दैलेख : नेपालमा रोजगारी पाउन मुस्किल छ । पढेलेखेका भएपनि कर्णालीका कैयाँै मानिसमा बेरोजगारी समस्या छ । सोही कारण वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । स्वदेशमै रहेकामध्ये धेरैले कृषिबाहेक अन्य व्यवसाय पनि गरिरहेका छन् । तर केही यस्ता मानिस पनि छन्, जसले शिक्षण पेसा छोडेर स्वदेशमै कृषि पेशा गरेर लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् ।
![No description available.](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/242870856_130665855914524_7519123012367661554_n.jpg?_nc_cat=106&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=kcCn6mRD6xMAX8NWTxT&_nc_oc=AQlza33AlvQihgovqgybLAQPMdoBgMWsubyrfcloWeH_pUas5pUgnlIUatXibslyCGuhY_sPoj8Snr4i8gO-42lN&_nc_ht=scontent.fktm3-1.fna&oh=d4f0c4c9b8570d5a56c598e1a39fb71b&oe=617284F9)
दैलेखको दुल्लु नगरपालिका वडा ६ का डम्बर खड्का शिक्षण पेसा छोडेर अहिले व्यावसायिक कृषि पेसामा लागेर खेतबारीमै नङ्ग्रा खियाउँदै छन् । २०७७ सालदेखि सुन्तला खेती सुरु गरेका उनले मालिका कृषि तथा पशुपक्षी फार्म सञ्चालनमा ल्याएका हुन् । आफू सुन्तला खेतीमा लाग्दा र आफूले गरेको खेतीबाट सफलता मिल्दा निकै सन्तुष्टी मिलेको उनी बताउँछन् । उनको उदेश्य भनेको युवालाई गाउँमै रोजगारी दिलाउने पनि हो ।
![No description available.](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/242615502_4737283356337636_6465606866947102241_n.jpg?_nc_cat=108&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=gnCqvfaPBJIAX-GI82D&_nc_ht=scontent.fktm3-1.fna&oh=43466adbcae4af78bbebd0b5ebdbeb87&oe=61718867)
आम्दानीसँगै रोजगारी सिर्जना गर्ने उनको अतिरिक्त रुचि हो । अहिले पनि ४ जना युवाले नियमित रोजगारी पाएका छन् । यो व्यवसायलाई बढाउदै अन्य युवालाई पनि रोजगारी दिने उनी बताउँछन् ।
एक लाख रुपैयाँबाट सुन्तलाखेती सुरु गरेका उनले अहिले व्यवसाय बढाएर वार्षिक ६ लाखसम्मको सुन्तलाका बेर्ना उत्पादन गरिरहेका छन् । मालिका कृषि तथा पशुपक्षी फर्ममा ३ वटा पक्की नर्सरी २१ मिटर लम्बाइमा निमार्ण भएका छन् ।
![No description available.](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/242666428_1134023027125543_6385078753977612913_n.jpg?_nc_cat=100&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=_wUYAe8yDVEAX8atqAy&_nc_ht=scontent.fktm3-1.fna&oh=7223bd50542062abd84ee50a599dab58&oe=617402FD)
४ लाख लगानी लगाएर व्यवसाय सुरु गर्दा खर्च कटाएर वार्षिक २ लाख बचत हुने गरेको उनको भनाइ छ । व्यवसाय बढाएसँगै अहिले आम्दानी पनि बढ्दै गएको छ । सुन्तला खेती सुरु गरेदेखि नै आम्दानी राम्रो भएको उनले बताए ।
यसरी सुरु भयो सुन्तला बगैँचा
दैलेखमा तरकारी खेती अझै धेरै हदसम्म व्यवसायिक बन्न सकेको छैन । फलफुल तथा अन्य जडीबुटीजन्य बिरुवा रोप्नुपरेमा बिरुवाका लागी बनेपा, काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता थियो । तर गाउँघरमै नर्सरी स्थापना भएपछि स्थानीय खुसी भए । उनीहरुले सम्भावना देखे ।
बिरुवाको सहज पहुँच नहुँदा यस भेगका धेरैले चाहेर पनि फलफुल खेति गर्न सकेका थिएनन् । अब फलफुल खेतीको विकास हुने विश्वास थियो । नर्सरीलाई व्यवस्थित बनाउँदै गाउँ टोलमा विरुवा बिक्रि वितरण गरिरहेकोे मालिका नर्सरी व्यवस्थापक डम्बर बहादुर खड्काको भनाई छ ।
शिक्षण पेशाबाट कृषिमा समर्पित !
