काठमाडौँ : दलितभित्रको पनि दलित तथा पिछडिएको गन्धर्व समुदायको बारेमा लेखिएको अनुसन्धानमुलक पुस्तक तयार भएको छ । झण्डै तीन वर्ष लगाएर लेखक डीबी नेपाली, दीपक गन्धर्व र डा.गोविन्द नेपालीले गन्धर्व समूदायको सभ्यताका बारेमा पुस्तक लेखेका हुन् ।
यो पुस्तक असोज तेस्रो हप्तातिर विमोचन गर्ने तयारी छ । अनुसन्धानका लागि गन्धर्व समूदायमा पुगेका नेपालीद्धयले यो पुस्तक सार्वजनिक गर्ने तयारी गरेका हुन् । गन्धर्व समूदायबारे निकै कम अध्ययन, अनुसन्धान भएकामा यो पुस्तक यसबारे ऐतिहासिक बन्ने लेखकहरुको भनाइ छ ।
पुस्तकबारे लेखक डिबी नेपालीको भनाइ उनकै शब्दमा
यहाँहरूलाई अचम्म लाग्न सक्छ । हामीले जन्माएको मानव बच्चा होइन । लेखन बच्चा अर्थात् पुस्तक जन्मिएको छ । लगातार पुस्तक लेखनको तीन वर्षलाई हामीले बच्चाको संज्ञा दिएका हौ । जसरी एउटी महिलाले पेटमा बच्चा आएदेखि सकुशल जन्मिएर छातीमाथि नराख्दासम्म खुशी अनुभूति गर्दिनन्, पेटमा बच्चा हुर्काइको चरणमा पाएका अकल्पनीय भोगाइ, दुखाई सारा बिर्सन्छिन ।
ठिक त्यसैगरी पुस्तक लेखनदेखि आजको दिनसम्मको तितो, मिठो, पिरो, गुलियो अमिलो सारा हैरानी, पीडा भोगाइ बिर्साएको छ । पुस्तक लेखनका क्रममा धेरै रात छट्पटी र निद्रा लागेको छैन । किनकि कोरोना महामारीको समयमा आफ्नै समकालीन मित्रहरू धेरैलाई गुमाइयो ।
कथंकदाचित आफूलाई नै केही भइहालेमा पुस्तक लेखन पूरा नहुने चिन्ताले निकै सताएको थियो । कति रात त आफ्ना पितापूर्खा, मान्ने परमेश्वर सम्झेर रूएका छौ । जे होस, दिन बलियो नै रहेछ भनौ । नयाँ पुस्तक अथवा बच्चा सकुशल जन्मिएको छ ।
नेपालका लेखक इतिहासकारहरू र आफ्नै समुदायका अग्रजहरूले पनि रैथाने गन्धर्व लगायत समुदायहरूलाई निकै कमजोर कथित दलित पात्रको रूपमा उभ्याएको पाइन्छ । तर यी समुदायको प्राचीन सत्यतथ्य इतिहासलाई खोतल्ने हो भने निकै गर्व गर्न लायक छ ।
हामीले समकालीन इतिहासको त्यही गलत भाष्य र कथ्यलाई बदल्न सामुदायिक स्वतन्त्र इतिहास लेखनको सानो प्रयास गरेका हौ । पुस्तकले समाजशास्त्रीय, मानवशास्त्रीय उत्खनन् गर्ने प्रयाय गरेकोे छ । समाजले आजसम्म गन्धर्वलाई जसरी चित्रण गर्ने गर्दछ, त्यसलाई हामीले बदल्ने प्रयास पनि गरेका छौ ।
र्
एउटा एनजीओले मलाई गन्धर्वको बारेमा लेख्न लगाएर न पारिश्रमिक न धन्यवाद दियो । उल्टै मानसिक तनाव झेल्नुपर्ने बनायो । त्यही तनावलाई इतिहास, सँस्कृतिविद्व डा।गोबिन्द नेपालीको ऊर्जाले र दिपक गन्धर्वको संयोजनले सफलता मिलेको हो ।
यो पुस्तक हामी लेखकत्रयको स्वयमसेवी कडा मिहिनेत र अथक परिश्रमको प्रतिफल हो । पुस्तकलाई यही असोज महिना भित्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी गराउँदछु । नयाँ बच्चा जन्मिएको खुशियालीमा हामी सबैलाई शुभकामना । जय होस ।