काठमाडौँ : एउटा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न हेलिकोप्टर लिएर डोल्पा पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री सामाजिक सञ्जालमा भाइरल बनेका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा मुख्यमन्त्री महेन्द्र शाही, पर्यटनमन्त्री नन्दसिंह बुढा र डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नरसिंह रोकाया भाइरल बनेका हुन् ।
एउटा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न मुख्यमन्त्री शाहीको कमाण्डमा हेलिकोप्टर चढेर जम्बो टोली नै डोल्पा पुगेको थियो । जसमा मुख्यमन्त्री शाही, अर्थमन्त्री गोपाल शर्मा, पूर्वमन्त्री नरेश भण्डारी र अन्य सांसद तथा केही नेता पनि थिए ।
सेनाको हेलिकोप्टर चढेर डोल्पा पुगेका मुख्यमन्त्री शाही र पर्यटनमन्त्री तथा गाउँपालिका अध्यक्ष रोकाया भने धेरै फेसबुक प्रयोगकर्तामाझ भाइरल बनेका हुन् । उनीहरु तीन जनाले ४० किलोको माला लगाउँदा भाइरल बनेका हुन् । सम्मानका रुपमा ४० किलोको माला लगाउँदा भाइरल बनेसँगै मुख्यमन्त्री र पर्यटनमन्त्रीको पनि आलोचना पनि चुलिएको छ ।
मुख्यमन्त्री शाहीले केही समय अघि यौनकाण्डमा मुछिएका कृषिमन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न नसक्दा आलोचित थिए । पर्यटनमन्त्री बुढा भने तत्कालिन समयमा फ्लोर क्रस गरेर फेरि मन्त्री बनेदेखि नै बेला बेला आलोचनामा पर्ने गरेका थिए । सोही आलोचना यतिबेला ४० किलोको माला लगाउँदा फेरि दोहोरिएको छ ।
कसरी भाइरल भयो तस्बिर ?
शनिबार बिदाको दिन । बिदाकै दिन मुख्यमन्त्री शाही, अर्थमन्त्री गोपाल शर्मा, पर्यटनमन्त्री नन्दसिंह बुढाको समेत समय मिल्ने भएपछि डोल्पाको जगदुल्ला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रम राखियो ।
बिदाको दिनमा समय दिएपछि गाउँपालिका अध्यक्ष नरसिंह रोकायाले धुमधामका साथ मुख्यमन्त्री र मन्त्रीलाई सम्मान गर्ने योजना बनाए । सोही योजनाअनुसार स्थानीयस्तरमै पाइने फरक खालका फूलका माला गाउँपालिका कर्मचारी र स्थानीयलाई बनाउन अध्यक्ष रोकायले लगाएको देखिन्छ ।
शनिबार हेलिकोप्टर चढेर मुख्यमन्त्री र पर्यटनमन्त्री जगदुल्ला उत्रिए । उनीहरु उत्रिनुपहिल्यै मन्च तयार थियो । माला पनि तयार थियो । कार्यक्रम थालिएपछि मुख्यमन्त्री र मन्त्रीलाई विशेष सम्मान गर्ने कार्यक्रम आयो ।
४० किलोको माला तयार पारेर ग्रहण गरिदिन आग्रह गरेपछि मुख्यमन्त्री शाही, पर्यटनमन्त्री बुढा र गाउँपालिका अध्यक्ष रोकायाले लगाए । त्यही क्रममा स्थानीयदेखि पत्रकारसम्मले फोटो खिचे । त्यसैक्रममा डोल्पाका पत्रकार टेक शाही क्रिष्टलले पनि फोटो खिचेर सामाजिक सञ्जालमा राखे । भाइरल फोटोमा भने अर्थमन्त्री शर्मा देखिएका छैनन ।
मुख्य फोटो स्रोत : टेक शाही क्रिष्टल /फेसबुक
फेसबुकमा पहिलोपटक राखेको तस्बिरको क्याप्सनमा उनले लेखेका छन्, 'जगदुल्ला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनमा पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिङ बुढा र जगदुल्ला गाउपालिका अध्यक्ष नरसिङ रोकायालाइ जनताले ४० किलोको फुलका बिशेष माला लगाइ सम्मान गरे । तस्बिर चिर्नुपर्ने भए क्रेडिट दिनुहोला ।'
उनले अन्तिम वाक्य 'तस्बिर चिर्नुपर्ने भए' लेखेका छन् । उनले यो फोटो विवादित र भाइरल बन्न सक्ने संकेत गर्दै क्याम्पसन लेखे । लगत्तै सुर्खेतका केही पत्रकार र त्यसपछि काठमाडौँका केही पत्रकारले यो फोटो फेसबुक तथा ट्वीटरमा शेयर गर्दै भाइरल बनाउन थाले ।
त्यसपछि आम फेसबुक प्रयोगकर्ताले यो फोटो पोस्ट गर्दै सामाजिक सञ्जालमा चर्को आलोचनासहितका टिप्पणी लेखेपछि यो तस्बिर झन् भाइरल बन्यो ।
मुख्यमन्त्री, मन्त्री र गाउँपालिका अध्यक्षले माला लगाएपछि फुकालेर मन्चकै अगाडि राखिएको थियो । तर माला लगाएको फोटो भाइरल बनिरहेको छ ।
भाइरल हुनबाट बञ्चित अर्थमन्त्री र पूर्वमन्त्री कार्यक्रममा अपमानित !
