झापाः राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन, गरिबी घटाउन र रोजगारी सिर्जना गर्न सहकारीले विशेष योगदान पुर्याएको बताए । आज नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को २९ औँ साधारणसभाको अन्तिम माइन्युट प्रमाणिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरमा रहेका ३० हजार बढी सहकारी संस्थाले छरिएर रहेको पूँजी, सीप र क्षमतालाई एकीकृत गरी नागरिकको जीवनस्तर उठाउन, रोजगारी सिर्जना गर्न र उत्पादनमूलक क्रियाकलाप अघि बढाउन सबैभन्दा बढी प्रभावकारी रहेको बताए ।
केही सहकारीले गरेको बदमासीका कारण सहकारी क्षेत्रको काम कारबाहीमा प्रश्न तेर्सिने गरेको उल्लेख गर्दै उनले भने, “सयौँमध्ये एकाध संस्थाले गरेका कमीकमजोरीकै आधारमा समग्र सहकारीमाथि प्रश्न उठाउनु जायज हुँदैन ।” उनले सहकारी अभियानकर्मी सरकारका प्रतिस्पर्धी नभएर राज्यका परिपूरक र सहयोगी भएको बताए । अध्यक्ष कँडेलले सरकारले सहकारीको मोडलमा काम गर्ने हो भने १० वर्षभित्रमा समृद्ध नेपाल बन्ने निश्चित भएको ठोकुवा गरे ।
प्रदेश नं १ का सरकारका सहकारी रजिस्ट्रार बलराम निरौलाले सहकारीले व्यावसायिकता र सेयर सदस्यको पेशालाई प्रवद्र्धन गर्न विशेष ध्यान दिनुपर्ने बताए । उनले सहकारीले बहुप्रकृतिको अनुकरणीय संस्थाका रूपमा विकास विकास गर्न आवश्यक देखिएकामा जोड दिए । एनएमसीको कूल सम्पत्ति रु ११ अर्ब ८० करोड ५३ लाख ३८ हजार ७८५ रहेको छ । एक लाख पाँच हजार बढी सेयर सदस्य रहेको अध्यक्ष रामचन्द्र उप्रेतीले प्रस्तुत गरेको प्रतिवेदनमा चुक्ता सेयर पूँजी रु एक अर्ब ११ करोड ६० लाख छ हजार २०० रहको उल्लेख गरिएको छ ।
सानो स्थान र आकारमा २८ वर्षअघि काँकडभिट्टाबाट सुरु भएको सहकारीले ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने मूल नारा तय गरेर भौतिक सम्पत्ति र वासलातको मात्र विस्तार एवं वृद्धि नगरेर अनेकौँ असल अभ्यास, संस्कारयुक्त नेतृत्व तथा सक्षम जनशक्तिको विकास गरिरहेको संस्थाका उनले बताए ।
एनएमसीले जिल्लामा मात्र नभएर छिमेकी जिल्ला मोरङ र इलाममा समेत कार्यक्षेत्र विस्तार गरेको छ । संस्थाले बैंकिङ कारोवारसहित एनएमसी डेरी, चिया व्यवसाय, एकीकृत नमूना कृषि फार्म र एनएमसी सहकारी पसल सञ्चालन गर्दै आएको छ । हाल एनएमसीले ८०० बढीलाई रोजगारी प्रदान गरेको छ ।
संस्थाले यसअघि नै ४३ वटा आफ्ना एकाइबाट बैंकिङ सेवा प्रदान गर्दैै आएको छ । सो एकाइ कार्यालयले २९औँ साधारणसभामा तयार गरेको माइन्युटलाई आज अन्तिम प्रमाणित गरेको हो । एनएमसीले चालु वर्षभित्रमा एनएनसी एग्रो सपोर्ट बिजनेस, प्याकेजिङ उद्योग, चालम मिल, र तोरीको तेल मिल उद्योग सञ्चालनका लागि पहल गरिरहेको अध्यक्ष उप्रेतीले बताए । रासस