सुरुमा उनले एज पिस.होम्स.एकेडेमी सुर्खेतमा र म्यानस अग्रेजी विद्यालय काठमाण्डौमा शिक्षक भएर काम गरे । त्यतिखेर उनको तलब सेवा सुविधा राम्रै थियो । तर आफनो बाउ बाजेले जोडेको सम्पति लथालिङ्ग, खेतबारी सबै बाझो उनको मन सधै खिन्न हुन्थ्यो ।
सबै गाउँका युवा रोजगारी छैन् भन्दै विदेशतिर लागे । गाउँमा मलामी जान समेत मान्छे पाइन छाडे । यी सब कुराले उनको मनमा सन्तोष भएन् । र, आफनै ठाउँमा केहि गर्छु र अरुलाई पनि सिकाई भन्दै उनी गाउँ पसे । गाउँ पसेको मात्र एक वर्ष भयो । चारदेखि ६ जनालाई त उनले दिनहु रोजगारी दिरहेका छन् । यसैगरी उनी गाउँका सबैलाई आत्मनिर्भर बनाउन चाहान्छन् । पुरानो खेति पणालीलाई परिवर्तन गर्न चाहन्छन् ।
सुरुवाती लगानी र प्रतिफल
उनको मनमा कृषिप्रति रहर थियो । पेशामा समर्पण र विश्वास पनि थियो । सुन्तला बगैचा निमार्ण शुरु गर्दा जम्मा एक लाख रुपैयाँ थियो होला । त्यसैबाट उनले काम थाल्दा मुश्किलले एक लाख रुपैयाँबाटै हिम्मत पलायो ।
अहिले ५० प्रतिशत अनुदान कृषि विकास कार्यालय र ५० प्रतिशत मालिका कृषि तथा पशुपक्षी फार्मको गरी जम्मा १२ लाख बराबरको लागतमा नर्सरी निमार्ण सुरु भयो । त्यसलाई आवश्यक संरचना निर्माण गरेर सम्पन्न पनि गरे ।
![No description available.](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/242913328_253372049886699_5782847508926356920_n.jpg?_nc_cat=101&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=y8u1s8rzXOEAX8LmMlT&_nc_ht=scontent.fktm3-1.fna&oh=5ace97dd3be45737d6cb831bd8f11e14&oe=6174DD66)
नर्सरीमा तिनपाते सुन्तला कलमी, अगौटे, पछौटे जातका सुन्तला निमार्ण र परीक्षण गरिसकेका छन् । तरकारी खेतीबाट पनि उनले राम्रो आम्दानी गर्न थालेका छन् । तरकारी तीमा, काक्रा, फर्सी, चिचिन्डा, लौका, करेला लगायतका छन् । काउली बन्दाका बेर्ना समेत उमारी सकिएका छन् । सुन्तला बगैचा निर्माण गर्दै जाँदा उनलाई तरकारी खेती सुरु गर्न मन लाग्यो । त्यसपछि उनले तरकारी खेति सुरु गरे ।
तरकारी खेती गर्दै जाँदा भने कहिले काहीँ बजारीकरणको समस्याले उनलाई पिरोल्छ । त्यो भन्दा बढी सस्तो खोज्ने र स्थानीय किसानको मूल्य नबुझ्ने उपभोक्ताको प्रवृत्तिले पनि उनको चित्त दुखाउँछ ।
कृषिपछि पशुपालन व्यवसाय फस्टाउँदा
उनको कृषि व्यवसाय फस्टाउँदै गयो । त्यसमा केही आयाम थप्ने सोच पलायो । त्यसको सुरुवात उनले कुखुरबाट गरे । सुरुमा उनले लोकल कुखुरा पाले । त्यसपछि १५० को संख्यामा टर्की हाले । २०० चल्ला कडकनाथ कुखुरा र ५० वटा लोकल कुखुरा समेत उनले व्यवसायमा थपे ।
सजिलो र आम्दानी राम्रो हुने व्यवसाय पनि भएकाले अरु छिमेकीलाई समेत उनले परामर्श गरेर पशुपालन गर्न लगाएका छन् । जोखिम पनि कम । अनि फाइदा पनि धेरै । यो व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उदाहरणीय व्यक्तित्व अचेल उनी आफै बनेका छन् ।
