कर्णाली ः स्वास्थ्य सेवा कार्यालय जाजरकोटका विषयमा केही दिनदेखि स्थानीय तथा राष्ट्रिय मिडियामा समाचार प्रकाशन मात्रै भइरहेका छैनन, अस्पतालले जनविश्वास समेत गुमाउँदै गइरहेको छ ।
स्वास्थ्य कार्यालयले विश्वास किन गुमाउँदै छ ? विश्वास गुमाउनुको कारण के हो ? कारक तत्व के हो ? चिकित्सकको अभाव हो ? औषधिको अभाव हो ? दलका कट्टर कार्यकर्तालाई भर्ती गर्नु हो ।
जाजरकोट अस्पताल ५० शय्याको छ । अस्पतालमा मेडिकल सुपरीटेन्डेन्टसहित १० जना चिकित्सक छन् । उक्त चिकित्सकहरुको पालो हप्तामा एक पटक आउँछ । नत जनशक्ति अभाव छ । नत, औषधि नै । तर, अस्पतालमाथिको विश्वास गुम्दै गएको छ । विश्वास गुमेको मात्रै होइन, राजनीतिक कार्यकर्ता भर्तीले अस्पतालको विल्लबाठ नै भएको छ ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख टिकाराम जैसी छन् । उनी बेला बेला भन्ने गरेका छन्, ‘काम गर्न असहयोग भएको छ’ । एउटा जिम्मेवार कार्यालयको प्रमुख भइसकेपछि गर्नुपर्ने काम के हो ? कार्यालयलाई कसरी चलाउनु पर्ने हो ? कर्मचारीलाई कसरी चलाउनु पर्ने ? अन्य कुराको व्यवस्थापन कसरी गर्नुपर्ने हो ? उनकै हातमा छ ।
तर, जैसीले बारम्बार कर्मचारीबाट असहयोग भयो भन्दा लाजले पनि शिर तल गर्छ । अर्को कुरा दलको कट्टर कार्यकर्ता भइसकेपछि त्यस्तो अभिव्यक्ति दिनु पनि उनको कर्तव्य जस्तै हो । जुनसुकै पार्टी होस् तर, जनताको स्वास्थ्यमाथि राजनीति गर्नु अपराध हो ।
जैसी, नेपाली कांग्रेसको निकट मानिन्छन् । जैसीले कांग्रेसकै कार्यकर्ता अस्पतालमा भर्ती गर्नले बेला बेला स्वास्थ्य सेवा कार्यालय विवादमा आइरहन्छ । यो पुरानै प्रवृत्ति हो । यो प्रवृत्ति कांग्रेसले अस्पतालमाथि लागु गर्नु हुँदैन ।
उसो त अचेल दलको कार्यकर्ता भर्ती गर्नु नै जनतालाई सेवा दिए जस्तै ठान्ने गरेको छ, स्वास्थ्य कार्यालय जाजरकोटले । दलका झोलेलाई भर्ती गर्दा स्वास्थ्य सेवामा कमजोर मात्रै होइन, नाजुक बन्न पुगेको हो ।
राजनीतिको लाइन नमिलेपछि स्वास्थ्य कार्यालयमा कार्यरत नेप्लिज पुनलाई सुर्खेत सुरुवा गरियो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीको स्वकीय सचिवको चिठी ल्याएर नर्सिङ फाँटको चिफ बन्न खोजेपछि अस्पतालमा कार्यरत गंगा रेग्मी विवादमा परिन् । रेग्मीभन्दा नेप्लिज पुन सिनियर हुन् । पुन सिनियर भएकै कारण जसो तसो सरुवा मिलाइयो । रेग्मीलाई चिफ बनाउनकै लागि । उक्त कुराको स्वास्थ्यकर्मीहरुले विरोध जनाइरहेका छन् ।
अर्का अस्पतालमा कार्यरत एक जना सुब्बाको सरुवा गर्न प्रक्रिया चलिसकेको छ । चलाइरहेका छन् । दलका कार्यकर्ताहरुले सक्षम स्वास्थ्यकर्मीलाई समेत सरुवा गराउने काम भइरहेको छ । यस विषयमा प्रमुख जैसीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । यसै विषयलाई लिएर स्वास्थ्यकर्मी आन्दोलित हुनेसम्म सम्भावना बढिरहेको नाम नखुलाउने सर्तमा एक स्वास्थ्यकर्मीले बताए ।
(शीर्षक केही परिवर्तन गरिएको छ* - सम्पादक )