खलंगा : सार्वजनिक स्थान महिलामैत्री बनाउन अनेमसंघ क्रान्तिकारी जुम्लाले माग गरेको छ । नेकपा माओवादी पार्टी निकट नगरपालिका स्तरीय अखिल नेपाल महिला संघले (क्रान्तिकारी) चन्दननाथ नगरपालिका जुम्लासँग माग गरेको हो ।
अनेमसंघका नगर स्तरीय पदाधिकारीले निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापालाई ११ बुँदे ज्ञापन पत्र बुझाएर सार्वजनिक स्थान महिलामैत्री बनाउन माग गरेका हुन् ।
त्यस्तै स्वास्थ्य संस्था, अस्पताल, शिक्षण संस्था जस्ता सार्वजनिक सेवा प्रदायक निकाय वरिपरी निश्चित दुरीसम्म धूम्रपान, मद्यपान, जुवातास निषेधित क्षेत्र घोषणा गर्न माग समेत गरेका छन् ।
उनीहरुले माध्यामिक तहसम्म किशोरीमैत्री वातावरण बनाउन आराम कक्ष, शौचालय व्यवस्थान, स्यानिटरी प्याडको सहज व्यवस्थान गर्न माग समेत गरेका छन् ।
चन्दननाथ नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयमा एक जना नर्सको व्यवस्था, आमाको नाममा नागरिकता वितरण, छोरा सरह छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकार, स्थानीय तहमा सेफ हाउस, गर्भवतीलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था गरिनुपर्ने माग रहेको नगर संयोजक छिरिङ ल्यामु लामाले बताइन् ।
हिंसा पीडित महिलाहरुको लागि न्यायिक समितिमार्फत तत्काल न्याय दिने व्यवस्था हुनेपर्ने, छोरीको लागि जन्मेपछि खाताको व्यवस्था र माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षाको हुनुपर्ने माग गरिएको अनेमसंघ नगर अध्यक्ष चन्द्रवती उपाध्यायले बताइन् । उनले भनिन्, ‘महिला हकहित र अधिकारको लागि संघर्ष गर्दै आएका छौँ । ’
यस्तै विषय बस्तुलाई लिएर गाउँ टोलमा अभियान सञ्चालन गरिएको अनेमसंघ क्रान्तिकारी जुम्लाले जनाएको छ । जुम्लामा महिलाले दैनिक भोग्दै आएका हिंसाबाट मुक्ति पाउन सकेको छैनन । महिला हुने विकृतिलाई राक्ने कार्य गर्न समेत विभिन्न पालिकाका न्यायिक समिति प्रशासक समक्ष ध्यानकर्षण गराएको हो ।
धेरै महिला हिंसाका कुरा सामाजिक लाजले बाहिर नआउने जनाउँदै अब त्यस्ता कुरा सरोकारवाला निकायमा पुर्याउन समेत उनले आग्रह गरेकी छन् ।
पहिलो चरणमा जिल्लामा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरेको संघले असोज ६ गते जिल्लाका सात वटै गाउँपालिकामा उक्त ज्ञापन पत्र पेश गर्ने जनाएको छ । ज्ञापन पत्र पेश गर्ने कार्यक्रम संघकी केन्द्रीय सदस्य जुम्कित लामाको पनि सहभागिता रहेको थियो ।