मीन ठकुरी
सुर्खेत । पछिल्लो केही वर्षयता कर्णाली नदीमा पाइने शहर महाशेर माछालगायत अन्य जलचर प्राणी लोप भएर जान थालेका छन् । कर्णाली नदीमा जथाभावी माछा मार्ने प्रवृत्तिका कारण शहर महाशेर माछालगायत अन्य जलचर प्राणी लोप भएर जान थालेका हुन् । कर्णाली नदीमा पाइने शहर जातिका माछा मात्र होइन, स–साना भूरामाछा, घडियाल गोही, विश्वमै दुलर्भ मानिने डल्फिनलगायत प्राणी लोप भएर जान थालेको स्थानीय बासिन्दाको भनाइ छ ।
कर्णालीलगायत त्यसका अन्य सहायक नदीमा पाइने जलचर प्राणी लोप भएर जान थालेका छन् । नदीमा विष हाल्ने, करेन्ट लगाउने तथा महाजाल प्रयोग गरेर माछा मार्न थालेपछि त्यसको असर जलचर प्राणीमा पर्न गएको छ । पानीजन्य जलचर प्राणी लोप भएर जान थालेपछि तिनीहरुको संरक्षणका लागि विशेष नीति बनाएर कार्यान्वनमा ल्याउन पहल गर्नुपर्ने रानी जमरा कुलरिया जल सिँचाइ मूल कुला उपभोक्ता समितिका सचिव परशुराम चौधरीले बताए।
पृथ्वीमा भएका अन्य प्राणीसरह बाँच्न पाउने अधिकार पानीमा बस्ने प्राणीको भएकाले तिनीहरुको संरक्षणका लागि मानवजातिले सोच्ने बेला आएको उनको भनाइ छ । विगत २० देखि २५ वर्षअघि कर्णाली नदीमा सहर महाशेर माछा छ्याप्छ्याप्ती पाइने गरेकामा अहिले कहिलेकाहीँ मात्र पाइने गरेको संरक्षणकर्मीको भनाइ छ । कर्णाली नदीमा २० देखि ३० केजीसम्मका शहर महाशेर माछा पाइने गरेकामा अहिले हराएर गएको देखिन्छ, कर्णाली नदीमा जथाभावी माछा मार्ने प्रवृत्तिले जलचर प्राणाी सङ्कटमा पर्दै गएको सचिव चौधरीले बताए।
यहाँका जलचर प्राणीको सङ्ख्या घट्दै गएकाले कर्णालीलगायत कैलालीका सबै नदी खोलामा माछा मार्ने काममा रोक लगाउनुपर्ने टीकापुरका पर्यटन व्यवसायी थर्कबहादुर शाहको भनाइ छ । महाजाल, करेन्ट, विषादी प्रयोग गरेर माछा मारिन थालेपछि सहरमाछालगायत कर्णाली नदीमा पाइने डल्फिन, घडियाल गोही पनि लोपोन्मुख अवस्थामा पुगेको उनले बताए ।
कर्णाली नदीमा जथाभावीरूपमा माछा मार्ने प्रवृत्तिमा रोक लगाउने हो भने सहरमाछा, डल्फिन, घडियाल गोही संरक्षणमा टेवा पुग्ने स्थानीयको भनाइ छ । सहरमाछा, डल्फिन, घडियाल, ओतरको आहारा स–साना माछाका भूरा हुन्, ती माछाका भूरा पनि मानवीय गतिविधिका कारण कम हुन थालेको छ ।
कर्णाली नदीमा मात्रै होइन, सो नदीमा मिसिने मोहनालगायत अन्य सहायक नदीनालामा पानीको सतह बढेका बेला सहरमाछा, डल्फिन, घडियाल, ओतर देखिने गरेको डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठ बताउँछन । जथाभावी माछा मार्ने प्रचलनले गर्दा सहरमाछा, डल्फिन, घडियाल, ओतरजस्ता पर्यावरणका लागि महत्वपूर्ण मानिने जलचर प्राणाी लोप हुनु दुःखद् भएको उनको भनाइ छ ।
सहरमाछा, डल्फिन, घडियाल, ओतरजस्ता पानीजन्य प्राणीको संरक्षणका लागि जनस्तरबाटै लाग्नुपर्छ । कर्णाली, मोहना नदीमा जिल्ला समन्वय समितिले विगत लामो समयदेखि ठेक्का आह्वान गर्दै आएको छ । माछा मार्नका लागि ठेक्का दिने गरेका कारणले पनि महत्वपूर्ण जलचल प्राणी लोप हुनुको कारण भएको जनाइएको छ । कैलालीको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाले नीति नै बनाएर माछा संरक्षण गरिरहेका छन् । डोटी र कैलालीको सीमा भएर बग्ने ठूलीगाड नदीमा चुरे गाउँपालिकाले माछा मार्न प्रतिबन्ध लगाएको छ ।