दैलेख : फैसला कार्यान्वयनको काममा उल्लेख्य काम गरेको भन्दै दैलेख जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डीएसपी) अनुपम श्रेष्ठलाई सम्मान गरेको छ । जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकको अवसरमा जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले कदरपत्र प्रदान गरेका थिए ।
अदालतले कैद तथा जरिवाना फैसला गरेकाहरुको अभियुक्तहरुलाई पक्राउ गरी बाँकी कैद र जरिवाना असुलीमा अघिल्लो आर्थिक वर्षमा मात्र १ सय ६५ जनालाई पक्राउ गरेकोमा कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि जिल्ला प्रहरी कार्यालय दैलेखलाई प्रदेशकै उत्कृष्ट जिल्लाको पुरस्कार दिएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा १३ जना फरार अभियुक्त पक्राउ परिसकेका छन् ।
बैठकका अवसरमा जिल्ला न्यायाधीश लामिछानेले अपराध रोकथाम र न्याय निरुपणमा सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले स्थानीय सरकार, प्रहरी–प्रशासन र नागरिक समाजको तत्परताले मात्र समाजमा शान्ति, सुव्यवस्था कायम हुन सक्ने औल्याए ।
जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्यहरु मालपोत अधिकृत बालकृष्ण राना, जिल्ला समन्वय अधिकारी बालाराम नेपाली, दैलेख कारागारका जेलर जीतबहादुर खत्रीले र दैलेख अदालतका बाल मनोविज्ञ अमर सुनारले पनि न्याय प्रशासनका कामको प्रभावकारिता विषयमा आफ्ना सुझाव राखेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरि घिमिरे, दैलेख जिल्ला अदालतका श्रेस्तेदार अधिकृत इन्द्रबहादुर कार्की, नेपाल बार एशोसियसनका अध्यक्ष माधवराज अधिकारी, नागरिक समाजका अध्यक्ष अधिवक्ता खड्गबहादुर सिजापतिको बैठकमा सहभागिता थियो ।