काठमाडौँ : कर्णालीको हिमाली जिल्ला हो, हुम्ला । सायदै व्यक्ति हुम्ला पुग्न सक्छन् । निकै थोरै व्यक्ति सिमकोटमा काम गर्ने रहर पुरा गर्छन् । अहिलेसम्म गाडी नपुगेको, सडक सञ्जालले नछोएको जिल्ला हुम्ला हो ।
यद्यपि, नेपाली सेनाले हुम्लासम्मै सडक बनाउने कामलाई तीव्रता दिएको छ । हुम्लाका धेरै ठाउँमा सडक सञ्जाल पुगेको पनि छ । तर सदरमुकाम सिमकोटसम्म भने अझै गाडी पुग्न सकेको छैन । बाटो भने साह्रै जटिल छ ।
यस्तो अवस्थामा हुम्लाको सिमकोटबाट हेलिकोप्टर चढेर मानसरोवर जाने सपना कमैले पुरा गर्छन । चीनमै पुगेर मानसरोवर हेर्न कठिन भएपनि चीनसँगको सीमानाका पुगेर मानसरोवरको दर्शन गर्नेको संख्या बढ्दो छ ।
त्यो भन्दा रोचक त कैलाश मानसरोवर दर्शन गर्न हुम्लाको लाप्चा पुग्नेको संख्या दैनिक जस्तो उकालो लाग्दो छ । उनीहरु लाप्चा पुगेर मानसरोवरको दर्शन गरेर फर्किने गर्छन् । केही समयअघि लाप्चाबाटै सद्रगुरुले पनि मानसरोवरको दर्शन गरेका थिए ।
हुम्ला वन डिभिजन कार्यालयमा कार्यरत प्रवीण पौडेलले सिमकोटदेखि मानसरोवरसम्म भेटिएका रमणीय दृश्य आफ्नो मोबाइलमा कैद गरेर हामीमाझ बाँडेका छन् ।
ती तस्बिरबारे पौडेलले लेखेका छन्, ‘मानसरोवर कैलाश दर्शनले हृदय तृप्त भएको आभास भएको छ । लिमि लाप्चा क्षेत्रको भुबनोट, जैविक विविधता, प्राकृतिक सौन्दर्य र त्यहाँका बासिन्दाको आत्मियता पनि गज्जबको रहेछ ।’
सबै फोटो क्रेडिट : प्रविण पौडेल