राष्ट्रपतिबाट पुरस्कार ग्रहण गर्दै सिंह
काठमाडौँ : कर्णाली प्रदेशको जाजरकोट बारेकोटमा जन्मेका महेन्द्र सिंह प्रेस काउन्सिल नेपालका वर्षकै उत्कृष्ट कर्मचारीमा सम्मानित भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रेस काउन्सिलले प्रदान गरेको वर्षकै उत्कृष्ट कर्मचारी पुरस्कार सिंहले ग्रहण गरेका हुन् ।
वरिष्ठ प्रशासन सहायक पदमा कार्यरत सिंहले काउन्सिलका पूर्व अध्यक्ष किशोर श्रेष्ठको निजी सचिवका रुपमा समेत काम गरेका थिए । सिंह काउन्सिलमा ३ वर्षदेखि प्रशासन शाखामा कार्यरत छन् ।
२०७१ साल असार २३ गते प्रशासन सहायक पदमा प्रेस काउन्सिल नेपालको सेवामा प्रवेश गरेका सिंह त्रिविको रत्नराज्य कलेजबाट स्नातक गरेका छन् । प्रवेशीका परीक्षापछि २०५६ सालदेखि सक्रिय पत्रकारिता गरेका सिंहसँग पत्रकारितामा एक दशक लामो अनुभव छ ।
गोरखापत्र, उज्यालो, साताको परिचर्चा साप्ताहिक, जाजरकोट सन्देश साप्ताहिकको सम्पादक रहेका सिंहसँग दुर्गमको पत्रकारिता सम्बन्धी लामो अनुभव रहेको छ । सिंहले पत्रकारिता गरेकै कारण २०६२ सालमा विद्रोही समूहले अपहरण गरेको थियो । तत्कालिन १२ दिनपछि उनलाई अपहरण मुक्त गरिएको थियो ।
तत्कालिन जिल्ला प्रशासन कार्यालय जाजरकोटले माघ १९ गतेपछिका अङ्कहरुसचित तारिखमा बोलाएर संकटकाल हटेपछि २०६२ बैशाख २१ र २३ गते सिंहलाई लिखित स्पष्टीकरण सोधेको थियो ।
२०६३ साल फागुन ११ गते आन्दोलनकारी समूहले नेपालगञ्जको त्रिभुवनचोकमा गम्भीर घाइते बनाएको थियो । त्यतिबेला आन्दोलनकारीहरुले सिंहको क्यामेरा, मोबाइल, रातो प्रेस कार्ड लगायतका सामानहरु लुटेका थिए ।
वरिष्ठ प्रशासन सहायक पदमा कार्यरत सिंहलाई प्रेस काउन्सिलका वर्षकै उत्कृष्ट कर्मचारीबाट सम्मानित गरेको हो । काउन्सिलको गरिमा र अनुगमनको पाटोलाई चुस्त बनाउन सिंहले महत्वपुर्ण भूमिका खेलेका थिए ।
प्रेस काउन्सिलमा उत्कृष्ट कर्मचारी पुरस्कार पाउने उनी सम्भवतः कर्णालीका पहिलो व्यक्ति हुन् ।