तरकारी खेतीबाट पनि राम्रो गर्न सकिन्छ भन्ने उदाहरण उनले आफैबाट सुरु गरेका छन् । यो व्यावसाय गर्नका लागी क्षेत्रफल धेरै नचाहिने हुनाले पनि अझ सहज हुने उनको भनाइ छ ।
तरकारीमा आम्दानी राम्रो हुने भएपनि रोग किराको प्रकोपले दुःख दिने गरेको अनुभव पनि उनमा छ । समयमै त्यसको पहिचान र निराकरण गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्नेमा उनी सचेत छन् । यसका लागि नगरपालिका तथा गाउँपालिका लगायत स्थानीय तहले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
व्यवसायमा युवाहरु रोलमोडल बन्नुपर्ने सुझाव
कृषि इच्छाशक्ति भएका युवाहरुका लागि सहज र सजिलो पेशा हो । यो व्यवसाय गर्न युवाले पढ्नुपर्छ भन्ने छैन । यद्यपी पढेलेखेका युवाहरु भए राम्रो हुने उनको विश्वास छ ।
शिक्षण पेशामा बेला बेला परीक्षा लिनु र दिनुपर्ने झन्झट पनि यसमा छैन । यसैले पनि उनी खुशी छन् । अझ धेरै गर्नुपर्ने भन्ने सोचमा छन् । ‘कृषि भनेको अनुभवको आधारमा खेती गर्न सकिने पेसा हो । यसमा कुनै डिग्री सर्टिफिकेट चाहिएन, अनुभवको डिग्री भयो’ उनले भने, ‘जागिर खानलाई लोकसेवा पढ्नु प¥यो भन्छन् । तर कृषिमा पर्दैन ।’
उनी यसबारे थप अगाडि भन्छन्, ‘लोकसेवामा नाम निकाल्न गाह्रो भयो भनेर कतिपय युवा युवती जिवन नै सकिए जस्ता कुरा गर्छन । तर यो व्यवसायमा लागेपछि त्यति पछुतो हुदैन । विदेश गएर अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगायो भने जिवन जिउँन गाह्रो छैन्, उनी भन्छन् । आफ्नो देशमा कृषि गरे आत्मनिर्भर हुन सकिन्छ भन्ने उदाहरण आफै दिन सकिने उनको आत्मविश्वास बढ्दो छ ।
अहिले स्थानीय सरकारले कृषि क्षेत्रमा धेरै राम्रो काम गरिरहेका कारण पनि यो पेसा गर्न थप ऊर्जा मिलेको उनले बताए । उनका अनुसार कर्णाली प्रदेशले ब्याज, प्रोत्साहन अनुदान, ब्लक, जोन तथा सुपर जोन कार्यक्रम, अनुदानका कार्यक्रम लगायत धेरै प्रोत्साहन र अनुदानका काम गरेकाले पनि काम गर्न सहज भएको उनको भनाइ छ ।
यस्ता कार्यक्रमहरूले व्यवसाय गर्न धेरै ऊर्जा मिल्ने उनले बताए । उसो त उनी आफैले कृषि विकास कार्यालय दैलेखको एक निर्वाचन क्षेत्र, एक नर्सरी व्यावस्थापन कार्यक्रम अन्तर्गत अनुदान पाएका छन् । ‘अनुदान पाएपछि व्यवसाय गर्न धेरै सजिलो भयो’ उनले भने ।
तर कृषिमा अनुदानको कार्यक्रम लिन धेरै समस्या रहेको उनले बताए । उनकै शब्दमा सामान्य किसानले अनुदान पाउन एकदम गाह्रो पनि छ । धेरै पढेकोले मात्र गर्न सक्छन् भन्ने प्रवृत्तिका कारण पनि यो सहज नभएको उनको बुझाई र भोगाई छ । अनि त्यत्तिकै झन्झटिलो पनि छ । किसानलाई अनुदानभन्दा पनि सस्तो ब्याजदरमा अनुदान दिए युवा किसानलाई सहज हुने उनको विश्वास छ ।
२०३९ सालमा दैलेखमा जन्मेर कृषि व्यवसाय थालेका उनी अहिले दैलेखकै नमूना कृषक व्यवसायी हुन् । घरमा श्रीमति, दुई छोरी र एक छोरा रहेका उनी परिवारको खुशी, सन्तुष्टि र जीवनको सफलता घरकै आँगनमा प्राप्त गरिरहेका छन् । जसबाट उनी मासिक लाखौँ आम्दानी गर्छन । दर्जनौ युवालाई रोजगारी दिने बाटोमा अग्रसर छन् ।