सिमकोट : हुम्लामा जनगणनाका लागि खटिएका सुपरिवेक्षक गाउँपालिकाका प्रत्येक वडा वडामा पुगेर काम सुरु गर्नु भएको छ । जनगणना कार्य सुरु हुने भएपछि जिल्लामा स्थापना भएको कार्यालयसँगको अभिमुखिकरण कार्यक्रम पछि उनीहरु वडामा पुगेर काममा खटिनु भएको हो ।
अदानचुली गाउँपालिका– २ नम्बर वडाको काम गर्ने जिम्मेवारी पाउन भएका सुपरिवेक्षक परबहादुर बुढाले जनगणनाका कामका लागि वडामा पुगेर काम समेत सुरु गरिएको बताए । भदौ ३० गतेबाट असोज १८ गतेसम्म २० दिनका लागि काम गर्ने जिम्मेवारी पाएका उनले प्रत्येक घरधुरीमा पुग्ने बताउँदै २० प्रतिशत काम पुरा गरेको जानकारी दिए ।
कोरोनाको कारण रोकिएको जनगणनाको पहिलो चरणको काम सुरुवात भएको बताउँदै जिल्ला जगनणना अधिकारी बिनोद भट्टले अब गाउँतर्फ लागेका सुपरिवेक्षक २० दिन वडामा रहेर काम गर्ने जनाए । सुपरिवेक्षक प्रत्येक घरधुरीमा आउने र विवरण लिने काम सुरु भएको बताउँदै यसका लागि आफ्नो सत्य तथ्य सुचना दिन सबैलाई आग्रह कार्यालयले गरेको छ ।
हुम्ला जिल्लाका सात वटा गाउँपालिकाका ४४ वटा वडाका लागि २३ जना सुपरिवेक्षक खटिएका छन् । भौगोलिक दुरी र वडामा रहेको बस्ती हेरि एक जना सुपरिवेक्षकलाई एक देखि तीन वटा वडाको काम गर्ने जिम्मेवारी दिइएको छ । वडा वडामा काम गर्न खटिएका सुपरिवेक्षकले फारम अनुसारको विवरण संकलन गर्नेछन् ।
सो क्रममा सुपरिवेक्षकले प्रत्येक घरधुरीको सुचिकृत गर्ने कार्य गर्नेछन् । त्यसमा सुपरिवेक्षकले घरधुरीको विवरण, कृषि र पशु पालनको विवरण संकलन गर्नेछन् । त्योसँग सबै घरधुरीलाई अनुरोध पत्र समेत प्रदान गर्न थालिएका छ ।
कार्यालयले सम्वन्धित गाउँपालिका र वडा कार्यालयहरुले आफ्नोतर्फबाट खटिएका सुपरिवेक्षकलाई सहयोग गर्न पनि अनुरोध गरेको छ । २०६८ सालको जनगणना अनुसार हुम्ला जिल्लाको घरधुरी संख्या ९ हजार रहेको छ । अब मुख्य गणना गर्न गणकहरु कार्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म सबै घरधुरीमा पुगेर विवरण संकलन गर्ने कार्यालयले जनाएको छ । यसका लागि ७० भन्दाबढी गणक परिचालन गर्ने तयारी कार्यालयले गरेको छ ।