सिमकोट : सरसफाइ मानिसको पहिचानसँग जोडिने पक्ष पनि हो । जो आफै गर्नु आवश्यक हो । तर हुम्लामा विगतदेखि सरसफाइ अरुले आएर गरि दिनुपर्ने जस्तै भएको छ । कुरा सातौ संविधान दिवस मनाउने क्रममा हुम्लामा सरसफाइ कार्य गरिएको पछि आएको हो ।
तीन दिनसम्म दिवस मनाउने सरकारको निर्णय अनुसार पहिलो दिन बजार क्षेत्रलाई सरसफाइ गरेर मनाइएको हो । बजार क्षेत्र फोहर भएको जानकारी सबैलाई थियो तर, सफाइ अभियान गर्न संविधान दिवसको अवसर पर्खनु पर्यो । आफ्नै घरआँगन पनि बिरलै सफाई गर्ने गरिन्छ । तर शनिबार अरु आएर घरधनी र भाडामा बसेका मानिस रमिते भएर बसे । अन्यले सफाई गर्नु पर्यो ।
आफ्नो घर आँगन समेत सरसफाइ कमै गर्ने परिपाटीले चिर्दै कर्णाली प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीको नेतृत्वमा बिहानैबाट बजार क्षेत्र सरसफाई अभियान सुरु गरियो । उनले सरसफाई अभियानका क्रममा घरधनी तथा व्यवसायीलाई आफ्नो घरआगन मात्र गर्न सफाई गर्न अनुरोध गरे ।
कहिलेसम्म अरु आएर बजार क्षेत्रको सरसफाई गर्ने प्रश्न गर्दै उनले सरसफाइ आफ्नै लागि मुख्य कुरा भएको कारण प्रत्येक दिन पन्ध्र मिनेट घर आँगन सरसफाइका लागि छुट्याउन अनुरोध गरेर आफै झाडो समातेर सफाई अभियानमा लागेका कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री शाहीले २०५५ सालदेखि सरसफाई अभियान गरे पनि अझै सुधार आउन नसकेको बताए ।
सिमकोटस्थित एयरपोर्ट चोकबाट सफाई अभियान भएको थियो । त्यसका लागि नेपाली सेना, प्रहरी , सशस्त्र प्रहरी, कर्मचारी र जनप्रतिनिधिहरु सहभागी भएका थिए । सरसफाईबाट निस्केको फोहोरलाई सिमकोट गाउँपालिकाले व्यवस्था गरेको ट्रयाक्टरमा ढुवानी गरेर डम्पिङ साइटसम्म लगिएको थियो ।
सरसफाइपछि बजार क्षेत्र निक्कै सफा देखिएको छ । यो अभियानमा नेता शाही, जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, प्रहरी नायब उपरिक्षक हेरम्भ शर्मा ,सशस्त्र प्रहरी नायब उपरिक्षक गेहेन्द्र भण्डारी, गुल्मपति लगाएको ठुलो संख्यामा सहभागी भएका थिए । सरसफाई अभियानमा दैनिक रुपमा सहभागी हुन माईकिङ पनि गरिएको थियो ।