सिमकोट : हिमालपारीको गाउँ लिमीका विद्यार्थीले शैक्षिक सामग्री पाएका छन् । कोरोना कहरमा पनि पठन पाठन सुचारु रहेका नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
हालसम्म अन्यत्रबाट यसरी ती सामग्री नपाएका विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउन र शैक्षिक स्तर उकास्नका लागि सहयोग स्वरुप उपलब्ध गराइएको हो । लिमीका तीन गाउँका ६६ जना विद्यार्थीलाई सबै खाले शैक्षिक सामग्री सहयोग स्वरुप प्राप्त भएको छ ।
विद्यालय सञ्चालन भएको भएपनि विद्यार्थीलाई ठुलो परिमाणमा शैक्षिक सामग्री प्राप्त भएको पहिलो पटक हो । जसमा तीलका २ जना, हल्जीका ४६ र जाँगका १८ जना विद्यार्थीलाई वितरण गरिएको हो । आफ्नै घरबाट किनेका शैक्षिक सामग्रीबाट हालसम्म पठनपाठन गर्दै आएकोमा अहिलेको सहयोगले विद्यार्थीमा हौसला बढाउने कार्य समेत गरिएको छ ।
शिक्षा क्षेत्रमा सहयोग र अन्यत्र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको आधार विकास नेपाल हुम्लाका शिक्षा अधिकृत कुन्जोक लामाले कहिल्यै यस्ता सहयोग नपुग्ने लिमीका विद्यार्थीलाई यसपाली सहयोग पुर्याइएको जानकारी दिए । लिमीका दुई विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सामग्री वितरण गरिएको उनले बताए ।
पठन पाठनमा सहजता गर्न र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग स्वरुप सामग्री वितरण गरिएको उनले बताए । सहयोग गरिएका सामग्रीहरुमा प्रत्येक विद्यार्थीलाई विद्यालय पोसाक, झोला, जुत्ता, टोपी, मोजा, कापी कलम पेन्सिल, ज्यामिति, लेखन अभ्यास पुस्तिका, मार्कर मसी, ह्वाइट बोर्ड, मास्क, सेनिटाइजर साबुन लगायतका सामग्री वितरण गरिएको हो । उक्त सामग्री एक कार्यक्रम आयोजना गरेर हातमै बुझाइएको थियो । शैक्षिक सामग्री पाएपछि विद्यार्थी अभिभावकको मुहारमा खुसी आएको थियो । सहयोग गर्ने दातालाई धन्यवाद समेत व्यक्ति गरेका थिए ।