हिमालय । हिमालय शब्द सुन्दा नै मन चंगा हुन्छ । मानिसहरु तनसँगै मन सफा गर्न वा सफा राखि राख्न हिमालयको यात्रा गर्ने गर्छन् । अध्यामिक चिन्तनका लागि हिमालय जाने कुरा सुन्दा मलाई पनि जाउँ जाउँ लाग्थ्यो । धेरैपछिमात्र थाहा पाएँ, जहाँ म जन्मेँ त्यो नै रहेछ, हिमालय । हिमालयको काखका रहेको डोल्पाको माझफाल मेरो जन्मस्थान हो ।
संसारको सबैभन्दा गाह्रो काम आफैलाई चिन्नु हो भनिन्छ । मलाई पनि हो जस्तै लाग्यो ।
स्कट फ्र्यान्क, मेरो अमेरिकन साथी । अमेरिकाको युटामा जन्मेको, एमआइटिबाट इन्जिनियरीङ पढेको र लामो समय हङकङमा बसेर हिमालीबासीको जीवन सहज बनाउने प्रविधिसम्बन्धी काम गर्दै आइरहेको थियो । अवाई जित्ने धेरै कामहरुमध्ये एउटा थियो, सोलार कुकर । ऊ भन्थ्यो, ‘सूर्यले दुई मिनेटमा दिने उर्जाले विश्वको मानवजातीको एक वर्षको उर्जा पुर्ति गर्न सक्छ ।’ सोचौं, एक दिनको सूर्यको शक्तिमात्र पुरापुर सदुपयोग गर्न सकिए, संसारमा पेट्रोल, डिजेल, बिजुली आदीको आवश्यकता नै पर्ने थिएन ।
संसारका सबैभन्दा महत्वपुर्ण कुराहरु निःशुल्क उपलब्ध छन् । जुन बीना मानव जाती बाँच्नै सक्दैन । जस्तो किः पानी, हावा, सूर्य ।
ऊ बारम्बार भनिरहन्थ्यो, नेपाल जस्तो देश हिमाली देशको लागि त सूर्यबाट निकालिने उर्जा, सोलार उर्जा त बरदान नै हो । तर दुर्भाग्य, त्यसको सदुपयोग गर्न सकिएको छैन । कर्णालीमा पनि सोलार टुकी वा अन्य सोलार प्यानल झुण्ड्याउने काम नभएको होइन तर सौर्य उर्जा जम्मा गरेर बत्ति दिने भाडोको अभावले दिगो रुपमा सफा उर्जाको प्रयोग गर्नबाट ठूलो समुदाय बञ्चित छ, अझैपनि ।
१० वर्षअघि सोलार कुकर नै बोकेर आयो । म र उ मिलेर काठमाडौं र चितवनमा परिक्षण ग¥यौँ । छातालाई उल्टो पारेर ठड्याउने, बीचमा भाँडो राख्ने । छाताको भित्रीभागमा रहेको टल्किने भागले छरिएको सौर्य उर्जालाई भाँडाको पिँधमा एकत्रित गर्ने । यति भएपछि दश मिनेट एक लिटर पानी उम्लिने रहेछ । बिस मिनेटमा भात पाक्ने रहेछ । आगो वा ग्यासमा पनि यही अनुपातमा नै पानी उम्लिने हो र भात पाक्ने पनि । एक पटक यो कुकर भएपछि न दाउरा बोक्ने झन्झट न त ग्याँस किन्ने नै । भारतले नाकाबन्दी गर्दा काठमाडौंमा मैले यसैको प्रयोग गरेको थिएँ ।
काठमाडौं र चितवनको परिक्षणपछि मैले स्कटलाई काठमाडौं घुमाएँ । पाटन दरबार, बसन्तपुर पछि बौद्ध गयौं । बौद्ध स्तुपाको छेउमा रहेको रुफटपमा बसेर बियर पियौं । बियरको सितलतापछि मनलाई शान्त पार्दै स्तुपा बाहिर निस्किएपछि उसले भन्यो, ‘लेट्स ह्याभ नेपाली फुड टुडे ।’
‘हँ ? नेपाली फुड ? नेपाली खाना अर्थात दालभात तरकारी ?’ मैले भनेँ ।
‘नो । भेरी स्पेशल फुड । आइ वील गीभ यू अ ट्रिट । लेट्स गो ।’
‘ओके’ भनेर मैले सहमति जनाएँ ।
के रहेछ त त्यस्तो स्पेशल नेपाली खाना ?
नेपालीलाई चाहिने भनेको ‘दालभात पावर, ट्वान्टी फोर आवर’ नै त हो ।
नेपाली खाना भातमात्रै पक्कै होइन । तर मैले अनभिज्ञता जनाउनुको कारण भनेको विदेशीले स्पेशल मानेको खाना के रहेछ भन्ने थियो । उसले भात बाहेक अर्को कुन खानालाई स्पेशल भनेको होला ?
नेपालमा १२५ जातजाती र १२३ भाषाभाषीका मान्छेहरु छन् । ती सबैको कुनै न कुनै हिसाबले आ आफ्नै परिकार पाक्छन् । यसले गर्दा नेपाली खाना भन्नाले चौरासी व्यञ्जनमात्र होइन, सयौ प्रकारका खानाहरु छन् । तर ती सबै खानाले उचित परिचय पाउन सकेका छैनन् । काठमाडौं बसेकालाई त थकाली खाना अर्थात दालभात तरकारी नै हो स्पेशल ।
जान त हामी थकाली भोजनालयमै गयौं । त्यहाँ पुगेपछि मेनुमा मलाई देखायो, फापरको ढिंडो र चिकेन करी । अनि बोल्यो, ‘दिस इज भेरी डेलिसियस् फुड । यु वान्टु ट्राई ?’
