सिमकोट : हालसम्म दशै तिहार जस्ता चाडपर्वमा कहिल्यै छुट नपाएका हुम्लावासीले पहिलो पटक दशैं तिहारको अवसरमा छुटमा खाद्यान्न बिक्री गरिने भएको छ । राज्यबाट उपलब्ध हुने सेवा चाडपर्वमा सेवाग्राहीलाई उपलब्ध गराउनका लागि छुटको व्यवस्था कार्यान्वयनमा आउन लागेको हो ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले पहिलो पटक यसपालीको दशैं तिहारको अवसरमा छुटमा खाद्यान्न बिक्री गर्न लागिएको जानकारी दिए । उनले यसका लागि केन्द्रबाट दुई हजार तीन सय क्विन्टल खाद्यान्नमा छुट दिने परिपत्र अनुसार असोज १४ गते प्रति क्विन्टल पाँच सय रुपियाँ छुटमा बिक्री गर्न लागिएको बताए ।
हरेक वर्ष दशैं तिहार जस्ता चाडपर्वमा लिमिटेडबाट सर्वसाधारणलाई छुटमा खाद्यान्न बिक्री गर्ने निर्देशन आउने गरेको भएपनि यसअघि कहिल्यै पनि सो खाद्यान्न बाँड्ने गरिएको थिएन । प्रमुख जिल्ला अधिकारी गणेश आचार्य राज्यबाट जनताले पाउने सेवा, सुविधा र छुटको व्यवस्थालाई खाद्य व्यवस्था समितिले निर्णय गरेरै कार्यान्वयन गर्न लागेको उल्लेख गरे ।
२०३४ सालमा हुम्लामा तत्कालिन खाद्य संस्थानको शाखा स्थापना भएको भएपनि जनताले कहिल्यै पनि उक्त छुट बारे जानकारी पनि पाउन नसकेको अवस्था यस वर्ष पहिलो पटक उक्त छुटमा खाद्यान्न बिक्री गर्न लागिएको हो ।
जिल्ला अन्य डिपो तथा बिक्री केन्द्रहररुमा भने स्थायी कर्मचारी नभएको कारण सो छुटको खाद्यान्न बिक्री नगरिने भएको छ । ती डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न हाल नभएको शाखाले जनाएको छ । हुम्लाका नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा गरि आठ वटा डिपो र बिक्री केन्द्र रहेका छन् ।