मुगु : मुगुको पूर्वी करान क्षेत्रमा पर्ने मुगूम कार्मारोङ गाउँपालिका– ८ माग्री गाउँमा २०५८ सालतिर एक विद्युत योजना सुरु भयो । माओवादी युद्धको समय हुँदा सरकारका काम कार्यहरु माओवादीले अवरोध गरिरहेको थियो, उक्त आयोजना पनि तत्कालिन अवरोध गरेको थियो ।
माओवादीले अवरोध गरेको विद्युत आयोजना अहिलेसम्म निर्माण हुन सकेको छैन । योजना सुरु भएको २० वर्ष वित्यो, अहिलेसम्म निर्माण भएको छैन । माग्रीबासी अँधेरोमा बस्न बाध्य भएका छन् ।
यो जलविद्युत आयोजनाबाट २५ किलोवाट क्षमता भएको विद्युत उत्पादन गरेर साविकको माग्री गाबिस माग्री गाँउ, मह गाँउका ३ सय भन्दा बढी घरधुरीलाई विद्युतको पहुँचमा जोड्नु थियो । तर, आयोजना करोडौं रकम हिनामिना भइसकेको छ । विद्युत आयोजना भने, वर्षौदेखि अलपत्र परेको हो ।
साविकको जिल्ला विकास समितिको कार्यालय मुगु अन्तर्गत दुर्गम विकास क्षेत्रबाट सञ्चालित यस च्याप्नेगाढ साना जलविद्युत आयोजनाको जिम्मा पाएको राधा कन्ट्रक्सनले ५८ लाखमा ठेक्का लिएको थियो ।
ठेकेदारले मेकानिकल पाटो सामान खरिद गरेर आयोजना स्थल पुर्याउनु पर्ने र अन्य ढुङगा, माटो लगायत नहर बनाउने मर्मत उपभोक्ता समितीबाट गर्ने भनियो । तर, प्राविधिक हिसाबले डिजाइन अनुसार काम सम्पन्न भइ पावरहाउसमा बत्ती बाले जस्तै गरियो ।
मह, माग्री गाउँमा बतीले झिलीमिली भइसकेका, दुर्गम विकास क्षेत्रले जिल्लाबाट प्रतिवेदन दिइनै सके । कागजी रुपमा सम्पन्न काम भयो । रिपोर्ट साविकको गाविस अन्तर्गत दुर्गम विकास क्षेत्रबाट रिपोर्ट पास भयो । तर, अहिलेसम्म विद्युत बलेको छैन ।
केही काम नभएको विगतका उपभोक्ता समितिका अध्यक्ष राप्क्या लामाले काम नगरेको र विद्युत आयोजनाको जिम्मा पाएको राधा कन्ट्रक्सनले कुनै काम नगरेको, सामान आयोजना सथलसम्म नपुर्याएको विद्युत समितिका हालका अध्यक्ष सोनाम लामाले बताए ।
उनले भने, ‘पुनः नयाँ समिति गठन गरी काम भइरहेको छ । पछिल्लो समयमा विद्युत निर्माणका लागि विभिन्न दाताहरुको खोजी भइरहेको छ । ’
२०५८ सालबाट यस आयोजना बनाउनको लागि धेरै समिति हेरफेर भइसकेका छन् । तर, विद्युत भने निर्माण भएको छैन । विद्युत निर्माणको लागि भएको खर्च २६,लाख दुर्गम विकास कोष, साविकको माग्री गाविस – ५ देखि ९ वडासम्म लक्षित गरेर कार्यक्रम तय गरियो ।
उक्त कार्यक्रमको ८ लाख ९० हजार,नेपाल जलवायू परिवर्तन कार्यक्रमको ९ लाख १० हजार, संसद विकास कोष लगायत अन्य विभिन्न निकायको सहयोग गरेर ५० लाख र गमगाढ साना जलविद्युत आयोजनाको २० लाख रकम गरी १ करोड १४ लाख भन्दा बढी रकम खचए भइसकेको छ । तर, आयोजना अलपत्रमै छ ।
गएको वर्ष विद्युत आयोजनाको पावरहाउसमा केही दिन विद्युत बल्यो । तर, माग्री गाउँमा विद्युत आएको छैन । यता च्याप्नागाड जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष सोनाम छिरिङ्ग लामाका अनुसार आर्थिक अभावका कारण हालसम्म विद्युत बल्न नसकेको बताए । स्थानीय सरकार मुगुम कार्मारोगं गाउँपालिकाले नगरेको उनले बताए ।
लामाले भने, ‘हाम्रो नजिकको सरकार स्थानीय सरकार हो, गाउँपालिकाको आशामै थियौं, केही सहयोग गरेको भए विद्युत बल्ने सम्भावना छ । आयोजनाको नाममा आएका विद्युतका पोल, अन्य अलपत्रमै छन् । उक्त सागम्रीलाई खरिद गर्न सकेका छैनौं ’ ।
उक्त गाउँमा विद्युत नहुँदा बालबालिकालाई पठनपाठनमा समेत प्रभाव परिरहेको छ । वृद्धवृद्धाहरु सधैं अँधेरोमा बस्न बाध्य भएका छन् । पोलको लागि गमगगाड साना जलविद्युत आयोजना मुगुले २ वर्ष अगाडी २० लाखमा ठेक्का गरेर स्थानीय ठेकेदारले ठेक्का लिएको पोलहरु आयोजना स्थलमा नपुगेको अध्यक्ष लामाले बताए ।
यस माग्री गाँउका स्थानीयका अनुसार पहिले अध्यक्ष राप्क्या लामा हुन् । युद्धको बेला माओवादीले अवरोेध गरेको थियो । त्यतिबेलाबाट आयोजना पछि परेको हो । अहिलेसम्म विद्युत आएको छैन । दशैमा विद्युत बाल्ने पक्का हो भन्ने तर, कहिल्यै नबाल्ने गरेको स्थानीयले गुनासो पोखे ।
आयोजना अलपत्र पर्नुको कारण सरकार, ठेकेदार, उपभोक्ता समितिले अहिलेसम्म सरोकारवाला निकायहरु चुप रहेको स्थानीयले छिरिङ टुङडुङ लामाले बताए ।
विद्युत बाल्ने आशा देखाए, तर विद्युत बल्न नपाउँदा बालबालिकालाई पठनपाठनमा समेत प्रभाव परिरहेको ५६ वर्षका छेवाङ्ग दोजे लामाले बताए । यो च्पाप्नोगाढ साना जलविद्युत आयोजना काम सुरु भएको २० वर्ष वित्यो । कुनै पनि काम सम्पन्न भएको छैन राज्यको केही लगानी बालुवामा पानी हाले जस्तै भएको छ ।