बनेपाः नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको दुई दिने ‘प्रथम राष्ट्रिय सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । प्रदेश समितिले प्रेस स्वतन्त्रता, श्रमजीवीको पेशागत मुद्दा, पत्रकारिताको मर्यादा र गरिमा कायम राख्न पत्रकार स्वयं सचेत, सजग र जिम्मेवार हुनुपर्ने र विधागत रुपमा सक्रिय सञ्चारकर्मीलाई संस्थागत सहभागितालाई प्रोत्साहन गर्नुपर्नेलगायत विषयलाई उठाएको छ ।
सम्मेलनले कानुनमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान संशोधन गर्न माग गर्ने, विद्युतीय कारोबार ऐनको दफा ४७ मा रहेको प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएकाले सो दफा तत्काल संशोधन गर्न माग गरेको छ । त्यसैगरी सञ्चारकर्मीको समस्यामा सहजीकरण र आचारसंहिता पालनामा अभिभावकीय भूमिका निभाउनुपर्ने नेपाल प्रेस काउन्सिल नियन्त्रणमुखी बन्दै गएकाले महासङ्घका तर्फबाट काउन्सिलमा प्रतिनिधित्व हुने भएकाले यस पक्षमा काउन्सिललाई सच्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्न महासङ्घको ध्यानाकर्षण गराउने घोषणापत्रमा उल्लेख गरिएको छ ।
महासङ्घ श्रमजीवी सञ्चारकर्मीको छाता सङ्गठन भएकाले श्रमजीवीको पेशागत मुद्दाको सम्बोधनको दायित्व पनि यसैको भएकाले श्रमसम्बन्धी कानुनी प्रावधान र सञ्चालक र श्रमजीवीबीच हुनसक्ने वैधानिक छलफल, आन्दोलन र सहमतिका लागि श्रम ऐनअनुसार दर्ता भएको संस्थाले कानुनी बैधता र अधिकार पाउने तर महासङ्घ श्रम ऐनअनुसार दर्ता भएको संस्था नभएकाले केवल दबाब समूहको रुपमा मात्र काम गर्न बाध्य भएको विश्लेषण गरिएको छ ।
श्रमजीवी सञ्चारकर्मीको श्रमसम्बन्धी मुद्दालाई कानुनी रुपमै उठाउन महासङ्घ श्रम ऐनअन्तर्गत दर्ता हुन यो राष्ट्रिय सम्मेलन माग गर्ने र पत्रकार महासङ्घको विधानअनुसार संरचना महासङ्घीय अवधारणाअनुसार नभएकाले विधान संशोधनमार्फत पूर्ण महासङ्घीय अवधारणा कार्यान्वयनमा ल्याउन विधान अधिवेशनमा विधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको छ ।
महासङ्घको विधानलाई परिमार्जन गरेर भौगोलिक, प्रतिष्ठानसँगै एशोसिएट संस्थाको नेतृत्वको अवसरको सुनिश्चितता र अवसर निर्माणमा महासङ्घ उद्धार हुन आवश्यक देखिएकाले यसका लागि अहिले विद्यमान नेतृत्व संरचनामा एशोसिएट उपाध्यक्षको प्रतिनिधित्व गराउनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
एशोसिएट संस्थाका प्रतिनिधिको नेतृत्व विकास तथा मुद्दामा नीतिगत नेतृत्वका लागि एशोसिएटका प्रतिनिधिबाट केन्द्रीय सदस्य र सचिवसँगै उपाध्यक्ष, पदमा उम्मेदवारी हुने र एशोसिएटकै प्रतिनिधिको मतले निर्वाचित हुने व्यवस्था गर्न सम्मेलनले माग गरेको छ ।
त्यसैगरी पत्रकारिताको मर्यादा र गरिमा कायम राख्न पत्रकार स्वयं सचेत, सजग र जिम्मेवार हुनु आवश्यक रहेकाले राजनीतिक दलमा प्रत्यक्ष आबद्धप्रति महासङ्घको विधान कठोर भए पनि व्यवहार भने नरम देखिएकाले औपचारिक रुपमा राजनीतिक दलमा आबद्ध भएका र राजनीतिक नियुक्ति लिएका सदस्यलाई ससम्मान बिदाइलाई कडाइका साथ कार्यान्वय गर्नुपर्नेमा जोड दिइएको छ ।
पत्रकार महासङ्घसँग आबद्ध संस्थाको सङ्ख्या १२ पुगेको र महासङ्घमा जबसम्म विधागत संस्थाको सङ्ख्या बढ्न सक्दैन तबसम्म महासङ्घलाई पूर्ण महासङ्घीय अवधारणामा लैजाने विषयमा एशोसिएट कमजोर हुने सम्मेलनले निस्कर्ष निकालेको छ ।
व्यावसायिक पत्रकारितामा विधागत रुपमा सक्रिय सञ्चारकर्मीलाई संस्थागत सहभागितालाई प्रोत्साहन गर्ने तथा विधागत रुपमा सक्रिय संस्थालाई महासङ्घमा आबद्ध हुन प्रोत्साहित गर्न पहल गर्नुपर्ने कुरालाई जोडदारका साथ उठाएको छ । पत्रकारको क्षमता विकास र व्यावसायिक पत्रकारिताको विकास गर्न महासङ्घ आबद्ध पत्रकारलाई आवश्यकता र औचित्यको आधारमा निरन्तर पत्रकारिता तालिम सञ्चालन गर्नुपर्नेलगायत विषयलाई ध्यानमा राखेको छ । रासस