हुम्ला : हिमाली जिल्ला पहिलो पटक कोरोना मुक्त भएको छ । नयाँ क्रङ्क्रमित नदेखिएका र आइसोलेशनमा भएका सबै संङ्क्रमित निको भएर घर फर्किएपछि जिल्ला कोरोना मुक्त भएको हो ।
स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी भक्ति फडेराले कोरोनाको दोस्रो लहर सुरु भए यता जिल्ला पहिलो पटक कोरोना मुक्त भएको बताए ।
उनका अनुसार सातवटै गाउँपालिकामा स्थापना गरिएका होम आइसोलेशन र आइसोलशन तथा रानीवनको आइसोलशनमा भएका संक्रमित निको भएर घर फिर्ता हुँदा आइसोलेसन केन्द्र शुन्य भएको हो ।
उनले जिल्लाभरि कोरोना लक्षणसँग मिल्ने बिरामी कोही पनि नदेखिएको कारण परिक्षण कार्य पनि घटेको बताए । आवश्यक किट र उपकरण प्रयाप्त भएकोले जतिखेर पनि परिक्षण गर्न सकिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । केहीको परिक्षण गरिए पनि संङ्क्रमित नदेखिएको जिल्ला अस्पतालले जनाएको छ ।
सातवटै गाउँपालिका र जिल्ला अस्पतालको आइसोलेशनमा छ जना संङ्क्रमित रहँदै आएका सबै जना अइतबार बेलुका निको भएर घर फर्केपछि जिल्ला कोरोना मुक्त भएको फडेराले बताए ।
संङ्क्रमित नभएपछि सबैतिर स्थापना गरिएका आइसोलेशन खाली रहेका छन् । जिल्लाभरि कुल तीन हजार १३० जनाको कोरोना परिक्षण गर्दा ३९९ जनामा कोरोना देखिएकोमा ३९४ जना निको भएर घर फिर्ता भएको र पाँच जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा अस्पतालमा एक जना, मृत्युपश्चात सिमकोट गाउँपालिकामा दुई जनामा कोरोना देखिएको थियो । त्यसैगरि सर्केगार्ड र चंखेलीमा एक–एक जनाको मृत्यु भएको थियो ।
गाउँपालिकाकाअनुसार कोरोना संङ्क्रमित हुने संख्यामा नाम्खामा १४, खार्पुनाथमा ५७, सर्केगार्डमा ६३, चंखेलीमा ५२, अदानचुलीमा ५६, ताँजाकोटमा ३७, सिमकोटमा नौ र जिल्ला अस्पतालमा १११ जनामा कोरोना देखिएको थियो । संक्रमित मध्ये दुई जनालाई हेलिकोप्टर चार्टड गरी उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको थियो ।