काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिकको नेता को भएको छ ? माओवादीमा कसले वर्चस्व जमाएको छ ? कसले सिद्धान्त मानेको छैन ? यो, केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारको पालामा वनमन्त्री भएका शक्ति बस्नेतलाई सोध्नुपर्छ ।
मंगलबार बस्नेतले सामाजिक सञ्जालमा एक अभिव्यक्ति दिए । जुन यस्तो छ, ‘पार्टी भित्र कसले कसरी वर्चस्व कायम गर्ने वा स्थापित गर्ने पार्टीको लागि आज यो प्राथमिकताको विषय होइन, परिवर्तनका मुल्यहरुको रक्षा गर्दै जनक्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्न हाम्रो पार्टी माओवादी केन्द्रलाई राष्ट्रिय राजनीतिको नेतृत्वदायी भुमिकामा पुनस्र्थापित गर्नु आजको मुख्य प्राथमिकता हो र हुनु पर्दछ ’ ।
उसो त पछिल्लो समय शक्ति बस्नेत माओवादीमा भूमिकाविहीन जस्तै देखिने गरेका थिए । केही दिनअघि जनार्दन शर्मालाई माओवादीको सिंगो संगठनको कमाण्ड सम्हाल्ने जिम्मेवारी दिएर शक्ति बस्नेतलाई माओवादी अध्यक्ष प्रचण्डले कर्णाली पठाए । अर्थात् कर्णाली प्रदेशको इन्चार्ज बनाएर पठाए । उनले कर्णालीमा संगठनका लागि राम्रै काम गरिरहेका छन् । र, होलान् ।
कुनैबेला प्रचण्डको नजिक भएर माओवादीमा वर्चश्व जमाउने शक्ति बस्नेत यतिबेला सिद्धान्त र विचारका कुरा गरिरहेका छन् । संगठन कसरी बलियो बनाउने, पार्टी भित्र कसले वर्चश्व कायम गर्ने वा स्थापित गर्ने विषय प्राथमिकता नभएको भनेर तर्क दिइरहेका छन् ।
जनयुद्धको बेला प्रचण्डको नजिक थिए शक्ति बस्नेत । प्रचण्डसँग सिधैं सम्पर्क गरेर आवश्यक निर्णय गराउने क्षमता राख्ने गरेका थिए । त्यसैको बलमा शक्ति गृहमन्त्री समेत बने । तर, पछिल्लो माओवादीमा उनी कमजोर बन्दै गएका हुन् । कर्णालीको इन्चार्ज भएपनि शक्ति बस्नेतको राजनीतिक अवस्था कमजोर नै देखिएको छ ।
जनार्दन शर्माले माओवादीको संगठन हाक्ने जिम्मा मात्रै पाएका होइनन, प्रचण्डको विश्वासको पात्र समेत बन्न पुगेका छन् । माओवादीमा प्रचण्डको नजिक रहेर वर्चश्व जमाउने पनि शर्मा नै हुन् । संगठन हाक्ने पनि शर्मा नै हुन् ।
शर्मा जस्तै कुनैबेला शक्ति बस्नेतले माओवादी भित्र वर्चश्व जमाएका थिए । प्रचण्डको नजिक भएका थिए ।
यो पनि पढौं...