काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र फेरि संकट बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गएको शनिबार भएको ४० मिनेट वार्ताले नेकपाको आन्तरिक विवाद तत्कालका लागि हल भएको देखाएपनि थप आन्तरिक विवाद सिर्जना गरेको छ ।
४० मिनेटको वार्ता ठोस सहमतिमा नपुगेको र भएका सहमति पनि कार्यान्वयन नभएपछि नेकपाको आन्तरिक संघर्ष फेरि चुलिएको छ । प्रचण्डसँगको गोप्य वार्तामा सहयोग पाएपछि प्रधानमन्त्री ओलीले आत्मालोचना गरेर सत्ता संकट टारेका थिए । साथै ओलीले २० जना नेताहरुको लिखित माग सम्बोधन गर्दै स्थायी कमिटी बैठक पनि बोलाएका थिए ।
तर एक हप्ता नपुग्दै ओली र प्रचण्डबीचको खटपट फेरि उत्कर्षमा पुगेको छ । सचिवालय बैठकमा नाटकीय सहमति गरेर आन्तरिक संघर्ष हल गरेका भनिएका ओली र प्रचण्डबीच पछिल्लो चार दिनमा चारपटक भेटवार्ता भएपनि कुनै ठोस सहमति हुन सकेको छैन । बुधबारको सचिवालय बैठकमा दुबै नेताले यही कुरा स्वीकार गरेका छन ।
नेकपाको दुई तिहाई क्षमताको जहाज हाकेका दुई पाइलट ककपीटमा बसेर थप झगडा गर्न थालेपछि विमान अर्थात पार्टी नै दुर्घटनामा पर्ने गम्भिर खतरा पनि बढेको छ । स्थायी कमिटी बैठकले नेकपाभित्रको असन्तुष्टि तत्कालका लागि हल गर्ने र नेताहरुबीच दीर्घकालिन सहमतिअनुसार अघि बढ्ने नयाँ योजना पनि अलपत्र परेको छ ।
सत्ताको स्वार्थ बाझियो
ओली र प्रचण्डबीच शनिबार भएको ४० मिनेटको गोप्य वार्तामा के के सहमति भयो ? त्यो अहिलेसम्म खुलेको छैन । अझै केही महिना त्यो सहमतिको खास बुँदा खुल्ने छाँटकाट पनि छैन । पुरानै सहमतिलाई कडाईका साथ पालना गर्ने सहमति भएको भनेका नेताहरुले गोप्य वार्तामा त्यो मात्रै नभएको सन्देश स्पष्ट दिइरहेका छन ।
यसअघि प्रधानमन्त्री ओली र नेकपाको कार्यकारी अध्यक्ष बनेका प्रचण्डबीच आलोपालो सरकार चलाउने लिखित सहमति अढाई बर्षपछि सार्वजनिक भएको थियो । प्रचण्डसँग सहीछाप गरेर दुई तिहाई बहुमतको सरकार हाकेका ओलीले सित्तिमित्ती प्रधानमन्त्रीको कुर्सी छाड्ने छाँट नदेखाएपछि प्रचण्डकै योजनामा सहमतिपत्र बाहिरिएको थियो ।
मिडियाले नेताहरुले हवला दिदै निरन्तर समाचार प्रकाशन गरेपछि अन्ततः सहमतिपत्र बाहिरियो । दुई अध्यक्षबीच आलोपालो सहरकार चलाउने सहमति बनेको पुष्टि पनि भयो । तर प्रचण्डसँग अनेक जालझेल गरेका ओलीले आफ्नो प्रधानमन्त्री कुर्सीको म्याद थप अढाई बर्ष लम्ब्याउन सफल भए । यसमा ओली त खुशी थिए नै प्रचण्ड पनि मुस्कुराउन बाध्य भए । कारण थियो, जनताले स्थिरता चाहेका थिए ।
ओलीको पुरानै बानी
सरकार चलाउने सहमति गरेका ओलीले मनलाग्दी पार्टी चलाउन थाले । सरकारलाई टुटेफुटेको गाडी सम्झिने ओलीले पार्टीलाई पनि त्यही अवस्थामा पुर्याएपछि गएका हप्ता प्रधानमन्त्री फेर्ने लहर प्रचण्डलाई चलेको हो । त्यसमा बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले पनि सही थापे ।
