दैलेख : दैलेखका सबै सामुदायिक विद्यालय भौतिक उपस्थितिमै पढाइ सुरु हुन थालेका छन् । महामारी कोरोनाको कारण लामो समयदेखि बन्द रहेका विद्यालय स्थानीय तहको निर्देशनपछि खुलेका हुन् । नारायण नगरपालिका र दुल्लु नगरपालिकामा भदौ २७ गतेदेखि भौतिक रुपमै खुलेका छन् । यस अघि पनि दुल्लु नगरपालिकाका केही विद्यालय खुलेका थिए ।
स्थानीय तहले कक्षाकोठा र घर आवत–जावत गर्ने समयमा पनि संक्रमणबाट जोगिने उपाय अपनाउन सुझाव दिएका छन् । स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न विद्यालयलाई सचेत बनाइएको जनप्रतिनिधिले जनाएका छन् ।
विद्यालयले पनि विद्यालयमा सेनिटाइजर, मास्कको व्यवस्था गरिएको छ । स्वास्थ्य मापदण्ड पालना, सामाजिक दुरी कायम गरी पठनपाठन सञ्चालन गरिएको दुल्लु–१० इन्द्र ज्वाला आधारभुत विद्यालय प्रधानाध्यापक गणेश रामजालीले बताए । संक्रमण फैलिने त्रासकै कारण चालु शैक्षिक सत्रको करिब ५ महिनापछि मात्रै विद्यालय पहिलो पटक खोलिएको रामजालीले बताए ।
दुल्लु नगरपालिकाले सरकारले जारी गरेको ‘स्मार्ट लकडाउन’ कार्यविधि, २०७८ र शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन ढाँचा २०७७ अनुसार कोभिड–१९ संक्रमण जोखिम नियन्त्रण सम्बन्धी मापदण्ड र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न अनुमति दिइएको जनाएको छ ।
नगर प्रमुख घनश्याम भण्डारीले संक्रमणबाट जोगिन सबै मापदण्ड पालना गरेर मात्रै विद्यालय खोल्न सूचना गरिएको बताए । उनले भने, ‘हरेक विद्यार्थी, शिक्षकले नियमित मास्क लगाउनुपर्ने, विद्यालयमा साबुनले हात धुने व्यवस्था गर्ने, सेनिटाइजर साथैमा राखेर प्रयोग गर्ने, दूरी कायम गर्ने लगायतका मापदण्डको प्रयोग गरिएको छ’ ।
यता विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको छ । सुरुको दिनमा कमैमा उपस्थिती रहेको थियो, पछि विद्यार्थीहरु पनि नियमित विद्यालय आउने गरेका छन् ।
यस्तै जिल्लाको भगवतीमाई गाउँपालिकाले भदौ १ गते देखि सामुदायिक तथा नीजि विद्यालय सञ्चालन गरिसकेको छ । गाउँपालिका भित्रका ३२ सामुदायिक विद्यालय १ संस्थागत विद्यालय गरी जम्मा ३३ विद्यालय भदौ १ गतेदेखि सञ्चालन भइरहेका छन् ।