सल्यान : जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदाय यतिबेला सल्यानको पश्चिम क्षेत्रमा बस्दै आएको छ । उक्त समुदायलाई विहिबार केही सामग्री लिएर राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासहितको टोली बस्तीमै पुग्यो । उनीहरुको आधारभुत आवश्यकतालाई ख्याल गरेर वितरण गरिएको थियो । विदेशमा बस्ने नेपालीहरुले पठाइदिएको ४ लाख बराबरको सामग्री वितरण गरियो । जसमा, लत्ताकपडादेखि सावुन, पिठोसम्मका सामग्री थिए ।
उक्त वितरण कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले राउटे जातिको उत्थानका लागि स्थानीय सरकारले बढी जोड दिनुपर्ने बताए । उनीहरु बसाइँ सरेर जाने स्थानमा बालबालिकालाई शिक्षा, स्वास्थ्य र आवासमा चासो दिनुपर्ने बताए । उनले भने, ‘फिरन्ते जीवन बिताइरहेको राउटे समुदाय स्थायी रुपमा बस्न नचाहने भएकाले बसाइँ सरेर जाने ठाउँहरुमा शिक्षा, स्वास्थ्यको पहुँच हुनुपर्छ । त्यसपछि मात्रै राउटेको पछिल्लो पुस्ता आधुनिकतातिर ढल्किने छ । ’
उक्त कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाह पनि थिए । उनले पनि राउटे समुदायलाई आधुनिकतामा लैजानका लागि सबैको दायित्व रहेको बताए । स्थानीय स्तरमै बस्ने भएकाले मुख्य रेखदेख र शिक्षा–दीक्षामा अलि बढी जोड दिनुपर्ने उनको भनाइ छ ।
सेवामुलक संस्थाकी अध्यक्ष सत्यदेवि अधिकारीले राउटे समुदायको उत्थानका लागि विगत १८ वर्षदेखि निरन्तर रहेको बताइन् । उनले राउटेहरुको संरक्षणमा काम गर्दै आइरहेको जानकारी गराइन् । राउटे समुदायको उत्थान र संरक्षणका लागि सत्यदेविको योगदान पनि रहेको स्थानीयले बताए ।
सामग्री वितरणमा सांसद पद्मा खड्का, प्रमुख जिल्ला अधिकारी ल्क्ष्मीदेवी हुमागाई, सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, र, दुई जिल्लाका प्रहरी प्रमुखहरुको उपस्थिति थियो । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको व्यक्तिगत सहयोग र सहजिकरणमा बेलायतमा बस्दै आएका उनका आफ्न्त वीरेन्द्रजंग लामिछानेको सहयोगमा उक्त सामग्री राउटे बस्ती सल्यान पश्चिम घाटगाउँ पुगेका हुन् ।
उक्त टोलीले राउटे समुदायका विषयमा खानपिनमा समेत चासो दिएका छन् । यस्तै आफ्नो नगरमा आएका राउटे समुदायलाई नगरले भरपुर सहयोग गर्ने उप–प्रमुख मञ्जु यरीले बताइन् । राउटे समुदायलाई सामग्री वितरण कार्यक्रमको सहजिकरण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढकालले गरेका थिए ।
बनगाड कुपिण्डे नगरपालिकाले यतिबेला राउटे समुदायलाई सहयोगको व्यवस्थापन गरिरहेको छ ।