सिमकोट : लिमी लाप्चाका लागि एक दिन गाडी रिजर्भ गरेको भाडा दर २५ हजार निर्धारण गरिएको छ । माथिल्लो हुम्लामा सञ्चालनमा आएका गाडीको भाडा एकरुपता ल्याउनका लागि उक्त भाडादर कायम गरिएको हो ।
सवारी साधनहरुले मनोमानी रुपमा यात्रुहरुबाट भाडा असुल्न थालेको उजुरी आउन थालेपछि जिल्लामा सरोकारवाला पक्षको उपस्थितीमा एक रुपता ल्याउन भाडादर कायम गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सवारी साधननै पिच्छे भाडा मनोमानी रुपमा असुली गरेको गुनासो आएपछि यातायात व्यवसायी र सरोकारवाला पक्षको उपस्थितीमा दुरी हेरि सवारी साधनको भाडा कायम गरिएको बताए ।
उनले सिमकोट खार्पु खण्डको १२ किलो मिटर दुरीमा यसअघि साढे दुई सय देखि साढे तीन सय भाडा लिदै आएकोमा सवारी साधनले मनोमानी रुपमा नौ सयसम्म यात्रुसंग भाडा मागेको गुनासो आएपछि सबैको उपस्थिती सहमतिमा नयाँ भाडा कायम गरिएको बताए ।
नयाँ कायम गरिएको प्रतियात्रु भाडा र रिजर्भको दर कायम गरिएको छ । यसअघिको सिमकोट खार्पुसम्मको भाडामा वृद्धि गरी तीन सय, चार सय रुपियाँ कायम गरिएको छ । उक्त रुटमा नियमित रुपमा यातायात सञ्चालन हुँदै आएका छन् ।
त्यसैगरी सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा सञ्चालन हुने सवारी साधानको दुरी हेरि रिजर्भ गरेको भाडा दर पनि सहमतिमा कायम गरिएको, यो नयाँ कायम भएको भाडा कार्यान्वयनमा आउने प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले बताए ।
रिर्जभ दरमा सिमकोट खार्पुखण्डको पाँच हजार, हेक्पा खोलासम्म आठ हजार, दोजामसम्म बाह्र हजार, ठेहे आठ हजार, डाँडाफयासम्म सात हजार, बरगाउँ लिमाटाङसम्म छ हजार, लाङ्दु चार हजार, आख्रेन पाँच हजार,धारापोरी नौ हजार ताग्रुखोला दश हजार रुपियाँ कायम गर्ने बैठकले निर्णय गरेको छ ।
यता हालसम्म हुम्लामा सञ्चालनमा आएका रातो नम्बर प्लेटका बोलेरो जीपलाई कालो नम्बर प्लेटमा दुई महिनाभित्र परिवर्तन गर्न पनि यातायात व्यवसायीलाई समय सिमा तोकिएको छ । बैठकमा प्रशासन, गाउँपालिका अध्यक्ष, सुरक्षाकर्मी र यातायात व्यवसायीको सहभागिता रहेको थियो ।