सुर्खेत ः सुर्खेतको वीरेन्द्रनगर–४ मा रहेको अस्पताल प्रदेशकै ठुलो अस्पताल हो । यस अस्पतालले केही समय अगाडडि मात्रै नयाँ भवनमा सरेर नयाँ तरिकाबाट सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको छ ।
कर्णाली प्रदेशकै ठुलो अस्पतालका रूपमा रहेको यस अस्पतालले अत्याधुनिक उपकरण, मेसिन र औजारहरूसँगै नयाँ किसिकबाट सेवा दिँदै आएको छ । विभिन्न सेवा अनुसारका करिब ६० जना बढी विशेषज्ञ चिकित्सकहरू प्रत्यक्ष रुपमा कार्यरत रहेका छन् ।
हालको प्रदेश अस्पताल सन् २०३० सालमा जिल्ला अस्पतालको रुपमा स्थापना भएको थियो । त्यस समयमा अस्पतालको अवस्था निकै नाजुक थियो । भरपर्दो पूर्वाधार, विशेषज्ञ डाक्टर पनि नहुँदा दुई जना डाक्टरले मात्रै सेवा दिनुपरेको थियो ।
सुर्खेत लगायत छिमेकी जिल्लाहरू दैलेख, सल्यान र जाजरकोटका बिरामीहरूको लागि पायक पर्ने अस्पताल भएपछि २०६२ साल फागुन ७ गते क्षेत्रीय अस्पतालको रूपमा स्तरोन्नोति भई त्यो समयमा ५० शैयाबाट सुरू भएको थियो ।
मुलुक संघीय संरचनामा गएपछि २०७५ साल कात्तिक १३ गते अस्पताल प्रदेश सरकार मातहतमा आयो । प्रदेश सरकार मातहतमा आएपछि भने अस्पतालको ठूलो फड्को मारेको छ । अस्पताल उपचारका लागि आउँने सबै जसो बिरामीहरूको उपचारमा समेत थप सहज भएको छ । कर्णाली प्रदेशमै जटिल प्रकृतिका रोगकोे शल्यक्रियामा पनि सफलता पुर्वक हुने गरेका अस्पतालले जनाएको छ । यसले अब उपचारका लागि बाहिर जानैपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।
प्रत्येक बिरामीको बेडमा पाइपबाटै अक्सिजन
कुनैबेला यो अस्पतालमा विरामीले सहज रुपमा अक्सिजन नै नपाउने समस्या थियो । त्यसमा पनि कारोना महामारीको बेलामा संक्रमितले अक्सिजनका लागि हानथाप नै गरे । तर अब अस्पतालले भने अक्सिजनको सहज व्यवस्थापन सुरू गरेको छ ।
अस्पतालले आफ्नै लगानी र दाताको सहयोगमा अक्सिजन प्लान्टहरु थप गरेर उत्पादनको तयारी थालेको छ । जसअनुसार हाल केही बेडमा पाइपलाइनबाटै अक्सिजन आपूर्ति भइरहेको भन्दै अस्पतालले चाँडै सबै बेडमा अक्सिजन सहज रुपमा उपलब्ध हुने जनाएको छ ।
अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार थप अक्सिजन आवश्यक पर्ने बिरामीका लागि अक्सिजन प्लान्ट संचालनको तयारीमा समेत रहेको बताए । उनले भने ‘अब बिरामीले अक्सिजनको सिलिण्डर खोज्नुपर्ने अवस्था आउने छैन । हामी दशैंअघि नै पाइपलाइन बाटै हरेक बेडमा अक्सिजन आपूर्ति हुने व्यवस्था गर्दैछौं ।’
ओपीडी टिकटका लागि डिजिटल प्राविधि
अस्पतालमा सेवा र सुविधा विस्तार भएपछि अहिले यो अस्पतालमा बिरामीको चाप बढे पछि अनलाईनबाट ओपीडी टिकट लिने मिल्ने गरि तयारी थालिएको छ । बिरामीको चाप बढेका कारण चेकजाँचका लागि ओपीडी टिकट लिन घण्टौं लाईनमा बसेर पालो कुर्नपर्ने अवस्था भएपछि सेवाग्राहीलाई सहजताका लागि उक्त प्राविधिको तयारी गरिएको अस्पतालका सुचना अधिकारी हाड जोर्नी विशेषज्ञ डाक्टर बिकास केसीले जानकारी दिए ।
डाक्टर केसीका अनुसार अस्पतालले सेवाग्राहीको समस्यालाई मध्यनजर गँर्दै अब अनलाइनबाटै टिकट काट्ने व्यवस्थाको लागि तयारी पुरा भएको बताए । यस्तै अस्पतालले हटलाइन सेवा पनि सुरु गरेको छ ।
बिरामी र तिनका आफन्तले अब अस्पतालमा सिधै ९८५८०५७७५५ र ९८५८०४५७५५ मा फोन गरेर सेवा लिन वा गुनासो राख्न सक्नेछन् । यस्तै अस्पतालले आकस्मिक कक्षमा उपचार गराइरहेका बिरामीका लागि २४ सै घण्टा ल्याव, विलिङ र औषधि सेवा पनि सुरु गरेको छ ।
साथै अस्पतालले अब आर्थिक अवस्था कमजोर भएको र विपन्न परिवारका बिरामीका लागि निशुल्क खानोको व्यवस्थापन गर्नकां लागि योजना बनाएको छ । यसका लागि दातासँग छलफल गर्न लागिएको अस्पतालले जनाएको छ ।
आमा बुबाको सम्झनामा ५० लाखको अक्षयकोष
त्यस्तै प्रदेश अस्पताल कालागाउँ सुर्खेतका निर्देशक डा. डम्बर खड्काको परिवारले प्रदेश अस्पतालमा आफ्ना आमा र वुवाको सम्झानामा ५० लाख बराबरको अक्षयकोष स्थापना गर्ने भएका छन् ।
प्रदेश अस्पताल कालागाउँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले उक्त अक्षयकोष अस्पतालमै स्थापना गरिने र सो कोषबाट आएको रकमले दिन दुःखीहरूको उपचारमा सहयोग गरिने बताएका हुन ।
‘मेरा पुज्यनीय आमाबुवाको सम्झनामा प्रदेश अस्पतालमा पचास लाख बराबरको अक्षयकोष स्थापना गर्ने भएको छु’ उनले भने, ‘यो कोषबाट भएको आम्दानीबाट कर्णालीका दुखी, गरिब, असहाय तथा गरिब बिरामीको उपचारमा केहि मात्रामा भएपनि सहयोग पुग्ने अपेक्षा गरेको छु ।’
स्मरण रहोस, डाक्टर खड्का नेपाली कांग्रेसका महामन्त्रीका पूर्णबहादुर खड्काका भाई हुन् । कर्णाली प्रदेश सरकार बनेपछि अस्पतालको नेतृत्वमा आएका डम्बर खड्काले राजनीति, आफ्नो विशेषज्ञ डाक्टरी र प्रदेशको सरकारी बजेटको समन्वय गर्दा प्रदेश अस्पताल नमूना बन्ने बाटोमा अघि बढेको हो ।
सबै तस्बिर : दिनेश बुढा