जुम्ला : यतिबेला जुम्ली कृषकलाई भालुबाट मकै कसरी जोगाउने चिन्तामा परेका छन् । भालु भगाएर मकै जोगाउनका लागि रातभर जाग्राम बस्न थालेका छन् । मकै बारीमा लगाएको मकै बाली भालुले सखाप पार्न थालेपछि जाग्राम बस्न बाध्य भएको तिला गाउँपालिका – ६ ६ रिपी गाउँका नरिमान रावतले बताए । उनले भने, ‘भालुले मकै सखाप पार्न थालेपछि हाम्रो परिवार लगायत छिमेकीहरु पनि जाग्राम बस्न थालेका छन् ’ ।
‘हाम्रो मुख्य बाली मकै हो । मकै बढी उत्पादन भएको खण्डमा खानाको समस्या हुँदैन । यहीं मकै भालुले सखाप पार्न थालेपछि चिन्तित भएका छौं’ उनले थपे, ‘भालु भगाउनको लागि हरेक बारीमा तर्साउने बस्तु राखेका छौं । ’
भालु आउने बाटो पहिचान गरेर पासो थाप्नेदेखि भाँडाकुँडा बजाएर भगाउने कार्य चलिरहेको स्थानीय बताउँछन् । कहिले थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास जारी नै छ, स्थानीयले भने, ‘भालु नियन्त्रणमा लिन सकिने अवस्था छैन । बारीमा एक्लै हिँड्न समेत सकस हुने गरेको छ । एक त अन्नबाली उत्पादन कम हुन्छ, । त्यसमा पनि भालुले सखाप पारिदिन्छ ।’
अधिकांश किसानले खेतबारी वरिपरी मान्छे जस्तै तर्साउने बस्तु बनाएर राख्ने गरेका छन् । दिउँसो मानिसको व्यापक चहलपहल हुने भएकोले भालु बारीमा पस्न डराउने गरेको छ । तर, रातिको समयमा बारी पस्ने गरेको छ । बारीमा कुकुर बाँधेर राख्ने, मकैबारीमा पाल टाँगेर बस्ने गरिएको छ । अहिले जुम्ली किसान मकै कसरी बचाउने चिन्तामा परेका छन् ।
जुम्ली किसानलाई भालु भगाउने समस्या यो पहिलो होइन वर्षेनी यस्तै भालुले बालीमा नोक्सानी पुर्याउने गरेको किसान गुनासो गर्छन् । अहिले जिल्लाभर भालुको बिगविगी बढेको छ । यहाँका स्याउ बगैँचा, मौरीको घारदेखि मकैबालीमा भालुले आतंक नै फैलाएको छ ।