दुल्लु : दैलेखमा इसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित भएका छन् । जिल्लाको नारायण नगरपालिकाले संघीय सरकारले घोषणा गरे बमोजिम इसीडी शिक्षक र कर्मचारीको पारिश्रमिक वृद्धि नगरेपछि शिक्षक र कर्मचारीहरु आन्दोलित भएका हुन् ।
नगरपालिका अन्तर्गतका ३७ वटा प्रारम्भिक बाल विकास सहजकर्ता (इसीडी शिक्षक)का ३७ जना, ४१ जना कर्मचारी (विद्यालयका कार्यालय सहयोगी) र ९ जना लेखापाल आन्दोलित भएका हुन् । आन्दोलित इसीडी शिक्षक, कर्मचारीहरुले नगरपालिकाका मेयरलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
नारायण नगरपालिका–१ त्रिभुवन माविकी इसीडी शिक्षक ज्ञानु विकले संघीय सरकारले तोके अनुसार नगरपालिकाले पारिश्रमिक व्यवस्थापन नगरेपछि आन्दोलनमा कायम राख्ने बताइन् । ‘हामीले हालसम्म ६ हजार रुपैयाँ पारिश्रमिक पाउने गरेका थियौं, हाल संघीय सरकारले बजेटमै १५ हजार पुर्याउने घोषणा गरेको थियो’ विकले भनिन्, ‘‘संघीय सरकारले २ हजार थप गर्ने र ७ हजार स्थानीय सरकारले उपलब्ध गराउने भनिएको थियो तर नगरपालिकाले ३ हजार रुपैयाँ मात्रै दिने भनेपछि हामी अन्यायमा परेका छौंं । ’ संघीय सरकारले घोषणा गरेअनुसार नगरपालिकाले पारिश्रमिक नदिएसम्म आन्दोलन नरोकिने इसीडी शिक्षकको दाबी छ ।
नगरपालिकाका मेयर रत्नबहादुर खड्काले नगरकार्यपालिकाले नै इसीडी शिक्षक र विद्यालयका कर्मचारीहरुको पारिश्रमिकमा ३ हजार रुपैयाँ थप गर्ने निर्णय गरेको बताए । । ‘प्रारम्भिक बाल विकास सहजकर्ता (इसीडी शिक्षक) र कर्मचारीको पारिश्रमिक वृद्धि गर्नका लागि नगरपालिका गम्भीर रहेको छ’, ‘मेयर खड्काले भने ‘नगरपालिकामा बजेट अभावका कारण ७ हजार रुपैयाँ थप गर्न सकेका छैनौँ ।’ इसीडी शिक्षक र कर्मचारीको पारिश्रमिक वृद्धिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बजेट माग गरी पठाएको र मन्त्रालयबाट पनि बजेट व्यवस्था नभए नगरपालिकाले योजना कटाएर भएपनि पारिश्रमिक वृद्ध गरिने मेयर खड्काको भनाइ छ ।
ईसीडी शिक्षकहरुले हालसम्म संघीय सरकारबाट मासिक ६ हजारमात्रै पारिश्रमिक पाउँछन् । चालु आर्थिक बर्षको बजेटमा दुई हजार संघीय सरकारले थप गर्ने र अन्य रकम पालिकाहरूले उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको थियो ।