भीमदत्तनगर, २६ बैशाख । कोरोना परिक्षणको लागि आवश्यक पर्ने किटको अभाव भएपछि सुदुरपश्चिममा कोरोना परिक्षण रोकिएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीपीसीआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शंकास्पद बिरामीको कोरोना परीक्षण रोकिएको हो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट परीक्षणका लागि आवश्यक किट पठाउने कुरो छ,’ उनले भने, ‘आज रातिसम्म आइपुग्ने अनुमान छ ।’
किट अभावकै कारण धनगढीस्थित पशुपक्षी अन्वेषण प्रयोगशालामा केही समयअघि स्थापना गरिएको आरटी–पिसिआर मेसिनबाट कोरोना परीक्षण हुँदै आएको थियो । ‘किट अभावका कारण प्रयोगशालामा ल्याइएका ५५ वटा स्वाबको नमूना जाँचसमेत हुन सकेको छैन,’ सम्पर्क व्यक्ति जोशीले भने, ‘हाल सुदूरपश्चिम प्रदेशमा पिसिआर प्रविधिबाट धनगढीमा मात्रै परीक्षण हुँदै आएको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसिआर मेसिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो । ‘पहाडका ती दुई जिल्लामा सम्भाव्यता अध्ययनको काम सकिएको छ,’ उनले भने, ‘प्रदेश सरकारले त्यहाँबाट पनि जाँच गर्ने गृहकार्य गरेको छ ।’ बिहीबारसम्म सुदूरपश्चिममा दुई हजार ९२३ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । तीमध्ये ५ जनाको नतिजा पोजेटिभ र बाँकी सबैको नतिजा नेगेटिभ आएको थियो । संक्रमित ५ मध्ये ४ जना निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ ।
‘परीक्षणका लागि यसअघि सुदूरपश्चिमा एक हजार किट केन्द्रबाट आएको थियो,’ जोशीले भने, ‘अहिले अरू स्वास्थ्य सामग्रीको अभाव छैन ।’
उनले मास्क, पिपिइलगायत स्वास्थ्य सामग्री मौज्दात रहेको बताए । ‘१४ दिनपछि क्वारेन्टाइन बसेपछि कोरोना जाँच गर्ने निर्देशिकामा भनिएको छ,’ उनले भने, ‘किट नहुँदा समस्या भएको छ ।’
किट अभाव हुँदा परीक्षणदेखि नमूना सङकलनको कामसमेत प्रभावित बन्न पुगेको छ । पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पिसिआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ ।
सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसिआर र र्यापिड टेष्टबाट हालसम्म १७ हजार ५२४ जनाको कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा बिहीबारसम्म तीन हजार ३७४ जना बसिरहेको निर्देशनालयले जनाएको छ ।