काठमाडौँ : शनिबार पूर्व स्वास्थ्य राज्यमन्त्री नवराज रावतले आफ्नो फेसबुकमा केही फोटो अपलोड गरे । कर्णाली र सुदूरपश्चिम जोड्ने कर्णाली नदीमाथि निर्माणाधीन आर्कब्रिज पुलमाथि उभिएर सेल्फी खिच्दै पूर्वराज्यमन्त्री रावतले क्याप्सनमा लेखे, 'कर्णाली नदि कुईने सुर्खेत ।'
यो त्यही पुल हो, जुन पुल नहुँदा धेरै सुर्खेत तथा कैलाली बासीले ज्यान गुमाउनुपरेको छ । अनि सुदूरपश्चिम र कर्णालीबासीका मानिसहरु गाडी लिएर वारपार गर्न सक्दैनन् । यो पुल मध्यपहाडी लोकमार्ग जोड्ने पुलको मेरुदण्डका रुपमा यो पुल निर्माण भइरहेको हो । जसले सुर्खेत र कैलालीको ६ घण्टाको दुरी तीन घण्टामा झार्ने निश्चित जस्तै छ । यो पुल निर्माणकै क्रममा छ ।
त्यही आर्कब्रिज पुलमाथि उभिएर पूर्व स्वास्थ्य राज्यमन्त्री रावतले मुसुक्क मुस्कुराउँदै सेल्फी हाने । जुन पुल पूर्व सञ्चार राज्यमन्त्री तप्त बिष्टले निर्माण थालेका हुन् । भेरी र कर्णाली नदीको जन्जिर तोड्ने पुल निर्माणको काम थालनी गरेका बिष्टको भने केही महिनाअघि कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
२०७० सालमा दोस्रो संविधानसभा चुनाव जितेपछि ९ महिने देउवा सरकारका पालामा सञ्चार राज्यमन्त्री भएका बिष्टले यो पुल बनाउने बजेट छुट्याउन सफल भएका थिए । साथै उनले तत्कालै टेन्डर प्रक्रिया थालेर निर्माणको काम समेत अघि बढाए । पुल तीव्र गतिमा निर्माण भइरहेका बेला उनले भने कोरोनाका कारण ज्यान गुमाए ।
उनले ज्यान गुमाएपनि पश्चिम सुर्खेतको भेरीमा एउटा र कर्णालीमा दुई वटा गरी तीनवटा पक्की पुल निर्माण गराउन सफल भए । उनी बितेर गएपनि यो पश्चिम सुर्खेतका जनताका लागि ऐतिहासिक विकास हो ।
तर यसअघि पटक पटक चुनाव लडेर पनि पराजित भएका रावत यसपटक चुनाव जितेर स्वास्थ्य राज्यमन्त्री समेत बने । तर स्वास्थ्य राज्यमन्त्री बनेपनि उनले त्यस्तो विकासको आभास दिलाउने गरी कुनै काम गर्न सकेनन् । वर्षौदेखि तप्ट बिष्ट कांग्रेसबाट र नवराज रावत एमालेबाट ठूलो नेता बने । केन्द्रीय सरकारको राज्यमन्त्री पनि बने । छोटो समयमा तप्ट बिष्टले ऐतिहासिक पुल निर्माण गरेर स्वर्गीय भइसके ।
तर अहिले फेरि गाउँ गाउँमा चुनावी अभियान चलाइरहेका नवराज रावत भने तप्त बिष्टले निर्माण गरेका पुलमाथि उभिएर सेल्फी खिच्ने काम मात्रै भएको देखिन्छ । उनले कुइनेको पुलपछि घाटगाउँ र कुइने जोड्ने पक्की पुलमाथि उभिएर पनि सेल्फी खिचेका थिए । जुन पूल निर्माण सकिएर पनि गाडी चल्न थालेका छन् ।
दुई वटा नेताको लगभग एउटै उमेर । चुनाव जितेपछि सम्हालेको एउटै मन्त्री पद । तर छोटो समयको फरक विकास । पश्चिम सुर्खेतको ऐतिहासिक विकासको काम गरेर कोरोनाका कारण बितेका तप्त बिष्टलाई उनैले निर्माण गरेको पुलमाथि उभिएर सेल्फी खिच्ने बेला नवराज रावतले कति सम्झिए ? त्यो उनैले जानून् ।
तर पश्चिम सुर्खेतका जनता अहिले आधा दर्जन नेता हुँदा पनि बाटो पीच नहुँदा दैनिक सास्ती झेलिरहेका छन् ।