जुम्ला : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र परीवर्तन गरेको भन्दै जुम्ला बहुमुखी क्याम्पसका परीक्षार्थी असन्तुष्ट भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले ११ असोज गतेदेखि परीक्षा मिति तोकेको थियो । परीक्षा मिति तोकेको ४ दिन अघि मात्रै ६ असोजमा परीक्षा केन्द्र सारिएको सूचना सार्वजनिक भएपछि जुम्लाका परिक्षार्थी असन्तुष्ट भएका हुन् ।
जुम्ला बहुमुखी क्याम्पसमा स्नात्तकोत्तर तहको दोस्रो वर्षको बार्षिक परीक्षा दिने १२ जना विद्यार्थी छन् । उनीहरुले जुम्लाको बहुमुखी क्याम्पसमा परिक्षा नभएको खण्डमा परीक्षा नै बहिष्कार गर्ने बताएका छन् । जुम्लाका १२ जना परिक्षार्थीले परीक्षा नियन्त्रण कार्यालय बल्खुले तोकेको परीक्षा केन्द्र सुर्खेत शिक्षा क्याम्पसमा परीक्षा दिन नजाने बताएका छ ।
परीक्षार्थी लक्ष्मी परियारले भनिन्, 'चार दिनपछि ११ असोज देखि परीक्षा मिति तोकिएको छ । तर ७ असोजमा परीक्षा केन्द्र सारिएको सूचना सार्वजनिक हुन्छ । यसले गर्दा हामी धेरै पीडामा छौँ । बर्षातको मौसममा सडक पनि राम्रो छैन । पहिरोले सडक नै अवरुद्ध हुने गरेको अवस्थामा कसरी सुर्खेत गएर परीक्षा दिन सम्भव छ ?', उनले भनिन् 'संघीयतापछि पनि दुर्गमका विद्यार्थीलाई अन्याय हुने काम भएको छ । जुम्ला क्याम्पसमै परीक्षा केन्द्र तोकिनु पर्दछ ।'
छोटो समयको सूचनाले सबैलाई जानकारी नै पाएको छैनन् । यो कामले सिधै परीक्षार्थीलाई धोका दिने काम भएको परीक्षार्थीको आरोप छ । जुम्ला केन्द्र भनेर परीक्षा फाराम भर्ने परीक्षा केन्द्र सुर्खेत बनाउने गलत प्रवृत्तिको विकास हुन थालेको बताइन । जुम्ला बहुमुखी क्याम्पस जुम्लाका प्राध्यापक प्रकाशचन्द्र खत्रीले संघीयता पछि पनि सबै राजधानी केन्द्रीत हुने खालको काम भएको बताए । यसले संघीयताको मर्म मारेको उनको भनाइ छ । परीक्षार्थीको सहजताका लागि अध्ययन गरेकै क्याम्पसमा परीक्षा केन्द्र तोकिनु उपयूक्त हुने उनको भनाइ छ ।
त्यस्तै जुम्ला बहुमुख क्याम्पस जुम्लाका प्रमुख ओम आचार्यका अनुसार परीक्षा केन्द्र परिवर्तनका विषयमा परीक्षार्थीबाट गुनासो आएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई जानकारी गराएपनि अब जुम्लामै परीक्षा केन्द्र हुने ठोस कुरा नआएको बताए । भौगौलिक रुपमा पनि जुम्लाबाट सुर्खेत गरिएर परीक्षा दिन कठिनाई भएको भन्नेबारे पनि केन्द्रमा जानकारी गराइएको उनले बताए ।
थोरै विद्यार्थी भएकाले परीक्षा केन्द्र मर्ज गरी जुम्लाको परीक्षा केन्द्र सुर्खेत तोकिएको हो भन्ने सूचना आएको पनि क्याम्पस स्रोतले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयको यस कामबाट आफूलाई अन्याय भएको विद्यार्थीको भनाइ छ ।