जुम्ला : चन्दननाथ नगरपालिका–४ मालाभिड माथिल्लो बस्तीका ३५ घरधुरीलाई खानेपानीको हाहाकार भएको छ । मालाभिडका स्थानीयलाई विहान बेलुका पानीको जोहो गर्न गाह्रो हुने गरेको छ ।
मालाभिड खलंगा बजार क्षेत्रमा पर्छ । मालाभिडको माथिल्लो भेगका लागि खानेपानी ट्याङकी पनि बनेको छ । तर, प्रयोगमा छैन । त्यो ट्याङकीसम्म पाइप लाइन ल्याउन ५ लाख र १० ट्याङकी निर्माण गरी १५ लाख बजेट सकियो ।
वर्षेनी राज्यको लगानीमा खानेपानीका संरचना बने तर, प्रयोगविहीन भएका छन् । बजेट मात्रै खर्च हुने गरेको स्थानीय गणेश पण्डितले बताए । उनले भने, ‘उपभोत्ता समितिले हचुवाको भरमा बजेट खर्च गरेर संरचना निर्माण गरेका गरेका छन् । यसले गर्दा ट्याङकीमा पानी छैन । पानी ल्याउन ठाउँ ठाउँ जान बाध्य भएका छौं ’
जुम्ला सदरमुकाम खलंगाको मालाभिड एक प्रतिनिधि मात्रै हो । चन्दननाथ नगरपालिका– १० वडामा विभाजित छ । ४ हजार २७१ घरधुरीका २० हजार ८८४ जनसंख्या रहेको छ । एक हजार ६ सय घरधुरीमा खानेपानीका जडान छन् । यस नगरपालिकाका १० वडा मध्ये, १, ४, ५, ६ र ७ वडाका केही गाउँमा खानेपानी धारा सञ्चालनमा छन् ।
अहिले पनि ७०/८० निवेदन खानेपानी धारा जडानका लागि खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले खलंगामा आएका छन । तर, धारा जडान हुन सकेका छैनन । खलंगामा अहिले तीव्र गतिमा जनसंख्या वृद्धि हुँदै गएको छ । वर्षेनी एक सय भन्दा बढी घर निर्माण हुने गरेका छन् । सबै घरधुरीमा खानेपानी प्राप्त मात्रमा पुर्याउने उद्देश्यकका साथ खानेपानीका ट्याङकी निर्माण भएपनि अहिले कतिपय ट्याङकी प्रयोगविहिन भएका छन्
।
तिला नदीको धमिलो पानी पिउँदै स्थानीय
जुम्ला सदरमुकाम खलंगामा खानेपानी नपुगेर तिला नदीको पानी खाने गरेका धर्मराज बोहरा भन्छन्, ‘ हामी खानेपानी अभावले भौतारिएका छौं । नदीको पानी खान बाध्य भएका छौं । तर, करोडौँ रकम खर्च गरेर फिल्टर ट्याङकी बन्दै छ । बर्खाको समयमा नदीकै धमिलो पानी खाने गरेका छौं । हामीलाई त्यो फिल्टर ट्याङकीले कुनै अर्थ राखेको छैन ।’
यस्तै वर्षौ निर्माण गर्न थालिएका ठिन्केस्थित पानी फिल्टर ट्याङकी अहिलेसम्म प्रयोगविहीन भएको छ । ट्याङकी प्रयोगमा नआउँदै जीर्ण बन्दै गएको छ । जुम्लामा खानेपानीको क्षमता कम भएकाले बजारका सबै घरमा पानी कम पुग्ने गरेको छ ।
संघीयतापछि खानेपानी कार्यालय फेरबदल र बजेट अभावका कारण यस्तो समस्या आएको खानेपानी उपभोक्ता समिति जुम्लाले जनाएको छ । बजेट अभावको बहाना देखाए पनि फिल्टर ट्याङकी निर्माण भनेर वर्षेनी राज्यको लगानी गर्ने गरेको छ । यता खानेपानी कार्यालय जुम्लाका सव–इन्जिनियर प्रकाश परियार भन्छन्, ‘खानेपानीका संरचना बनेका छन् । यो वर्ष ९० प्रतिशत काम सम्पन्न गर्ने योजना बनाएका छौं । जनशक्तिको पनि अभाव भएकोले कार्यसम्पादनमा समस्या भएको हो ।
‘अर्को कुरा फिल्टर ट्याङकी नयाँ आयोजना भएकोले पनि विज्ञको सल्लाहमा काम गर्ने तयारी गरेका छौँ’ उनले थपे, ‘ फिल्टर ट्याङकीको लागि बजेट आउँछ , हामी खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिलाई सम्झौता गरेर काम गर्न दिन्छौं । उनीहरुले काम कसरी गराए । भन्ने विषयमा थाहा हुँदैन । यो योजना पुरानै हो । खानेपानी कार्यालय हुँदादेखिकै हुँदा खर्चको विवरण एकिन थाहा भएन’ ।
तर, यसको २ कारोड ५७ खाख ६८ हजार, ४सय ९१ रुपैया रहेको कार्यालयले जनाएको छ । उनका अनुसार फिल्टर ट्याङकीमा पानी फिल्टर गर्नका लागि चाहिने गिट्टी र बालुवा जुम्ला नपाइने भएकाले दाङदेखि ल्याउनु पर्ने हुनाले काममा ढिला भएको कार्यालयले जनाएको छ ।
खलंगा खानेपानी उपभोक्त समिति जुम्लाका महासचिव मीनबहादुर थापाले प्राप्त खानेपानीका लागि ट्याङकीका संचना बनेको बताए । उनले भने, ‘४ लाख लिटर क्षमताको ट्याङकी बनेपनि मुल पाइप लाइनका काम बाँकी रहेको छ ।’
उनका अनुसार यो आर्थिक बर्षमा काम सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ । हचुवाको भरमा योजना छनोट हुने गर्दा प्रगति शून्य रहेको छ । त्यसको प्रभाव र आवश्यकताको विश्लेषण नगरी योजना छनोट गर्दा कार्यान्वयनमा समस्या भएको छ ।