सचिवालयकै बहुमत सदस्यले प्रधानमन्त्री फेर्ने एजेन्डामा ठोस रणनीति बनाउन थालेपछि ओली यसबाट झस्केनन् मात्रै । प्रचण्डसँग खुट्टै ढोगेर भएपनि प्रधानमन्त्रीको कुर्सी जोगाउने नियतिमा पुगे । अन्ततः सचिवालय बैठकमा आत्मालोचना गरेका ओलीले प्रधानमन्त्रीसँगै पार्टी अध्यक्षको कुर्सी पनि जोगाए । बिनाकुनै शर्त र सहमतिबिना नै ओलीले दुबै पद जोगाएपछि प्रचण्ड लगायतका नेताहरुलाई बेवास्ता गर्न थाले ।
यो श्रृंखला नेकपाको स्थायी कमिटी बैठक बस्ने अघिल्लो दिनसम्म चलिरहेको छ । पहिला सहमति गर्ने, निर्णय पनि गर्ने तर कार्यान्वयन गर्न फिटिक्कै रुचि नदेखाउने ओलीको बच्चैदेखिको बानी हो । उनले जसरी जति बोल्छन । त्यो काम गरेर देखाउन बिर्सन्छन । ओलीको यही वास्तविकताले नेकपाभित्र फेरि संकट गहिरिएको छ ।
एकपछि अर्को धोका !
जसरी आलोपालो सरकार चलाउने सहमति मिडियामा आइछा्ड्यो, त्यसरी नै बैशाख २० गते शनिबार राती ओली र प्रचण्डबीच भएको सहमतिको खास बुँदा पनि बाहिरिनेछ । जबसम्म त्यो बुँदा सार्वजनिक हुने छैन, तबसम्म नेकपाभित्र खटपट, विवाद, आन्तरिक संघर्ष र ओलीको मनलाग्दी पनि चलिरहनेछ ।
यसको श्रृंखला कहिलेसम्म जाने हो, त्यो एकिन छैन । तर जबसम्म बामदेव गौतमले प्रधानमन्त्री ओलीलाई साथ दिइरहन्छन, आफूमाथिको घात बिर्सदै ओलीकै गुटमा रमाउँछन । तबसम्म यो चलिरहने निश्चित छ । बामदेव गौतमको साथ पाएपछि ओली सचिवालय बैठकमा हावी देखिन थालेका छन । उनले अरु नेताहरुका कुरा सुन्न छाडेका छन । प्राय गुटमै रमाउने ओली आफु अल्पमत भएको ठाउँमा जानै चाहदैनन् ।
सचिवालयमा बल्ल बल्ल बहुमत जुटाएका ओली स्थायी कमीटि, केन्द्रिय कमिटी र संसदीय दलमा भने अल्पमतमा छन । प्रचण्ड र माधव नेपाल मिलेकाले उनी अल्पमतमा परेका हुन । यही अल्पमतले गर्दा स्थायी कमिटी बैठकले उनको राजीनामा मागेमा ओलीसँग तत्कालका लागि अर्को विकल्प छैन । ओलीको मनको चुरो डर पनि यही हो ।
स्थायी कमिटी कहिलेसम्म टार्ने ?
प्रचण्डसँग रातारात पदीय भागबण्डा गर्ने सहमति भएपनि ओली त्यो कार्यान्वयन गर्न चाहदैनन् । जसकारण उनले स्थायी कमिटी बैठक टार्देै आएका छन । नेताहरुबाट सुनिएअनुसार प्रचण्ड र माधव पक्षका स्थायी समिति सदस्यले बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने अडान छाडेका छैनन् । शीर्ष नेताको निर्देशन भएपछि शिरोधार्य गर्नु साना नेताहरुको कर्तव्य हो ।
स्थायी कमिटीका प्रभावशाली नेताहरुको यही अडानबाट डराएका ओली स्थायी कमिटी बैठकमा जानै चाहदैनन् । माधव नेपालकै बटमलाइनमा एक व्यक्ति, एक पदको एजेन्डामा प्रचण्ड पनि उभिएपछि ओलीलाई फेरि संकट आइलागेको हो । जबसम्म ओलीले यो एजेन्डालाई असफल पार्ने अर्को सुत्र फेला पार्दैनन् । तबसम्म स्थायी कमिटी बैठक अनिश्चित हुने पक्का जस्तै छ ।