ष ऋषि प्रपन्नाचार्य, वैष्णव परिषद्का अध्यक्ष देवराज आचार्यलगायतले दर्शनको विश्वविद्यालय तहमा अध्ययन अध्यापनको व्यवस्था गर्न माग गरे ।
हाल नेपालमा रामानुजाचार्यले प्रतिपादन गर्नुभएको दर्शन अध्ययन अध्यापन हुने १५ गुरुकुल छन् । जहाँ एक हजारभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेको जनाइएको छ । उच्च अध्ययनका लागि नेपालमा व्यवस्था नभएकाले ती विद्यार्थी भारत जाने गरेका छन् ।
सो अवसरमा अन्तरराष्ट्रिय श्रीसम्प्रदाय मञ्चद्वारा प्रकाशित ‘यतीन्द्रमतदीपिका’ पनि सार्वजनिक गरिएको थियो । श्रीनिवासाचार्यले लेखेका यो कृतिको नेपाली अनुवाद आज सार्वजनिक गरिएको हो । सो अवसरमा शताब्दी पुरुष जोशीले नेपाली भाषा, साहित्य र संस्कृति क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । परिषद्ले प्रकाशन गरेको दुवै कृति सम्पादनमा सक्रिय व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । रासस