काठमाडौ । भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषयमा प्रतिनिधिसभामा सांसदले चर्को विरोध गरेका छन । सांसदले नेपाली भूमि मिचेर सडक बनाइएकोविरुद्ध भारतको कडा शब्दमा भत्र्सना गरेका छन । साथै उनीहरुले नेपालका तर्फबाट कमजोर प्रयास भएकोमा सरकारको चर्को आलोचना गरेका छन ।
भारतले पटक पटक नेपाली सीमा मिच्दै आएको भन्दै यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने पनि सांसदको माग छ । संसदमा बोल्ने सत्तारुढ र प्रतिपक्षी दलका सांसदले भारतसँग विगतमा भएका कमजोर प्रयासले नै फेरि भारतले सीमा मिचेको सांसदहरुको भनाई छ ।
सांसदहरु गगन थापा, सुरेन्द्र पाण्डेय, पुष्पा भुषाल, जनार्दन शर्मा र महन्थ ठाकुले भारतले पटक पटक नेपाली भूमिमाथि अतिक्रमण गरेकाले यसलाई दीर्घकालिन रुपमा समाधान गर्न सरकारसँग माग गरे । सीमा मिचिएको विषयमा सरकारले हल्का रुपमा प्रेस विज्ञप्ती मात्रै निकालेको र बाँकी समय चुप लागेको भन्दै सत्तारुढ नेकपाका सांसद सुरेन्द्र पाण्डेयले असन्तुष्टि जनाएका थिए ।
सांसद गगन थापाले रक्षामन्त्री इश्वर पोखरेल सिमा मिचिएको क्षेत्र कालापानी अवलोकन गर्दा पनि त्यो विषय समाधान नभएकोमा विरोध जनाए । उनले सीमा अवलोकन गर्न गएको हो कि तीर्थयात्रा भन्दै रक्षामन्त्री पोखरेलको कडा शब्दमा आलोचना गरे ।
यस्तै सांसद दिलेन्द्र बडुले पटक पटक यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको बताए । सांसद प्रेम सुवाल, राजेन्द्र लिंगदेन, मिनेन्द्र रिजाल, भीम रावलले भारतले पटक पटक सीमा मिचेर नेपाललाई हेपेको भन्दै यसलाई अन्तराष्ट्रियकरण गरेर हेगमा लैजान पनि सरकारको ध्यानाकर्षण गरे ।