यतिबेला सामाजिक सञ्जालमा मुख्यमन्त्री र पर्यटनमन्त्री धेरै भाइरल भइरहेका छन् । तर यो भाइरल भएर आलोचित हुनबाट अर्थमन्त्री गोपाल शर्मा र पूर्व गृहमन्त्री नरेश भण्डारी भने जोगिएका छन् । गाउँपालिका अध्यक्ष रोकायाले आफूसहित मुख्यमन्त्री र पर्यटनमन्त्रीका लागि मात्रै माला तयार पारेका थिए ।
सोही अनुसार कार्यक्रममा मुख्यमन्त्री, पर्यटनमन्त्री र गाउँपालिका अध्यक्षलाई ४० किलोको माला लगाइयो । मुख्यमन्त्री प्रमुख अतिथी र डोल्पाकै भएका कारण पर्यटनमन्त्री बुढा विशेष अतिथी थिए । उनीहरुलाई विशेष फूलको माला समेत लगाइयो ।
तर मुख्यमन्त्रीपछि शक्तिशाली अर्थमन्त्री गोपाल शर्मा र पूर्वगृहमन्त्री नरेश भण्डारी भने टुलुटुल हेर्न बाध्य भए । शर्मा रुकुम पश्चिमका हुन् भने भण्डारी जुम्लाका हुन् । सायद कार्यक्रममा अर्थमन्त्री शर्मा र पूर्वगृहमन्त्री भण्डारी पनि उपस्थित हुने निश्चित नभएका कारण माला तयार नभएको हुन सक्छ ।
फोटो स्रोत : जीवन शाही ठकूरी /फेसबुक
कार्यक्रममा ४० किलोको विशेष माला लगाउन नपाएका अर्थमन्त्री शर्मा र पूर्वमन्त्री भण्डारीले केही समय असहज महसुस गरेका थिए । तर सामाजिक सञ्जालमा भाइरल र आलोचित हुनबाट जोगिएपछि उनीहरुले अहिले भने राहत महसुस गरेका छन् ।
बाहिर नकारात्मक, डोल्पामा सकारात्मक !
यो फोटो भाइरल भएपछि धेरैका धेरै थरी टिप्पणी यतिबेला सामाजिक सञ्जालमा आइरहेका छन् । डोल्पाकै युवा नेता तथा लेखक प्रेमबहादुर बोहराले फोटो क्रेडिट दिँदै फेसबुकमा शेयर गरेर क्याप्सनमा लेखेका छन्, 'नगरिकलाई चाहिएको नोकर हो, मालिक होइन । स्थानियबाट स्याबासी पाइरहेका गाउँपालिका अध्यक्ष नरसिंह रोकाया जीले यति नगर्दा राम्रो हुन्थ्यो । तपाईंको काम महत्वपूर्ण हो ।'
यस्तै दैलेखबाट नागरिक दैनिकमा रिर्पोटिङ गर्ने पत्रकार गोविन्द केसीले फोटो शेयर गर्दै लेखेका छन्, 'यसैमा रमाएका छ, कर्णाली प्रदेश सरकार ।' यस विषयमा जाजरकोटका पत्रकार हेमन्त केसीले लेखेका छन्, ‘कर्णाली सुनको टुक्रा को भन्दै ४० केजीको माला अलि सुहाएन कि मुख्यमन्त्री ज्यू ।'
तर, बाहिर चर्को आलोचना भएपनि डोल्पा जगदुल्लाका स्थानीयले भने सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । आलोचना भएपनि काम राम्रो भएको स्थानीयको प्रतिक्रिया छ ।
डोल्पाका स्थानीय जीवन शाही ठकूरीले फेसबुकमा लेखेका छन्, 'समय परिस्थितिले वर्तमान समयमा उदघाट्न गरिएता पनि डोल्पा भित्र पनि विकट मानिएको जगदुल्ला गाउँपालिकामा श्रोत साधनयुक्त प्रशासकिय भवन समयमै सम्पन्न गर्नु भएकोमा अध्यक्ष नरसिंह रोकाया ज्युलाई हार्दिक बधाई छ । अझै उदघाटन समारोहमा संकलित स्थानीय प्राकृतिक फुलहरुका मालामा स्थानियता झाल्किएको छ । आफ्नो जिम्मेवारीभित्रै कुशलता पुर्वक कार्य सम्पादन गर्नु पर्दोरहेछ भन्ने कुरा उपस्थित विशिष्ट पाउनाहरुले पनि सिकुन, मनन गरून् भन्ने कामना छ ।'