फापर त मेरो गाउँमा प्रसस्तै फल्छ । तर हामी ढिडो होइन, लगर बनाउँछौं । लगर र लाप्लो मुछिमुछि खान्छन् गाउँलेहरु । यार्चा टिप्न जाँदा बाग्लो रोटी बनाइन्छ अर्थात ढेसु । चिसोमा कयौं दिनसम्म नकुहिने र एकपटक खाएपनि दिनभर भोक नलाग्ने । विशेष खाना त हो तर मलाई कहिल्यै मन परेन ।
तितो न तितो लाग्थ्यो मलाई । मिठे फापर पनि हुन्छ, तर त्यसले पेट फुलाउने गर्छ । तितोले असर गर्दैन्, मन पर्ने मिठो पच्दैन । तर कहिल्यै फापरको ढिंडो हुन्छ भन्ने न सुनेको थिएँ न त स्वाद नै लिएको थिएँ । ढिंडो भन्ने वित्तिकै दिमागमा आउने भनेको, मकैको हो ।
फापर गाउँमा प्रशस्त फल्ने कुरा मैले उसलाई सुनाएँ । उ छक्क पर्यो । तर मन नपर्ने कुरा किन भनिराख्नु भनेर भनिन । तयार नै रहेछ, थोरै फापर बुर्काएको हुँदोरहेछ, हुन त मकैको ढिंडो नै रहेछ । काठमाडौंका मान्छेको बेच्ने काइदा गज्जब लाग्यो । विदेशी साथीले आफ्नो खाना मिठो भनेर हो वा चिकेन करीले मुख मिठ्याएको हो, मलाई ढिंडो स्वादिलो लाग्यो ।
मैले भने, ‘कुनै दिन मेरो गाउँमा गयो भने म ढिंडो बनाउँछु तिम्रो लागि ।’
उसले ‘हुन्छ’ भन्यो ।
हुन त यस अघि नै उसले डोल्पा जाने इच्छा बताइसकेको थियो । मैले मेरो घर डोल्पा हो भनेपछि इन्टरनेटमा सोधखोज गरेछ । चीनको हिमाली भेगमा काम गरेको मान्छे नेपालको हिमाली गाउँहरुमा जान रुचि भएको कुरा पटक पटक भन्थ्यो । फेरी अर्को वर्ष आउँदा उसले भनेको थियो, ‘एक दिन तेरो गाउँ जान्छुँ । त्यो मेरो सपना हो ।’
पहिला त मलाई सपना भनेको त काठमाडौं जाने वा अमेरिका जाने पो हुन्छ त, डोल्पा जाने पनि कतै सपना हुन्छ र ? भनि सोच्थेँ । संसारका कैयौँ मान्छेहरु डोल्पा घुमेर फर्केपछि लेखेका संमरण लेखहरु, उनीहरुले इन्टरनेटमा राखेका फोटो तथा भिडियोहरु हेर्दा डोल्पा यति राम्रो मानिदो रहेछ भन्ने लाग्यो ।
सन् १९७८ मा पिटर म्याथेसिनको आध्यमिक पुस्तक द स्नो लियोपार्ट र सन् १९९९ मा एरिक भ्यालीको क्याराभान फिल्मले अध्यात्मिक र कलात्मक डोल्पाको परिचयलाई बाहिरी संसारमा छर्ने काम गरेछन् । त्यसपछि मैले बुझ्न थालेँ, सपना त डोल्पा जाने पनि हुँदोरहेछ । फापरको ढिंडो खाने पनि हुँदो रहेछ ।
पछिल्ला दिनहरुमा, मैले भेटेको सयमा नब्बे जनाले या त डोल्पा पुगेको भन्न रुचाए वा कुनै दिन डोल्पा जाने सपना रहेको बताए । यसले मलाई पनि सोँच्न बाध्य बनायो । त्यही बाध्यताले मेरो भविष्य सहज बनाइदियो, त्यो सपनाको स्वर्गीय भूमिमा नै भविष्य देख्नलाई । अनि त्यसपछि मेरो पनि सोंचलाई उलटपुलट गराईदियो ।
समयक्रममा गाउँमा फल्ने अन्नबाली, फलफुल र जडीबुटी मेरा लागि प्रीय खाना र औषधीका स्रोत बने । मनैदेखि मनपर्न थाल्यो ।
जन्मले डोल्पा मेरो आफ्नो त हुँदै हो । डोल्पा मेरो पनि सपना बन्न पुग्यो । मेरो लक्ष्य बन्यो, जो डोल्पा पुग्न चाहन्छन्, र कनेक्टिभिटिको अभावका कारणले पुग्ने सकेका छैनन्, तीनलाई डोल्पा पुग्न सहज बनाउने ताकि स्वर्गीय भुमिका जन्मेका डोल्पाबासीले नरकीय जीवन जीउन नपरोस् । अनि बनोस्, डोल्पा सबैको सपनाको गन्तव्य । र स्थानियबासीका लागि पनि स्वर्ग ।
(डोल्पाको ठूलीभेरी नगरपालिकाका स्थायीबासिन्दा बोहरा कोग्ले पुस्तकका लेखक तथा सामाजिक युवा अभियान्ता हुन । बोहरा अहिले राजनीतिमा सक्रिय छन् । खासगरी डोल्पाबारे बुझाउने, बनाउने र विकास गर्ने उनको लक्ष्य छ ।)